Logo

‘प्रधानमन्त्री ओली भजन मण्डलेको घेरामा’

६ असार ०७६,काठमाडौं । राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्री ओली भजन मण्डले र केही सिमित व्यक्तिहरुको घेरामा बाँधिएको उनको आरोप लगाएका छन् । उनले भने,‘माईतीघरमा गुठी विद्येयकको विरुद्धमा भएको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो ।’ सरकारले महत्वपूर्ण विषयमा र प्रत्यक्ष जनतासँग जोडिएको विषयमा सबैसँग छलफल गर्नुपर्ने र साझा दृष्टिकोण बनाउनु पर्छ ।
सरकारको कामकारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दापनि मुलुक सही ठाउँमा नपुग्ने दाबी गरे । उनले भने,‘पछिल्लो समय सरकारप्रति जनताको विश्वास घट्दै गएको छ । अविश्वास र निराशा बढ्दै गएको देखिन्छ ।’
यादवले जनतामा सरकारप्रति अविश्वासको खाडल बढ्दै गएको र यही मौका छोपेर अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा नराम्रोसँग खेल्न थालेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले त जसलाई जे मन लाग्यो, त्यही बोल्ने चलन छ । सरकार सफल भन्दै हिँडेको छ । र केही हारको कुण्ठा बोकेर हिँडेका छन् ।’
पछिल्लो समय राजनीतिक दल र यसका जिम्मेवार नेताहरु कुनै न कुनै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको पनि आरोप लगाए । उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालको स्टाटस के हो ? भन्दै सरकारसँग प्रश्न तेर्साए । उनले भने,‘परराष्ट्रमन्त्रीले यसबारेमा शब्द खेलाएर जवाफ दिनुभएको छ । मैले यो कुरा संसदमा पनि उठाएको छु । यो गम्भिर विषय हो । त्यसैले गैरजिम्मेवारी अभिव्यक्ति दिएर उम्किन मिल्दैन ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने चेतावनी दिए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । सरकारले गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिललगायतका विभिन्न विद्येयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको पनि गुनासो पोखे । उनले भने,‘नेकपाका नेताहरुले पनि चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए । उहाँहरुको घोषणापत्र नै महत्वकांक्षा थियो ।’ वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर रहेको भएपनि त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ ।
सरकार बनेको १६ महिना बितिसक्दापनि अहिलेसम्म एउटापनि राम्रो काम गर्न नसकेको पनि पौडेलको आरोप छ । उनले भने,‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होईन ।’ यो वर्षको बजेटमा पनि नयाँ कुरा केही नआएको उनको भनाई छ ।
‘बजेट र नीति तथा कार्यक्रम केही पनि प्रगतिशील छैनन्’–उनले थपे । सरकारले गुठीलाई पनि आफ्नो प्रभावमा विस्तार गर्न चाहेको पौडेलको आरोप छ । उनले भने,‘सरकारले संस्कृतिमाथि बलात् हस्तक्षेप गर्न खोज्यो ।’ वर्तमान सरकार सफल हो भनेर भन्न सक्ने र गर्न सक्ने कुनै तर्कको आधार नै नभएको पनि उनले जिकिर गरे । ओली सरकार पूर्ण रुपमा असफल भएको उनको दाबी छ । ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ ।’–उनले थपे ।
पौडेलले नेकपाभित्रपनि सांसदहरुले विद्रोह गर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिमित स्वार्थ समूहको घेराभित्र रहेको उनको भनाई छ । सरकारले सुनकाण्ड, फोरजी काण्ड, बालुवाटार जग्गा प्रकरण, टुँडीखेल काण्डमा किन ढाकछोप गर्न खोजेको ? भन्दै उनले प्रश्न गरे ।
ओली सरकार समयमै नसच्चिने हो भने मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरापनि पौडेलले औंल्याए । राष्ट्रपति र उपराष्ट्रपतिहरुले सुविधा विस्तार गर्नमा मात्रै ध्यान केन्द्रित गरेको पनि उनको आरोप छ । उनले भने,‘पहिले पहिले राजा र अहिलेको राष्ट्रपतिको सवारी उस्तै छ ।’
आफ्नो पार्टी सडकमा नजाँदा जनता आफैं सडकमा आउनेपनि उनले बताए । उनले भने,‘त्यसैले हामी सडकमा जानुको विकल्प छैन । गुठी विद्येयकको विरुद्धमा भएको सडक संघर्ष त सामान्य हो ।’

प्रतिक्रिया दिनुहोस्