Logo

छापामार–पुुलिसकी आमा

नवीन विभास

अन्नपूर्णपोष्ट बाट साभार

द्वन्द्वकथा–३

घरबाट बाहिर साइत गर्दा रोल्पाली गाउँघरमा छोराछोरीलाई यस्तो भन्ने चलन छ, ‘जस्तो गइस्, उस्तै फर्केस्।’ यसको अर्थ हो, ‘तन र मन तलमाथि नहोस्। ‘सग्लो’ फर्कनु भन्ने कामनासहितको आशीर्वाद।’

लडाइँबाहेक अन्य सिलसिलामा पनि ‘कुनै बेला हुन सक्ने दुर्घटना’मा ‘अंगभंग’ र ‘ज्यान नै जान सक्ने’ सम्भावना हेरी यस्तो चलन चल्यो कि !

घरमा नफर्के वा (फर्के पनि) सग्लो नफर्कंदा आमालाई कस्तो होला ? १० वर्ष लामो ‘जनयुद्ध’मा सरकारी र विद्रोही फौजमा आबद्ध छोराछोरीका ‘आमा याम’ कति कष्टमय भए होलान् ? सरकार–माओवादीसँग साइनो नै नजुरेका सर्वसाधारण ‘आमा दिनरात’ झन् कति भयानक भए होलान् ?

तपाईंले नि कल्पनुस् त !

दुई छोरा माओवादीएक छोरा एक छोरी पुलिस !

माघ पहिलो शनिबार तीनपानेबाट ओरालिँदै छपेली पुगेपछि बल्ल वारिपारि ठिंग उभिएका पहाडले बिस्तारै बुर्का खोले।

तीनपाने तपाईंले सुनेजस्तो कान तताउने तरल तत्व थिएन। त्यो त काठमाडौं खाल्डो पस्ने चार भन्ज्याङमध्ये एक थियो।

बुर्का खोलेर अनुहार देखाउन थालेपछि छपेली (वागमती गाउँपालिका केन्द्र)बाट भट्टेडाँडासँग आँखा जुध्यो।

माओवादीले राजधानी नजिक आक्रमण गरेको (२०५५ पुस १८ गते) पहिलो पुलिसचौकी भट्टेडाँडा थियो। थानकोट र दधिकोट आक्रमण त ‘जनयुद्ध’ उत्तरार्धका थिए।

‘जनादेश’मा ‘भट्टेडाँडा आक्रमण’ छापिएपछि कवि एवं जनादेश सम्पादक कृष्ण सेन इच्छुकलाई पुलिसले पक्रियो। मा¥यो। भट्टेडाँडालाई आँखाले एकदुई फन्को मारेर गोर्खा पूर्वसभासद् पार्वती थापामगरले कालेश्वरकी सानु वाइबा, ललिता गोले र काभ्रेकी सरिता लामालाई सम्झिइन्। २०५५ मा पक्राउ परेका तिनै चेलीसँग पार्वती ‘जेल बास’ बसेकी थिइन्। ती स्कुले तामाङ चेली ‘आतंककारी’ नाउँमा समातिएका थिए।

‘पुलिसले त ती बहिनीहरूलाई ऊ त्यहाँबाट लगनखेलसम्म नाङ्गै घुमाउँदै लगेको रे,’ लडाइँकालीन अप्ठेरो समय सम्झँदै पार्वतीले भनिन्।

भट्टेडाँडा पारि सैन्सु र सिम्ले उसैगरी ठिंग उभिएका थिए भने तल इकुडोल लम्पसार सुतेको थियो।

बगुवामा वागमती तरेर एउटा बाटो मकवानपुरे मन्थली, चन्थली, साल्थुम र घैयाटार नियाल्दै हेटौंडा लागेको थियो। गुरुजी दिनेश घिमिरेले चिनाए, ‘राजधानीबाट हेटौंडा पुग्ने यो नै सबैभन्दा छोटो बाटो हो।’

खानीखोला तरेर उकालिएपछि सिम्ले, माझखण्ड, फुर्केडाँडा र बूढीगढीभन्ज्याङले ‘ल्हासो’ भने। वरपर उभिएका तिनै अग्ला पहाड पहरामा बसेको प्युटारले पर्खिरहेको थियो।

