Logo

दलित र विपन्नले पाएनन छात्रवृति

महेश सिंह महतो ,
२८ जेष्ठ ०७६, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित रहेको आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीहरु छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा बजेट निकासा नदिँदा उक्त विद्यालयका करीब एक सय भन्दा बढी दलित विद्यार्थीहरु अहिलेसम्म छात्रवृत्ति नपाउदा निरासा छन् ।


गतवर्ष २०७४ चैत महीना यता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेकोले सो विद्यालयका विद्यार्थीहरुले गुनासो गरेका छन् । छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक सुफल सदाले बताए । गतवर्ष विद्यालयले छात्रवृत्तिबापत प्रतिविद्यार्थी रु ५०० का दरले ८५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थियो ।
छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकोले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताए । यादवको अनुसार नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे तापनि प्राप्त नभएकाले वितरणमा ढिलाइ भएकोे बताए ।
मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले भने विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्