Logo

आध्यात्मिक सेरोफेरो र वैतरणी धाम

गोपाल सञ्जेल
पूर्वीय दर्शनभित्र कर्मकाण्ड, धर्म र आध्यात्म ः
आध्यात्म अनुभूतजन्य पक्ष । धार्मिकता मानवीय पक्ष । कर्मकाण्ड आचारणगत पक्ष । तर, कर्मकाण्ड, धर्म र आध्यात्म गोलमटोल पारिएकाले दुविधा पनि छ । कर्मकाण्ड अपनाउन मनु ऋषिले लिपिवद्ध गरी जोड दिएको भनिन्छ । र, यसैमा धेरै तर्कवितर्क पनि गरिन्छ । मनु ऋषिपहिले र उनीपछिको कालखण्डबिच धेरै फरक पाइन्छ । मान्छेमान्छेबिच विभेद, लैङ्गिक असमानताको रेखाङ्कन, मान्छेभित्रैका तहगत सामाजिक संरचना मनु ऋषिका अनपेक्षित योगदान मानिन्छन् । ‘मनुस्मृति’ ग्रन्थमार्फत कर्मकाण्डीय कथाकुथुङ्ग्री यसैभित्र पारिएको छ । कर्मकाण्ड ऐच्छिक विषय हो । यो मानौँ या नमानाँै, गरौँ या नगराँँँै आफ्ना विवेकले छातीमा हात राखौँ । धर्म धारण गर्ने मामिला । यो रङ्गजस्तै हो, परैबाट सजिलै ठम्याउन सकिन्छ । नाङ्गै रहने या धारण गर्ने यो पनि आफ्नै छातीमा हात राखौँ । तर, कर्मकाण्डका बारेमा मनु ऋषि पहिले र उनी पछिको कालखण्डको वैद्धिक र शास्त्रीय व्याख्या जनसाधारणका भाषामा हुनु अपरिहार्य भएको छ ।
भारतवर्षका मात्रै होइन दुनियाँका जनसाधारणले पूर्वीय दर्शनका बारेमा ज्यादै चासो, रुचि र जिज्ञासापूर्वक बुझ्न चाहेका छन् । जर्मनका १४ वटा विश्वविद्यालयहरुमा संस्कृत भाषा पढाइ हुन्छ । वैद्धिक र बौद्धिक दुवै हिसाबले चिन्तनमा अब्बल छन् । र, अनुशरण गर्न पनि उत्तिकै उत्सुक छन् । आज युरोप, अमेरिकाका कुन शहर बाँकी होलान् कि योगा र ध्यान शिविर नभएको ? पूर्वीय दर्शनले मानव जातिलाई दिएको चुरो कुरो भनेकै योगा र ध्यान मानिएको छ । वेद र त्रिपिटकको सर्वाेच्चता र महत्वका बारेमा त बताइराख्नु परेन । योगा ऋषिमुनिहरुको योगदान मानिन्छ भने ध्यान भगवान बुद्धको । यद्यपि, ध्यान ऋषिमुनिहरुले नगरेका होइनन् ।
मानवीय संवेगसँग गाँसिने भएकाले धार्मिकता भावनात्मक पक्षसँग जोडिन्छ । भावनात्मक पक्ष भन्ने वित्तिकै आध्यात्मिकतातिर मुखरित गराउँछ । आध्यात्मिकता अनुभूति हो भनिन्छ । आध्यात्मिकताभित्र भाषासमेत हुन्न भनिन्छ । अनुभूतिजन्य कुरो भएकाले अभिव्यक्त गर्न सकिने कुरै भएन । यही अवस्थालाई बुद्धले शून्यता र ऋषिमुनिले अद्वैत भने । आध्यात्म आत्मिक तत्व भएकाले मानवीयता खुट्याउछ । नत्र मान्छे भए पनि आध्यात्मबिना पशु बराबर हुन्छ भन्ने मान्यता त्यत्तिकै मानिएको होइन । त्यसैले कर्मकाण्ड, धर्म र आध्यात्मिकता अलगअलग विषय हुन् र, यसका अलगअलग शाश्वत मार्ग छन् । यसैका बारेमा अलगअलग व्याख्या, विश्लेषण, परिचर्चा गरिनुपर्दछ ।