‘प्युटारबाट पानी पिउन वागमती लाग्ने जरायो लस्कर कति सान्दार देखिन्थ्यो होला ? ’

वागमती देखेर मन खसखसाउँदा आँखामा जरायो लस्कर लागे। दायाबाया हेरेँ। प्युटारमा न जरायो थिए न त जरायो बास नै।

आँखामा जरायो जन्मनुको कारण थियो, खस भाषाको जरायो नै तामाङ भाषाको ‘प्यु’ थियो। जरायो बास भएकाले नाउँ नै प्युटार पाएको थियो। प्युटारमा आधा तामाङ थिए। बाँकी बाहुन, क्षेत्री, घले र दलित।

राजधानीको कर्णाली भनिने प्युटारसहित ठूला दुर्लुङ, आ श्राङ, गिम्दीलगायत बस्ती र राजधानीबीच अहिलेसम्म पनि चिनापर्ची नै नभएको देखिन्थ्यो। सुख–दुःखका कुरा पर भइहाले।

वारि ललितपुर प्युटार त पारि मकवानपुर मन्थलीको बीचमा बगिरहेको वागमतीले कुनै दिन कवि निभा शाहले भनेको कुरा सम्झाए। उनले ‘वागमतीमा बगेका बिजोर चप्पल लगाएर हिँडेका गोडा’का कुरा गरेकी थिइन्। अहिले पनि उसैगरी बग्छन् होला वागमतीमा। र, तिनले त्यसताकाका ‘इमानदार माओवादी’जस्ता अहिलेका गरिब गोडालाई गुड्ने भर दिएका होलान्।

कुनैबेला प्युटारे नुन लिन भीमफेदी पुग्थे। पछि त्यो नुनको हाट चापागाउँ सर्‍यो। प्युटारे पूर्व रिपब्लिकाकर्मी महानन्द तिमल्सिनाका अनुसार, आठ वर्षअघिसम्म आठ घण्टा पैदल हिँडेर (चापागाउँ–प्युटार झन्डै ३८ किलोमिटर) किनमेल गर्न चापागाउँ पुग्थे।

कुनै याममा प्युटार वाम गढ थियो। विस्तारै कांग्रेस पोल्टामा जान लागेकै बेला अर्को वाम पस्यो। र, माओवादी गढमा परिणत भयो।

प्युटार परिचालन र सम्पर्कका लागि सबैभन्दा उपयुक्त भूगोल थियो। तराई झर्नमात्र नभई मकवानपुर, काभ्रे र सिन्धुली जाने प्युटार नाका थियो। त्यसबेला सरकारी सेना कि बर्दी फुकालेर प्युटार पुग्थे कि त माओवादीविरुद्ध अपरेसन गर्न।

प्युटारे स्वास्थ्यकर्मी गोपाल न्यौपानेका अनुसार, प्युटारमा केही समय माओवादी नेता रामबहादुर थापा बादल, हिसिला यमीलगायत नेता पनि बसे।

उनै न्यौपानेले एक दिन ‘धनमाई आमै’ सुनाए। त्यसपछि उनको पछि लागेर गोपाल गाउँ प्युटार पुगेँ। र, प्युटारे गाडीमा भेट भयो, पूर्वसभासद् थापा मगरसँग।

ठोकर्पा (सिन्धुपाल्चोक) लडाइँमा गोडा गुमाएका अपिल (भक्त थापामगर) र हात गुमाएकी नमुना (प्रवीणा गोले) ले गोपालसित चिनजान गराएथे। शान्तिप्रक्रिया वरपर काठमाडांै पसेका तेस्रो डिभिजन कम्पनी कमान्डर एवं स्वास्थ्यकर्मी गोपालसित घाइते समाचार बनाउने सिलसिलामा भेट भएको थियो। त्यसताका गंगा बीसीको ‘चिनजान घुस’ले कान्तिपुर टीभीमा ‘सिकारु पत्रकार’ थिएँ।

०००

प्युटार कालीदेवी उच्चमावि मुन्तिर र मोटर बाटोमास्तिर उभिएको थियो, सेतो टिन छाने कच्ची घर। त्यै घरबाहिर धनमाई माघे घाम तापिरहेकी थिइन्। घाम ताप्न थपिए, उनका कान्छा छोरा पनि।

