Logo

ढुंगेधारा सुक्यो

पाटनको सुख्खा रहेको सुन्धारा । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१ चैत्र २०७५,पाटन । शनिबार चर्को घाममा हिडेकी रस्मी थापा पुल्चोकस्थित महानगरपालिका अगाडि एटिएमबाट निशुल्क पानी धित मरुञ्जेल खाइन । पैसा पर्ने सुनेकी थापाले भनिन्,‘आज त पानी फ्रि रहेछ । नगरपालिकाले पानी बेचेको सुन्दा नराम्रो लागेको थियो ।’
रस्मि थालालाई मात्रै होइन पाटनकै रविन्द्र डंगोललाई पनि नगरपालिकाको ढोकैमा पानी बेच्न राखेको मन परेको छैन । उनी भन्छन्, ‘नगरपालिकाको काम सार्वजनिक धारा राख्ने, ढुंगेधारा संरक्षण गरेर स्थानीयलाई पानीखुवाउने हो ।  ’

सिंचाहिटीकी शान्ति श्रेष्ठ ढुंगेधारामा हरेक दिन १ घण्टा वितााउँछिन् । उनलााई एउटा गाग्री भर्न आधा घण्टा लाग्छ । भन्छिन्, भारामा पानी आउदैन । कति दिन पानी किनेर खानु ।
पाटनको त्यागलकी नानीमैया महर्जनलाई पानीको झन् ठूलो समस्या छ । उनी पानी थाप्न १५ मिनेट हिडेर सिंचाहिटी पुग्छिन् ।
ढुंगेधारा सुकेपछि विकल्पको रुपमा पाटन थापाहिटीमा इनार बनाएर पानी वितरण गर्न थालिएको थापाहिटी संरक्षण समितीका पुकेश शाक्यले बताए । भन्छन्, ‘हामी उपभोक्तालाई दिन विराएर पानी बाड्छौं । महिनाको रु २ सय लाग्छ ।’

पानी नआउने ललितपुर थाापाहिटीको ढुंगेधारा ।

पाटनमा ६० भन्दा बढी ढुंगेधारा अस्तित्वमा छन् । ती मध्ये एक दुई वटामा मात्रै वाह्रै महिना पानी आउछ । पाटनबासी ढुंगेधारा सुकेपछि किनेर पानी खान बाध्य छन् ।
सुन्धारा,मंंगहिटी,आल्कोहिटी,सिचाहिटी,कुम्भेश्वर ढुंगेधारालगायत, ६० वटा ढुंगेधारा छन् । यी मध्ये ३५ वटामा हिउद पानी आउदैन । २० वटा सुकेको र ती मध्य केही पुरिएको वा मासिएको स्थानीय बताउछन् ।
पानी नआउनु कारण खोतल्ने क्रममा भोलढोकाका स्थानीय विकाश महर्जन जथाभावी इनार खन्नु एउटा कारण हो भन्छन् । ‘जहाँ त्यही सिमेन्टका ढलान गर्दा जमिनमुनि पानी नजाँदा ढुंगेधारा सुकेको’ उनको अर्को तर्क छ । पाटनको सप्तपाल पोखरी लगायत पोखरीहरु नासिदा ढुंगेधाराहरुमा पानी नआएको पाटनबासीको ठम्याइ छ ।

‘काठमाडौं उपत्यकामा सरकारले घर घरमा धारा जडान गरि दिएपछि पानीको आवश्यकत्ता जरुरी नहुँदा जनस्तरबाट संरक्षणका लागि ठोस पहल हुन नसकेको’ गावहालका राजेन्द्र श्रेष्ठले तर्क गरे । ‘बजारमा सफा पानी फालाफाल पाइने भएपछि ढुंगेधारा संरक्षण गर्न कसको फुर्सद ?’ उनले प्रतिप्रश्न गरे । उनले थपे,‘स्थानीय जनप्रतिनिधि नहुँदा शहरका ढुंगेधारा संरक्षणका लागि कर्मचारीबाट काम हुन सकेको थिएन । अब हुन्छ की ?’
नख्खु खोलाबाट पाटनसम्म ल्याइएका कुलो बढ्दो शहरीकरणबाट बन्द भएको र पोखरी मासिएपछि ढुंगेधाराहरुमा पानी अभाव भएको पाटनबासीहरु गोनासो गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्