दुनियाँको पावर सेन्टर (दर्शन, राजनीति र अर्थतन्त्र) पहिले एसियामै थियो । पहिलो विश्वयुद्धले युरोप र दोस्रो विश्वयुद्धले अमेरिका पु¥यायो । विश्वका राजनीतिशास्त्र, अर्थशास्त्र र समाजशास्त्रका विद्वानहरुले दश वर्षअघि नै प्रक्षेपण गरका छन् कि त्यो पावर सेन्टर पुनः एशियामै आउँदै छ । किनकि युरोप, अमेरिकाले पुँजी र प्रविधि त दिए तर दर्शन दिन सकेनन् । जति पनि वैज्ञानिक आविस्कार र प्रविधि विकास भए वा गरिए ती सबै वेदको परिकल्पनाबाहिर छैन भन्ने पुष्टि उनीहरुले नै गरे । अझ पूर्वीय दर्शनको विकल्प हुन पनि सकेन भन्ने ठम्याइ पनि उनीहरुकै हो । त्यसकारण हामीले कर्मकाण्डमै रमाइ बस्नु भएन । धार्मिकतामै धमिलिनु पनि भएन । पूर्वीय दर्शनका चुरो पक्डेर दुनियाँलाई आश्वस्त पार्नु हाम्रो अहम् अभिभारा हो । भारतवर्षले मानवजातिलाई दिएका नौवटा दर्शनले नै आज दुनियाँ हाँकिरहेछ । यसैलाई पूर्वीय दर्शन भनेर पुजिन्छ । हामी पूर्वीय दर्शनका प्रादुर्भाव गर्ने महापुरुषहरुका सन्तान हौँ । बाजेले कुइनुमा धारा लगाएर घ्यु खाएको धाक लगाएर मात्र पनि हुन्न । पूर्वीय दर्शनको समयसापेक्ष कुशलता र उच्चता चाहियो ।
वैतरणी ः
वैतरणी आध्यात्मिक अनुभूति आर्जन गर्ने धाम । आध्यात्मिक धाम दुनियाँमा कमै छन् । त्यसैले यस्ता धाम दुर्लभ छन् । त्यही दुर्लभ धाममध्ये प्रसिद्ध धाम भएकाले धामहरुको पनि धाम आर्थत् महाधाम हो । नाश्वर शरीरले विदा लिँदै गर्दा देह पवित्र होस् भनेर वैतरणी तर्ने गरिन्छ । स्वर्ग पुग्न सहज पार्ने धाम भएकाले यो आफैमा पवित्र हुने नै भो । सबैतिर वैतरणी धामका बारेमा चर्चा हुन्छ । विधिपूर्वक आराधना र जपतप गरिन्छ तर त्यो महाधाम हिमवत खण्डमै त्यो पनि गोटिखेलमै छ भन्ने चाहिँ चिनाउनै बाँकी छ । विगत केही वर्षका आयामले वैतरणी धामको आयतन फराकिलो हुँदै छ । यद्यपि, यो पर्याप्त छैन । धाम, जपतप, आराधना अमुक धर्म वा सम्प्रदायको रङसँग पोतिनु, हेरिनु र बुझिनु हुन्न । मानवीय देह त्यागका अनेक विधि हुन्छन् भनिन्छ । अन्तिम सत्य मृत्युको विधिविधान आआफ्ना स्वैरकल्पना मात्रै होइनन् । वैतरणी बहीखाता बुझबुझारथ मात्रै पनि होइन । मत्र्यलोकबाट आत्मिक विदाइको अभीष्टसमेत हो । त्यसैको धाम स्थापित हुनु, गरिनु यसैमा जपतप, आराधना, अनुष्ठान उठाइनु मानवीयताको उच्चतम् चैतन्य हो ।
आत्मिक यात्रा ः
समाजमा कथाकुथुङ्ग्री त्यत्तिकै बनेका हुन्नन् । मिथक त्यत्तिकै स्थापित हुन्न । वैतरणी कथाकुथुङ्ग्री मात्रै होइन । स्थापित मिथक हो । मिथक शाश्वत सत्य जत्तिकै नजिक हुन्छ । नजिकको आत्मिक यात्रा भएन भने जिन्दगी नै अधुरो हुन्छ । पूर्ण जिन्दगीका लागि आत्मिक यात्राको गन्तव्य वैतरणी धामै हो भन्ने मिथकलाई व्यावहिरक जीवनसँग मेल खाने परिवेश निर्माण गर्नु नै वैतरणी धामको अभीष्ट हुनुपर्दछ । अभीष्ट लक्ष्य मात्रै हो यसका व्यावहारिक तानाबानाका लय मिलाउने कौशलता हुनै पर्दछ । नत्र कुरैले मात्रै काम गर्ने सपना बोकेका उडनदस्तरी सिबाय केही हुन्न । आत्मिक धाममा आत्मिक यात्राका लागि आत्मिक समर्पण गरिनै पर्दछ । आत्मिक समर्पणभाव महसुस गर्न सक्दामात्रै यसले अतुलनीय आनन्द दिन्छ । आत्मिक धन्सार भरिभराउ गराउछ ।