पाँच फिट तीन इन्च जति अग्ला उनको टाउको तीलचामले कपालले ढाक्न खोजेको थियो भने अनुहार दाह्रीले। बेचयन गहुँगोरो उनी घरी एकोहोरिन्थे त घरी टाढाटाढा आँखा फाल्थे।

केही समयपछि पुगिन्, जेठी बुहारी रोमकुमारी। उनलाई पछ्याउँदै पुगे, पाँच वर्ष अरब बसेर फर्केका नाति।

धनमाईले रंगीन बुट्टेदार चोलो र रातो भुइँमा फूल भरेको सारी लगाएकी थिइन्। टाउको कसक्क पारेको एक वर्णे रातो मजेत्रोमुनि गहुँगोरो आर्यन अनुहारमा मुजा मौलाएका थिए। मुजालाई ठाउँको ठाउँ खजा पार्नेगरी निधारमा रातो टिकुली बसेको थियो।

आउने चैतमा धनमाई असीको घरमा पुग्दैथिइन्। जुन घरमा उनका पति बालकृष्ण दुई वर्षअघि नै पुगे।

आँखा, कान र हातगोडाले धनमाईलाई माया मार्न साइत गर्दै उनका उकालीओरालीमा कर्फु लाउन खोज्दैथिए।

चार दिदीबहिनी र एक भाइ, धनमाईका। भाइ र माहिली बहिनी ‘माथि’ लागिसके। बचेका कान्छी बारामा थिइन् भने साइली मकवानपुरमा।

गाउँका हुनेखाने धनमाई परिवारलाई प्युटारेले नाउँ दिएका थिए, ‘साहु कान्छा’।

धनमाई परिवार वाम पृष्ठभूमिको थियो। प्युटारे स्वास्थ्यकर्मी न्यौपानेका अनुसार, धनमाईपुत्री हीराले बहुदल नआउँदै जवारलाल लामासँग जनवादी बिहे गरेकी थिइन्। त्यसबेला प्युटार तात्कालीन नेकपा (माले) गढ मानिन्थ्यो।

तीन छोरा र चार छोरी गरी सात सन्तान पखेटा पलाएपछि लाखापाखा लागे।

माओवादी मोटाएपछि भट्टेडाँडा र आ श्राङ पुलिसचौकी सहर पसे। दुवै पुलिसचौकी प्युटारबाट एकेक घण्टा पैदल दूरीमा थिए। हेर्दाहेर्दै सिंहदरबारे सरकार दुब्लाउँदै चापागाउँ पुग्यो। त्यसपछि माओवादी सरकार प्युटारमा दिनमै खुलमखुला हिँड्न थाल्यो।

प्युटारमा कित्ताकाँटसँगै व्यक्तिगत मनमुतावले पनि राजनीतिक रङ धारण गरे।

असार १५ गते (साल भने धनमाई सम्झनामा छैन)। खाना खाँदै थिए। गाउँकै मान्छेसँग उनको माइला छोराको भनाभन भयो। त्यसपछि हात हालाहाल। थाहा पाएर धनमाई–पति जुठै हात गएका थिए।

माइला न माओवादी थिए न कांग्रेस।

लगत्तै माइला त ‘कि नक्खु जेलको बास कि बागमतीको मरन’ सम्झेर राजधानी पसे।

खबर पुग्यो, ‘माइलो पुलिस भयो।’ केही महिनाका अन्तरालमा धनमाईकहाँ अर्को समाचार पनि गयो, ‘पाँच वर्षसम्म सिंहदरबार तोकेको त पाँच महिनै नपुगी माओवादी प्रभावित जिल्लामा पठायो।’

धनमाई माइला छोरा थिए, टुकनाथ (४०)। गाउँमा रामजी नाउँले चिनिने टुकनाथ असईसम्म पुगे।

जेठा थिए, झम्कनाथ (५०)। धनमाईअनुसार, कर्मचारीले झम्कनारायणको नागरिकता बिगारेर झम्कनाथ बनाइदिए।

जेठा झम्कले पढ्ने/लेख्ने अवसर पाएनन्। घरको भार जम्मै उनै झम्कले धानेपछि बाँकीले लेखपढ गरे।

