Logo

‘ओली सरकार कसै न कसैको घेराबन्दीमा छ’

१२ साउन ०७६, काठमाडौ । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी गरेका छन् । उनले थपे,‘सबै मोर्चामा यो सरकार असफल छ ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवल वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप लगाए । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहाँसिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’
सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारवाही गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘हत्यारा पत्ता लगाउनु त परै जाओस्, सरकारको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आईरहेका छन् । अहिले महिलाहरुको अस्मितामाथि खेलबाड भैरहेको छ । सरकार मुलुकमा शान्ति, अमनचयन कायम गर्न पूर्ण रुपमा असफल भैसकेको छ ।’
सरकार दिनहुँ काण्डै काण्डमा फसेको पनि यादवको आरोप छ । ‘देशको आर्थिक अवस्थामा गम्भिर समस्या छ’,उनले भने,‘अर्थतन्त्र कमजोर भएको छ । संचिति रकमले जम्मा ८ महिनाभन्दा बढि धान्न सक्ने अवस्था छैन् । अब यसलाई साधारण प्रक्रियाबाट धान्न सकिने अवस्था छैन् । सरकारले ¥याडिकल कदम चाल्नुपर्छ । व्यापार घाटा बढिरहेको छ । शोधान्तर बढेको छ । नेप्से पनि कमजोर भएको छ ।’

प्रतिक्रिया दिनुहोस्