Logo

विचार ः सडक कि भ्यू टावर ?


मिसन शर्मा
तीन बर्षअघि गाँउ गाँउमा निर्वाचित भएर जनप्रतिनिधि आए । धेरैको अनुमान थियो अव गाँउमा विकास मुल फुट्छ । गाँउका समस्या समाधान हुन्छन् । गाँउलेको विस्वास जित्न पनि स्थानीय नेताले विकासको आभास गराउने छन् ।
तर ठिक उल्टो भयो ।
गाँउ गाँउमा सडक बने । तर त्यही सडक आज गाँउलेका लागि काल बनेर आएको छ । एक दिने झरिले गाँउको विकाशको आधार सडक कस्तो बनेको रहेछ भन्ने देखियो । इन्जिनियरिङ्ग अनुसन्धान र मापदण्ड विपरित बनाइएको सडकका कारण पहाडमा पहिरोको प्रखोप बढ्दैछ । पहिरोले धेरै बस्ती जोखिममा छन् ।
विडम्बना गाँउमा जनता सडक बनेपछि दिक्दार छन् भने शहरका चाही सडक नबन्दा ।
चापागाँउ सडकमा सडक बनाउन माग गर्दै स्थानीयले लामो समयसम्म आन्दोलन गरे । स्थानीय जनप्रतिनिधिहरुले चाडै सडक ग्राइभेल गर्ने आस्वासनसहित सम्झौता र विज्ञप्ती जारी गरे । सडकमा दुई चार टिपर माटो खन्याए । त्यो माटो बाढीले बगाएपछि आज सडकमा विजोक छ । पानी परे हिलो हुन्छ घाम लागे धुलो ।
चापागाँउ सडक काम चल्ने थियो । एक दिन डोजर आएर अव सडक कालोपत्रे गर्ने भन्दै खनेर कालोपत्रे उप्काएर छोड्यो । त्यहाँ कालोपत्रे गर्न कोही पनि आएन । त्यो दिन देखि सडकको हालत डरलाग्दो गरेर विग्रेको छ ।
आज जनप्रतिनिधिहरु सडक बनाउने काम सडक विभागको भनेर पन्छिदै छन् । स्थानीय क्षेत्रमा प्रमुख समस्याको रुपमा देखिएको जीर्ण सडक बनाउन जनप्रतिनिधिहरु पहल गर्नु पर्दैन र ? के सडक विभागले टेरेन भन्दै निरिह बनेर भाषण गर्ने नेताको हैसियत कर्मचारी भन्दा तल हो ?
सरकारसँग विकाश बजेट मागेर गाँउ पस्ते नेताहरु जीर्ण सडक निर्माण नगर्दा के नाफा हुने हो बुझि नसक्नुछ ।
जनप्रतिनिधिहरु सडक बनाएर जस लिने भन्दा अनावश्यक राजनीति र खिचातानीमा व्यस्त छन् । सडक २ महिनामा बन्छ, ३ महिना बन्छ भन्दै भाषणवाजी गर्दै हिड्ने नेताले आफ्नो धोती खुस्केको चाल पाएका छैनन् ।
जनप्रतिनिधिहरु जहाँ हे¥यो उही वदनाम छन् । कोही वडाध्यक्षहरु राजनीतिक पहुँचको आडका डोजर किनेर गाँउ भत्काउन तल्लिन छन् । कोही जग्गा कारोबारी बनेर प्लटिङ्ग गर्दैछन् । कसैको जनप्रतिनिधि बनेपछि ठेक्का मौलाएको छ ।
नेताको हिसाव किताव जनताले हरेक ५÷५ वर्षमा गर्नेछन् । स्थानीय निर्वाचान आउन अव २ वर्ष पनि छैन । केन्द्रको निर्वाचन पनि आज भन्दा भोली भन्दा आउछ । अनि जनतालाई के देखाएर भोट माग्ने होला ?
गाँउमा विकास देखाएर भोट बटुल्न आफूले कति काम गरे भनेर समिक्षा गर्ने फुर्सद यहाँ कसैलाई छैन । सबै बजेट कसरी मिलाउने भन्ने दाउमा छन् ।
गोदावरी नगरका सातदोवाटो–चापागाँउ,नख्खु टिकाभैरव र सातदोवाटो गोदावरी सडक जीर्ण छन् । गोदावरी नगरपालिकाका मेयर टोल टोलका बृद्ध बुद्धा बटुलेर माला लगाउनमै व्यस्त छन् । हरेक चुचुरोमा भ्यूटावर बनाउने योजना बनाउन मै व्यस्त छन् ।
हरेक दिन विजुली जान्छ समन्वय छैन । पानीको हाहाकार छ । तर वास्ता छैन ।
ललितपुरमा मात्रै गोदावरी जंगल, देविचौरको देउराली र दलचोकीमा ३ वटा भ्यूटावर बन्दैछ । सामुन्ने वारी र पारी करोडौं बजेट लगाएर बनाउने त्यो भ्यूटावरले गाँउका गरिव जनतालाई के दिन्छ ? यसको जायज उत्तर नखोजी गरिने विकाशको कुनै अर्थ छैन ।
भ्यूटावर बनाउनै हुदैन भन्ने आशय होइन । हाम्रो विकाशका प्रथमिकता के हुन् ? र हामीलाई भ्यूटावरजस्ता पर्यटकीय संरचना कति चाहिन्छ ? भन्ने निक्यौल गरेर मात्रै यस्ता संरचना बनाउनुपर्छ । विकाशको पहिलो पुर्वाधार सडक हो । दश ठाँउमा भत्केको सडकबाट हिलो र धुलो खादै कोही पनि भ्यूटावर चड्न जाँदैन ।

प्रतिक्रिया दिनुहोस्