सरकारी सेना/पुलिस परिवार माओवादीका ‘आँखी’ भए। त्यसपछि झम्क ‘केही कर, केही डर र केही रहर’ एम्बुसमा परे। अन्तमा धनमाई जेठापुत्र झम्क कमरेड प्रह्लाद भए।

प्रह्लादको सुरुखाती कार्यक्षेत्र प्युटार वरपर थियो। पछि चितवन सरुवा भयो। बन्दीपुर (सिरहा) आक्रमण (२०६२ वैशाख २६) बाट ढाड र गोडामा बमका छर्रा ‘जनयुद्ध चिनो’ बोकेर फर्के।

धनमाई कान्छापुत्र हेमप्रसाद (३९)। हरि भनेर चिनिने हेम एसएलसी पढेर (घरबाट आधा घण्टा पैदल दूरीमा रहेको देउराली प्रावि) मास्टरी थाले।

जेठा माओवादी र माइला पुलिस भएपछि कान्छा ‘सरकार र विद्रोही’ चेपमा परे। दुईतिरको चेपाइबीच गाउँका केही व्यक्तिसँग व्यक्तिगत अन्तद्र्वन्द्व पनि बढ्यो।

एकदिन मास्टरी छाडेर हरि कमरेड प्रमोद भए। कार्यक्षेत्र थियो, कालेश्वर।

त्यसैबीच धनमाई नातिनी (प्रह्लादपुत्री) भवानी कमरेड सीमा भइन्। जनमुक्ति सेना दोस्रो डिभिजन सेक्सन कमान्डर तहसम्म पुगिन्। धनमाई पुत्री हीरा पनि माओवादी भइन्। भलै उनी डब्लूटी (पूर्णकालीन) माओवादी भने भइनन्।

०००

प्युटारस्थित धनमाई–घरमा कहिले विद्रोही सेना पुगे त कहिले सरकारी सेना। दुई थरीले नै ‘आफ्नै घरमा पकाएर खाने’ भन्थे।

गोठमा टन्नै वस्तु थिए। तिनका लागि चार पाथी त दाना नै लाग्थ्यो। धनमाईले ठूलाठूला खसी पालेकी हुन्थिन्।

प्युटार पुग्ने सरकारी फौजले धनमाई घरमा खसी ढाल्थे। ‘सरकारी भोज’ चल्थ्यो।

‘खसी काटेका छन्। बन्दुक बोकेका छन्। तल्ला/माथ्ला पाटामा बसेका छन्। भोज खाएका छन्,’ सरकारी बन्दुक भोज सम्झिइन्, धनमाईले।

माओवादी आउँथे। तिनले नि खसी ढाल्थे। धनमाई घरमा ‘विद्रोही भोज’ चल्थ्यो।

(भोज गर्नेले खसी मोल भने दिन्थे।)

‘त्यसबेलाका के कुरा,’ माघे घाममा टाउको कन्याउँदै धनमाई घिमिरे लडाइँकालमा फर्किइन्, ‘त्यस्तो जुग पनि आयो। के सुनाऊँ !’

धनमाई घरका भोजले सरकारी फौज र विद्रोही तृप्त हुँदैनथे। सरकारी फौजले भन्थे, ‘यो मा… माओवादी घर।’ औंला ठड्याउँदै ‘पख्लास्’ भनेजस्तो गरेर बाटो लाग्थे।

तिनका आँखामा धनमाई जेठा, कान्छा र जेठापुत्रीमात्र आउँथे। जो माओवादी थिए।

ठीक त्यस्तै, माओवादीले ‘प्रतिक्रियावादी भाडाको टट्टुको घर’ भनेर सरकारीले जसरी आंैला ठड्याएर बाटो लाग्थे। तिनले धनमाईका माइला र कान्छी छोरीलाई मात्र सम्झन्थे। जो पुलिस थिए।

लडाइँ नसकिएसम्म धनमाई–घर कहिले पुलिसको घर भयो त कहिले माओवादीको। गाउँले कोहीका लागि पुलिसकी आमा भइन् भने कोहीका लागि माओवादीकी आमा।

माओवादीले १० हजार लियोसरकारी सेनाले चड्कन दियो

संकटकाले एक दिउँसो। शाही सेना प्युटार पस्यो। राइफल सोझ्याउँदै तिनले भेटे जति गाउँलेका सातो खाए।

