Logo

मैले देखेको त्यो पाटन ः सत्यमोहन जोशी


सत्यमोहन जोशी
। म ललितपुरको बखुम्वाहालमा जन्मिएको हुँ । यता त्यसबेला धेरै घर थिएनन् । हामी कौसीमा बसेर कृष्णमन्दिरको गजुर हेथ्यौं । मच्छिन्द्रनाथको रथ तान्दै गरेको घरैबाट हेर्न पाइन्थ्यो । चिडिया घरमा हुकु पालिएको थियो । त्यो कराएको सुनिन्थ्यो । भन्यो भने मान्छेले नपत्याउलान्–त्यस बेला चिडिया घरमा सिंह,बाघ कराएको पनि राम्रै सुनिन्थ्यो । त्यसबेला घरहरु पातला थिए । जनसंख्या पनि कम थियो ।
हामी बच्चा हुँदा कौसी चढेर हिमाल हेथ्र्यौ । काठमाडौं शहर वरपरका पहाड हेर्दै रमाउथ्यौ । विस्तारै अरुका घर अग्ला भए । मेरो घर होचो भयो । उ बेला भौतिक कुरा यस्ता थिए ।
साइकल चढेका मान्छे देख्न मुस्किल पर्थो । अहिले जहाँ त्याहा गाडी छन् ।
वागमतीको पानी निर्मल थियो । ठाँउ ठाँउमा पोखरी बनाइएको हुन्थ्यो । सिडी चढेर हामी वागमतीको पानी खान्थ्यौं । एकादशीका दिन बुवा आमासँगै गएर त्याहा हामी खलखल नुहाउथ्यौं । पूजा गथ्र्यौं ।
शहरका वाहिरतिर मनहरा र नख्खुजस्ता ठाँउमा पानी घट्ट थिए । नख्खुमा टक्सारी चल्थ्यो । टक्सारी भनेको पानीको ढिकीबाट पैसा छाप्ने गरिन्थ्यो । त्यो पैसालाई पानीढकी भनिन्थ्यो ।
हामी आमासँग बैद्यको घरमा गएर स्वास्थ्य जाँच गथ्र्यौं । झारफुके कहाँ लगेर उपचार गराएको पनि याद छ । खरानीको टिका लगाएको जल खुवाएको अनि पूजाआजा गराएको पनि याद छ । पछि हामी घरमै डाक्टर बोलाएर उपचार गर्न थाल्यौं । उ बेला झोल औषधि खान पाइन्थ्यो । आजकल जहाँ पनि ट्याव्लेट छ ।
त्यो बेलामा पनि पाटनमा अहिलेकै जस्तो जात्रा चल्थ्यो । पहिले रमझम थिएन । आजकल धेरै रमाइलो हुन्छ । मच्छिद्रनाथको रथ तान्नका लागि लिक बनाइएको थियो । त्यो लिकबाट चलाउदा रथ ढल्दैनथ्यो । मच्छिन्द्रनाथको रथ तान्न लस्करै मान्छे जान्थे ।
आजकल सरकारी सेवामा काम गर्ने विभागीय प्रमुखले समेत मोटर चढ्न पाएका छन् । २०१६ सालमा म पुरातत्व साँस्कृतिक विभागको डाइरेक्टर हुँदा पनि मोटर सुविधा थिएन । म साइकल चढेर कार्यालय जान्थे । मैले राणा शासन भोगे । प्रजातन्त्र आएको देखे । पञ्चायती शासन हुँदै लोकतन्त्र,जनयुद्ध पनि देखियो । संविधानसभापछि गणतन्त्र पनि भोग्न पाइयो । यस्तो परिवर्तन शायद कमैले देख्न भोग्न पाउलान् ।
जीवन परिवर्तनशील छ । समयसापेक्ष चल्नु जान्नुपर्छ । सादा जीवन जीउनुपर्छ । उच्च विचार राख्नुपर्छ । जीवन यस्तै रहेछ । भएको कुरा पनि छोडेर जानुपर्छ । फिलोसपी अफ सेटिसफ्याक्सन सन्तोषको भावना मसँग छ जस्तो लाग्छ । यसैमा आनन्द छ । त्यसैले त धेरै समय बाच्न पाइयो जस्तो लाग्छ ।
अव कुनै रहर छैन । खै किन हो यति बर्ष उति बर्ष बाँचौं जस्तो पनि लाग्दैन ।
ललितपुर महानगरपालिकाले गाडी र चालक दिएको छ । उसैले वडीगार्ड पनि दिएको छ । यो सबै मैले गरेको साहित्य,संस्कृती र भाषाको सेवाका लागि पाएको हु जस्तो लाग्छ । अव अरुका लागि बाटो खुलेको छ । भोलि अरुले पनि पाउलान् । मैले यी सुविधा मागेको थिइन । घरमा राख्ने ठाँउ पनि छैन । नगरपालिकामा नै राखिएको छ ।
जोशीसँग कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्