Logo

रातो मच्छिन्द्रनाथ रथयात्राबारे रोचक किम्बदन्ती


२० असार ०७७, ललितपुर । उपत्यकाकै लामो समयसम्म बनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा किन र कहिलेदेखि मनाउन थालियो होला ? रथयात्रा चलनमा ल्याउने को होलान् तपाईलाई यस्तै जिज्ञाशाले कुत्कुती लागिरहेको छ कि ?
मच्छिन्द्रनाथ रथ यात्राबारे यस्तै रोचक किम्बदन्ती छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पर्ने नागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनलाई मनाउन सकिने र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्रसमेत मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएका थिए ।
सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरू बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।
समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नून राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नून थियो भनी जानकारी दिइयो । नूनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।
मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । भक्तपुरका राजा र काठमाडौँका गुरुले मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथ यात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितका नाममा रथ तान्ने गर्दछन् ।

पहिले पहिले जात्रामा उपत्यकाका तीनै जिल्लावासीको संलग्नता हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाःबहालबाट सुन्धारासम्म काठमाडौँवासीको । निकै पहिलेदेखि नै भक्तपुरवासी र काठमाडौँवासीले रथ तान्न आउन छाडिसकेका छन् । सुन्धाराबाट लगनखेलसम्म पाटनवासीले तान्ने गरेका थिए । एकदशकयता रथ तान्ने काम ज्यापु समाज यलले गर्दै आएको छ । रथयात्रा पुल्चोकबाट शुरु भई गाःबहाल, मङ्गलबजार, थट्टीटोल, लगनखेल हुँदै जावलाखेल पु¥याइन्छ । जावलाखेल पु¥याएको चौथो दिन साइतअनुसार भोटो देखाउने जात्रा हुन्छ । राष्ट्रप्रमुख समक्ष भोटो देखाउने कार्य सम्पन्न भएपछि जात्रा पनि सकिएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्