बारीमा काम गरिरहेका धनमाईपतिलाई देखे।

सोधे, ‘ए बूढा, छोराछोरी कहाँ छन् ? ’

‘यहाँँ छैनन्।’

‘कहाँ छन् ? ’

‘माइलो पुलिस छ। जेठा र कान्छा माओवादी।’

‘दुदुई छोरालाई किन माओवादीमा पठाइस्’ भने। त्यसपछि बूढो–गालामा चड्काए।

त्यसबेला कान्छी छोरी पुलिस भएकी थिइनन्।

‘छोराहरू आफैं गएका हुन् भन्दा पनि बूढालाई गालामा हानेछन्,’ धनमाईले भनिन्।

शाही सेना कुनै बेला फेरि प्युटार पुग्यो। स्कुल अध्यक्ष

(लालबहादुर नाउँले परिचित सुमन लामा)लाई भेट्यो।

शाही कमान्डरले सोधे, ‘रामजीलाई चिन्छस् ? ’

‘चिन्छु।’

‘हरिलाई चिन्छस् ? ’

‘चिन्छु’ भने ‘ड्याम्मै’ हान्ने पो हो कि भन्ने लाग्यो। त्यसबेला बन्दुक नै कानुन थियो। त्यसैले लामा बोली लर्बरायो, ‘सर, हरिलाई त चिन्दिनँ।’

त्यसपछि शाही मुख र लात्ता एकसाथ लामा जिउमा बज्रिए, ‘माइलोलाई चिन्ने र कान्छोलाई नचिन्ने नि हुन्छ मु …? ’

संकटकालीन एक रात। लडाइँ जगजगी रेडियो र गाउँलेले सुनाएर धनमाई आमा मन बिथोलिएको थियो।

धनमाई घरभित्र माओवादी पसे।

भने, ‘१० हजार दिनुस्।’

‘मेरा दुई छोरा र नातिनी माओवादीमै छन्। के कमाइ छ र दिऊँ ? ’

‘पुलिस पनि त छन् नि।’

‘…? ’

‘…।’

‘…? ’

‘लाने भए, आज त रात पनि परिसक्यो। भोलिपर्सि दिउँला।’

‘लडाइँमा हिँडेको माओवादीको के भर’ भन्दै माओवादीले औंला ठड्याए। त्यसपछि ‘मार्लान्’ कि भनेर धनमाईले १० हजार हात पारिन्।

‘मैले खाएको रहेछु भने आज तिरेँ। होइन, मैले खाएको रहेनछु भने तिमीहरूले मेरा छोरा/नाति/पनातिलाई भए पनि तिर्नू’ भनेर रुँदै १० हजार दिएँ,’ धनमाईले भनिन्।

चन्दा लिन गएका स्थानीय प्युटारे माओवादी भने थिएनन्। पैसा माओवादी पार्टीले खायो कि उठाउनेले नै ? धनमाई भन्दै थिइन्, ‘कतिले त घर पनि बनाए रे। आफ्ना नातेदारका नाउँमा लुकाए रे।’

प्युटार पुग्ने सरकारी फौजले धनमाई आमाको घरमा खसी ढाल्थे– ‘सरकारी भोज’ चल्थ्यो। माओवादी आउँथे। तिनले नि खसी ढाल्थे– धनमाई घरमा ‘विद्रोही भोज’ चल्थ्यो। लडाइँ नसकिएसम्म धनमाई–घर कहिले पुलिसको घर भयो त कहिले माओवादीको। गाउँले कोहीका लागि पुलिसकी आमा भइन् भने कोहीका लागि माओवादीकी आमा।

धनमाई पतिको गालामा मुड्की र स्कुल अध्यक्षको छातीमा लात्ती हान्ने ‘बन्दुक’ले गरिब, दलित, मधेसी, कर्णाली र सर्वसाधारणलाई के बाँकी राखे होलान्।

लडाइँमा आमा दिन

छापामार र पुलिस दाजुभाइ भेट भए के गर्थे होला हँ ?

