Logo

यसरी बन्छ रातो मच्छिन्द्रनाथको रथ

शैलेन्द्र पौडेल

पाटनको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ बनाउने क्रममा वोसीहरुले काठ काट्ने गर्दछन् । काठको काम पाटनका वाराहीहरुले गर्छन् । रथका लागि आवश्यक विभिन्न साइजका काठहरु नापजाँच गर्ने , काठ तयारी गर्ने र रथमा मिलाएर राख्ने काम उनीहरुको हो । त्यसपछि यवालहरुको काम शुरु हुन्छ । यवाल भन्नाले पाटनका महर्जन र डंगोलहरु हुन् । उनीहरुको पाटन मा निश्चित गुठी छ । यहि गुठियारका यवालहरुले मात्रै यो काम गर्न पाउछन् । मच्छिन्द्रनाथ रथ किला र काँटी प्रयोग नगरि बनाइएको हुन्छ । यवालहरुले वेत र डोरीले कसेर बलियो बनाउछन् । रथलाई साझसज्जा गर्ने काम पनि यवालहरुले नै गर्दछन् ।


रथलाई निश्चित रुटबाट गन्तव्यमा पु¥याउने जिम्मेवारी भने हकुहरुको हुन्छ । उनीहरुले काम दिशानिर्देश गर्ने,रथ गुडाउने क्रममा कतै ढल्किएमा मिलाउने, कुन दिशातिर तान्ने हो त्यसको निर्देश गर्ने र रथ रोक्नका लागि ब्रेक लगाउने जस्ता काम गर्ने हो ।
रथ तान्न भने विभिन्न टोलका स्वयम्सेवी युवाहरु खट्टिएका हुन्छन् । हरेक टोलमा ज्यापु समाजबाट संयोजक तोकेर रथ अघि बढाउनका लागि व्यवस्थापन गरिएको हुन्छ ।


रथका निर्माणका लागि विभिन्न प्रजातका काठहरु आवश्यक पर्छ । रथको पाङ्ग्राका लागि सानदान जातको काठ प्रयोग हुन्छ । यो काठ अमलेखगञ्जबाट ल्याइन्छ । रथको पाङ्ग्राभन्दा माथि राखिने बाङ्गो ठूलो काठ धमा राखिन्छ । धमा सौरको काठबाट बनाइन्छ । अधिल्लो वर्ष ललितपुरको देविचौरबाट ल्याएर धमाको काठ फेरिएको थियो । खटका लागि आवश्यक पर्ने लाकुरीको काठ गोदावरी जंगलबाट र मयलका काठहरु ललितपुरकै वुङ्गमतीबाट ल्याइएको थियो । रथका लागि चाहिने वेत नेपालमा पाइदैन । गुठी संस्थानले वेत भारतको आसामबाट झिकाउने गरेको छ ।


मच्छिन्द्रनाथसँगै मीननाथको पनि रथयात्रा गराइन्छ । यी दुबै रथ ठड्याउनका लागि काठ,वेत,ज्याला सबै गरेर गुठी संस्थानमार्फत सरकारले ५० लाख खर्चने गरिएको छ ।
रथ निर्माण गर्ने क्रममा वाराहीहरुका नाइके र भाईनाइकेका लागि १ हजार १ सय,अन्य वारहीहरुलाई १ हजार १८ ज्याला पाउँछन् । थकाली र वाराहीहरुका लागि वर्षभरि पर्व पूजाका गर्न गुठी संस्थानले ३० मुरी धान दिन्छ । यवालहरुलाई दैनिक १ हजार ३ सय २० ज्याला दिने गरिएको छ । विहानको चिया नास्ता, दिउसो मासु भात र साँझ छोइला चिउराको खाजा समेत व्यवस्था छ । यवालहरुका लागि प्रतिवर्ष २४ मुरी धान दिइन्छ । घकुहरुलाई ४८ मुरी धान दिइन्छ ।
यवाल, हकु र वाराहीहरुलाई पहिले पहिले धान नै दिइन्थ्यो तर पछिल्ला समय धानको सट्टा मूल्य बराबर हुने गरि पैसा दिन थालिएको छ । अघिल्लो वर्ष समयानुकूल धानको मूल्य बढेपछि प्रति मुरी १ हजार ५ सय पचास दिने गरिएकोमा ३ सय पचास बढाएर १हजार ९ सय दिन थालिएको छ । मच्छिन्द्रनाथ रथ निर्माणमा काम गर्ने सम्प्रदायहरुको ज्याला समय समयमा बढेको छ ।


गुठी सस्थान ललितपुरमा रातो मच्छिन्द्रजाथको रथ निर्माणका लागि बोसी १२ जवान,वाराही २४ जवान यवाल १२ जवान दरवन्दी रहेको छ । रातो मच्छिन्द्रनाथको रथ निर्माणको क्रममा अपुग श्रमिक ज्यालादारीबाट परिपूर्ति भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने श्रमिकहरु बुढो उमेरको रहेको हुँदा रथ चढ्न समस्या छ । तर यिनै पुस्ताले नै रथ निर्माणको पुरानो प्रविधि बुझेको पाइन्छ । पुरानो पुस्ताबाट नै प्रविधि हरुतान्तरण हुने गरेको छ । रथ निर्माणमा युवा पुस्ता जोसिएर काम गरिरहेको देख्न सकिन्छ ।


केही बर्षअघिसम्म पहलमानहरुले होस्टे र हैसे गरेर रथलाई वेत र डोरीले बाधिन्थ्यो । आजकल पुल्ली र टुचिन प्रयोग गरेर वेत कस्दा रथ झन् वलियो हुन थालेको छ । मच्छिन्द्रनाथको रथ निर्माणको क्रममा उहिले काठको मात्रै प्रयोग गरिन्थ्यो । यसरी काठमा मात्रै प्रयोग हुँदा रथ भाँचिने, ढल्ने र दुर्घटना हुन गई जात्रालुहरुको मृत्युसमेत भएपछि निश्चित ठाँउहरुमा ढलौटको प्रयोग गरिएको थियो । पछिल्लो समय २०३६ सालबाट फलाम प्रयोग भयो । फलामको प्रयोगपछि गम्भिर दुर्घटना टरेको छ ।


पछिल्लो समय जात्रा चलाउनका आवश्यक विभिन्न प्रजातीको काठ उपयुक्त आकारमा नपाउने समस्या छ । व्यस्त जीवनशैली र वढ्दो विदेश मोहका कारण समाजमा युवाको संख्यामा कमी आउन थालेपछि रथ निर्माणका लागि पनि दक्ष जनशक्ति निर्माणका लािग केही समस्या देखा परेको छ । समाजका पुस्तौनी व्यावसाय छोडेर युवाहरु जागिर खाने र व्यस्त किसिमको व्यावसायतर्फ आर्कशित हुँदा एक महिने लामो मच्छिन्द्रनाथको रथ यात्राको व्यवस्थापन गर्न कठिनाई हुनु स्वभाविक हो ।
गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलसँग कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्