धार्मिक पर्यटन ः
धार्मिक पर्यटनको समय छ, आजभोलि । हाम्रो आन्तरिक पर्यटनको लगभग ८० प्रतिशत हिस्सा धार्मिक पर्यटन हो भन्ने आँकलन छ । पर्यटन भौतिक यात्रा भएकाले भौतिक धन्सारको मामिला पनि कम आँकिनु हुन्न । पर्यटन मात्र त्यस्तो व्यवसाय हो जसले नछुने वर्ग, क्षेत्र र पेशा व्यावसाय नै हुन्न । सामान्य रायोसाग बेच्नेदेखि ठूला व्यवसाय गर्नेसम्मलाई छुन्छ । त्यो पनि हरेक दिन । बाह्य पर्यटनमा एउटा व्यक्तिले ९ जनालाई अप्रत्यक्ष रोजगार दिन्छ र आन्तरिक पर्यटनमा ३ जनालाई रोजगार दिन्छ भन्ने अध्ययनबाट पुष्टि भएको छ । त्यसैले हाम्रो आन्तरिक पर्यटन प्रवद्र्धनले प्रत्यक्ष वा परोक्ष रोजगार सिर्जना गर्छ । भौतिक धन्सार भर्न धार्मिक पर्यटनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसमा पनि वैतरणी धाम छुट्ने त हुनै सक्तैन बरु पहिलो नम्बरमा आउने वातावरण निर्माण गरिनुपर्दछ । यसका खाका कोरिनु र कार्ययोजनामा खरो उत्रिनु वैतरणी धामका हर्ताकर्ताको कर्तव्य हो ।
वैतरणी धामबाट थालिने यात्रा कालेश्वर हुँदै रमितेलेक र माझखण्डको रुद्रेश्वरसम्म तथा माझखण्डको रुद्रेश्वरबाट थालिने यात्रा रमितेलेक हुँदै कालेश्वरबाट वैतरणीसम्मको पदमार्ग (सर्किट) बनाउन उपयुक्त हुन्छ । कालेश्वर र रुदे्रश्वरको शक्ति पीठलाई जोड्दा बेजोडको तीर्थाटन बन्छ । उता रमितेलेकबाट सगरमाथा, काठमाडौँ उपत्यका र वीरगञ्ज, रक्सौलसम्मको दृश्यावलोकन अर्को दुर्लभ यात्रा हुनेछ ।
अन्तिम अस्त्र ः
वैतरणीको बखान मात्रै होइन बरु सिन्को भए पनि कर्मक्षेत्रमै भाँच्नु पर्दछ । बखानले केही दिन्न । सिन्का भाँच्ने कार्य भटाभट हुनुपर्दछ । महिमा आफूले होइन अरुले गाउने बनाउनु हाम्रै दायित्व हो । हाम्रो आँगनको धाम हामीले पवित्र बनाउने हो । धाममा आउने पाहुनाको सत्कार गर्ने संस्कार हुनैपर्दछ । त्यसको पनि नयाँपन अपरिहार्य हुन्छ । धाममा धार्मिक तथा आध्यात्मिक गुरुहरु तथा महापुरुषहरुको आगमन निरन्तर गराउन के कस्तो पहलकदमी चाल्नु पर्ला ? मेला, महोत्सव, अनुष्ठानका शृङ्खला के कति गर्नु पर्ला ? सौगातका सामग्री के के हुन सक्लान ? बसाइलाई लामो गर्न के के गर्न सक्छौँ होला ? एकपटक आएकाले फेरिफेरि आउन के के गर्नुपर्दछ होला ? सुनेकै भरमा जाउँ जाउँ लाग्ने बनाउन के के गर्नु पर्ला ? होस्टेमा हैँसे, हातमा हात, साथमा साथ मिलाउन हर्ताकर्ताले के के गर्नुपर्ला ? सोधौँ न आफूले आफैलाई ! साटासाट गरौँ न मनका तुना खोलेर अनुभूति ! ता कि सजिलै वैतरणी तर्न सकियोस् । र, धेरैभन्दा धेरैलाई तार्न सकियोस् ।
यो लेख वैतरणीधाम स्मारिका२०७५ मा पनि प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्