त्यसबेलाको परिस्थिति आकलन गर्दै धनमाईले यसै भन्न सक्तिनन्।

धनमाई पुत्र लडाइँताका कहिल्यै भेट भएनन्। न घरमा न त बाहिर।

‘माओवादीमा लागेका छोरा त घर आइरहे। तर, पुलिस छोरोसित त चिठीमा मात्र भेट भयो। साम्य (शान्ति प्रक्रियापछि) भएपछि मात्र माइलो घर फक्र्यो,’ धनमाईले अप्ठेरा दिन सम्झँदै भनिन्।

‘कहिले को मरेको खबर आउने हो भन्दै हजुरआमा त रोएको रोई,’ धनमाई नाति सुशीलले भने।

‘जताका मरे पनि आफ्नै छोरा पर्ने,’ धनमाईले भनिन्, ‘यता हामी घरमा मारिने र उनीहरू उता मारिने हुन् कि ? त्रासैत्रास।’

दुईचार महिना बिराएर कान्छीपुत्रीको नाउँमा माइलाको चिठी पुग्थ्यो। चिठीमा हुन्थ्यो, ‘माथिबाट पहिरो खस्लाजस्तो छ। तलबाट खोलाले तान्लाजस्तो। बाँचेर आइएलाजस्तो छैन। …जहाँ जस्तो भए पनि ठीकै छु। …दाइ छन्। भाइ छन्। चित्त बुझाउनू। मेरो चिन्ता नलिनू।’

कान्छीले ‘आमा मर्ने भइहालिन् दाइ, कि भागेर आऊ कि राजीनामा दिएर’ भनी जबाफ पठाउँथिन्।

‘अहिलेजस्तो कहाँ ‘हलोजुवा’ थियो र ? चिठी त थियो नि भेट हुने,’ धनमाईले मोबाइल जमाना सम्झाउँदै भनिन्।

एक दिन माइला दाइलाई पछ्याउँदै चोलाकुमारी पुलिस भइन्, जसरी कान्छा हरिले जेठा दाइलाई पछ्याउँदै माओवादी भएथे।

कुनैबेला धनमाईलाई तीन छोरा र चार छोरी घरभरि भएमात्र पर्व आएजस्तो लाग्थ्यो। कोही छुट्दा खल्लो लाग्थ्यो।

माइला छोरा र कान्छी छोरी पुलिस अनि जेठा छोरा, कान्छा छोरा र नातिनी माओवादी भएपछि धनमाई मन एकाएक फेरियो।

आमा मनले एकाएक जेठा, माइला, कान्छा र कान्छी छोराछोरी भेट नभए हुन्थ्यो भन्न थाल्यो। भेट भए ‘अशुभ’ भइहाल्ने हो कि भन्ने डरले घर ग¥यो।

बेलाबेलामा जेठा छोरा, कान्छा छोरा र नातिनी घर आउँदा नि ‘तलमाथि’ होला कि भनेर आमा मन बेसरी तर्सन्थ्यो।

लडाइँभर पुलिस छोरा र छोरीको मुहार चिठीमा मात्र देखेकी धनमाईलाई उनीहरू ‘घरमा आमा भेट्न आऊन्’ भन्नेस् लागेन। कारण, प्युटारमा माओवादी राइदाइँ थियो।

लडाइँताका धनमाई आमा मनले परम्परागत आमा गुण गुमाएजस्तो देखिए नि, सन्तान केही होलान् कि भनी आमालाई लागेको माया नै थियो सायद।

कहिले रेडियोले त कहिले छिमेकीले सुनाउँथे। कहिले कहाँ कतिजना मरे भन्थे त कहिले कहाँ कतिजना। धनमाई आमा जगजगी सल्ला सुसाउँथ्यो।

निदायो कि सपना देख्थिन्। सपनामा लडाइँ नै लडाइँ देख्निथन्। कहिले कुन छोरा घाइते हुन्थे त कहिले कुन छोरा। कहिले कुन छोरा मारिन्थे त कहिले कुन छोरी। घाइते वा मारिएका उनकै छोराछोरी हुन्थे।

सपना देख्दादेख्दै ब्युझन्थिन्। पसिनाले निथ्रुक्क भिजेकी हुन्थिन्। सपनामा देखेजस्तो नहोस् भनी कामना गर्थिन्।

त्यसपछि के निदाउनु ? निदले अर्को नेटो काट्थ्यो। कोल्टे फेर्दैमा रात ढल्थ्यो।

‘म त आँसु धारा बगाउँदै मेलापात गर्थेँ,’ धनमाईले ठूला दुर्लुङतिर गुडेको बसलाई हेर्दै भनिन्, ‘पुलिस छोरो मारिने हो कि ? माओवादी छोरो पो मारिने हो कि ? आमा पीरले बेसुर भएर हिँड्दा ठेस लागेको पनि पत्तै पाउन्नथेँ। कस्ता बेला पनि आए नारन !’

‘आमा हुनु गाह्रो रहेछ।’

आमा मन लडाइँमा गएका छोराछोरीमा पठाएर धनमाई बँचेको तनले घाँसको भारी बोकिन्। चिन्ता गरेर के गर्नु ? बस्तुभाउ थिए।

ठेस लागेर कति औंलाबाट रगत बगेका हुन्थे भने कति औंला थिच्चिएर कालोनिलो।

त्यसबेला कोही युवा देखे नजिक गएर छोरा नै हो कि भनी नियाल्थिन्। हरेक बटुवा युवतीमा छोरी खोज्थिन्। प्युटार पुग्ने माओवादी अनुहारमा जेठा र कान्छा छोरा देख्थिन् भने सरकारी फौजमा माइला छोरा र कान्छी छोरी।

धनमाई घर भएर गोरेटो लाग्थ्यो। त्यै बाटो मोटाएर मोटरे बाटो भएको थियो।

बटुवाले पानी माग्थे। खाना माग्थे। बास माग्थे। आस माग्थे। यसैगरी माग्थे, माओवादी र सरकारी सेनाले पनि।

‘मेरा छोराछोरीले पनि कसैका घरमा यसरी नै मागे होलान् भन्ने लाग्थ्यो। तिनका अनुहारमा छोराछोरी देख्थेँ,’ धनमाईले भनिन्।

अध्याँरो भए पनि प्युटार पस्ने भन्ज्याङतिर आँखा बिछ्याउँथिन्। लागिरहन्थ्यो, छोरा आउँछन् कि। छोरी आउँछन् कि।

‘माया मार्ने धन र काटी फाल्ने छोरा कसैको हुँदैन के। छोराको माया पनि हुन्छ। धनको माया पनि हुन्छ,’ आफ्नो छेवैमा बसेर टोलाइरहेका कान्छा छोरालाई हेर्दै धनमाईले भनिन्।

‘आमा माया बरोबर। आमा मायामा पुलिस र माओवादी थिएन। दिनरात तिनकै चिन्ता आँसुमा बिते,’ धनमाईले दुवै हातका औंला देखाउँदै भनिन्, ‘यो औंला काटे पनि रगत नै आउने हो। यो औंला काटे पनि रगतै। आमाका लागि न पुलिस न माओवादी।’

माओवादी वा सरकारमा नलागेका सर्वसाधारण परिवारकी आमा झन् ढुकचुकिए। कारण थियो, ‘को, कहाँ र कतिखेर मारिने हो’ ठेगान थिएन। जन्त गएका जन्तीसमेत फर्केनन् भने अरूका के कुरा ? (मार्ने कि मर्ने भनेर लागेका सरकारी र विद्रोही फौजका बेग्लै कुरा।)

सत्ता र शक्तिको नजिक नभएका जोकोही र जहाँकहीँ मारिइन सक्थे। किनभने गोलीको न आँखा हुन्छ न कान। ‘जस्ता, जहाँका र जुन वर्ग’का भए पनि कुनै न कुनै आमाका सन्तान घाइते हुन्थे। बेपत्ता पारिन्थे। मारिन्थे।

‘जनयुद्ध’मा सबैभन्दा अप्ठेरा ‘आमा समय’ थिए सायद। अझ सरकारी र गैरसरकारी (माओवादी) भागमा नपरेका सर्वसाधारण आमाले भोगेका सकसका ‘लेखाजोखा’ कहिले, कसले गर्ला खै !

अचेल धनमाई आमा

आमा दिनचर्या कस्ता थिए होलान्, जसका छोराछोरी घर फर्केनन् (कि मारिए कि बेपत्ता पारिए) ? जसका छोराछोरी घर फर्कन त फर्के तर सग्ला फर्केनन्, ती आमाका लडाइँकालीन दिन कति भयानक भए होलान् ?

‘जनयुद्ध’ताका सयौं मन घर फर्केनन्। जसमध्ये तीन हजार जति बेपत्ता त १७ हजार जति मारिए। ६ हजार जति घाइते भए।

धनमाईका तीन छोरा, एक छोरी र एक नातिनी घर फर्के। (प्युटारे दीपक बल र यदु घिमिरे भने माओवादी भएको आधा वर्ष पनि नपुग्दै मारिए।) तर, लडाइँ सकिएको १२ वर्ष पुगे पनि धनमाई आमा मन प्युटार फर्केको छैन। १२ वर्षपछि त खोला पनि फर्कन्छ भन्थे। तर, धनमाईका जेठा छोरा, कान्छा छोरा र नातिनी लखरलखर हिँड्थे। केही सीप नलागी कान्छा अर्थात् कमरेड प्रमोद त गएको चुनावमा ‘म्यादी पुलिस’ पनि भए।

छिमेकीहरूका अनुसार, हरि अझै पनि मानसिक समस्यामुक्त भएका छैनन्। एक छोरा एक छोरीका पिता प्रमोदले अहिले दमको औषधि खाइरहेका छन्।

ढाड र गोडामा बम छर्रा बोकेर फर्केका जेठा प्रह्लादले कति छर्रा निकाले त कति बाँकी थिए। साउदी अरेबियामा दुई वर्ष तातो हावा खाएर फर्के।

९ कक्षा पढेकी जेठापुत्री कमरेड सीमा तीन दिदीबहिनी र एक भाइमा माहिली हुन्। न पढाइ न राजनीतिमा उकालिएकी सीमाले प्युटारकै कुमार घलानसित घरजम गरी घरेलु महिला जीवन बिताइरहेकी छन्।

धनमाई माइलापुत्र र कान्छीपुत्री त ‘नुनकारिता’ गर्न न पुलिस भएका थिए। तिनका के कुरा। ‘जूनकारिता’ गरी आफ्नो घर, देश र दुनियाँ फेर्न हिँडेका जेठा, कान्छा र नातिनीमा पो धनमाई ‘घित्करो’ थियो।

‘जनयुद्ध’ त सकिएको थियो, सय हाराहारी नेतालाई अर्को वर्गमा उकालेर। जसरी २००७ र २०४६ साले आन्दोलनले उकालेथे। पुरानै पुनरावृत्तिजस्तो ‘जनयुद्ध’ पनि ‘भुइँमान्छेका जीवनस्तर’ नफेरि ‘राजनीतिक परिवर्तन’मात्र गरेर टुंगिएको थियो। जुन परिवर्तन थिए– गणतन्त्र, धर्म निरपेक्षता र समावेशी।

प्रह्लाद, प्रमोद र सीमाका ‘सुप्रिम कमान्डर’ नै ‘गणतन्त्र माग्नु र बयलगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै हो’ भन्ने नेताको चरणमा पुगे। अहिले ‘संघीय गणतन्त्र नेपाल’को तालाचाबी नै उनै ‘बयलगाडा…’ नेताको हातमा छ। त्यसो भएपछि ‘गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी’ धनमाई घर प्युटारमा कसरी पुग्नु ? सायद यसैले होला, धनमाईलाई अझै पनि ऐंठन पर्न छाडेको थिएन।

‘ठेस कहाँ निको हुनु ? दुखिरहेछ,’ धनमाईले गोडाका औंला देखाउँदै भनिन्।

मात्र, रगत बग्न छाडेको थियो। आमा पीरले बेसुर भएको बेला लागेका ‘द्वन्द्व ठेस’ गोडा औंलामात्र होइन, धनमाई मनमा पनि उस्तै थिए।

‘पुराना कुरा कोट्ट्याएकोमा माफ गर्नुस् है आमा,’ यति भनेर धनमाई आमासित बिदा भएँ। प्युटारबाट काठमाडौं गुडेको गाडी गति जति बढ्यो उति धनमाई आमा बोली कानमा चर्को भयो, ‘(माओवादी) नेता मोटाउँदा किन मेरा छोरा र नातिनी यसरी दुब्लाइरहेछन् ? के यिनका दिन यसरी नै जाने हुन् ? ’

 

प्रतिक्रिया दिनुहोस्