Logo

दक्षिण ललितपुरको साँस्कृतिक धरोहर कालेश्वर

निर्माणाधिन कालेश्व्र मन्दिर । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर
२ पुस ०७७, कालेश्वर । दक्षिण ललितपुरको कालेश्वरमा २ अग्ला चुचुरा छन् । त्यही अग्लो चुचुरोमा ऐतिहासिक सास्कृतिक धरोहरको रुपमा रहेको कालेश्वर महादेवको सुन्दर मन्दिर छ ।
यो रमाइलो ठाँउमा रहेको मन्दिर दक्षिण ललितपुरको आर्कषक पर्यटकीय स्थल हो । यहाँ आजकल राजधानी काठमाडौंलगायत विभिन्न ठाँउबाट पर्यटक ओइरिन्छन् ।
हरेक साउनको सोमबार दक्षिण ललितपुरमा महिला कालेश्वर मन्दिरमा पूजा गर्न पुग्छन् । माघ महिनामा सुरु हुने स्वस्थानीको ब्रतकथाको बेला पनि यहाँ उत्तिकै भक्तजन पुग्छन् ।
यो कालेश्वर महादेव मन्दिर ललितपुर चापागाँउस्थित प्याङ्गगाँउबासीको कुलदेवता हो । ३५ किलोमिटर टाढा रहेको मन्दिरमा आएर सधै पूजा गर्न सम्भव हुँदैन । त्यसैले प्याङ्गगाँउमा पनि कालेश्वर मन्दिरको आगँछे छ । प्याङ्गगाँउको आगँछे(देवस्थल)मा हरेक महिना औंसी र चर्तुर्थीमा २ पल्ट पूजा हुन्छ । यो आगँक्षेमा सबै जान पाउदैन् ।

उचाईबाट हेर्दा कालेश्व्र मन्दिर

हरेक चैत्र पूर्णिमाको दिन प्याङ्गगाँउलेहरु मेला भर्न कालेश्वर आउने गर्दछन् । गाडीको सुविधा नहुँदा प्याङ्गगाँउदेखि नै हिडेर कालेश्वर पुग्ने गरेको स्थानीय माइला महर्जन बताउँछन् ।
कालेश्वर मन्दिर पुगेपछि त्याँहाका स्थानीयले प्याङ्गगाँउका पुजारीलाई जिम्मा दिने गर्दछन् । मन्दिरको भेटी प्याङ्गगाँउले पुजारीले उठाउछन् । मेला सकिएपछि आधा प्याङ्गगाँउ ल्याउछन् भने आधा कालेश्वर डाँडामै लुकाएर राख्ने चलन छ । त्यो भेटी अर्को बर्ष जात्रामा आउने जात्रालुले खोज्छन् । लुकाएको भेटी जसले पाउछ उसले कालेश्वर महादेवसँग मागेको बरदान पाउने जनविश्वास छ । दिनभर घाममा सुकाएपछि त्यो नयाँ भेटिमै मिसाइन्छ । मन्दिरबाट ल्याएको भेटि प्याङ्गगाँउमा भोज गरिन्छ ।

पहाडको चुचुरोमा कालेश्वर मन्दिर ।

चापाँगाँउ प्याङ्गगाँउबासी नेवारी समुदाय आदिम कालमा दक्षिण ललितपुरको शंखुमा बसोबास गर्थे । शंखुमा रहँदादेखि नै कालेश्वर महादेवलाई कुलदेवता मान्दै आएको अनुमान लगाउछन्,चापागाँउका चरसुन्दर महर्जन ।
राजा अरि मल्लको पालामा बनेका शिलापत्र प्याङ्गगाँउमा भेटिएको आधारमा त्यसबेला भन्दा अघि नै शंखु छोडेको हुन् भन्न सकिने महर्जनको मत छ ।
भक्तपुरको मल्ल परिवार शंखु आएर बसेका जनश्रृति रहेको महर्जन बताउँछन् । शंखुमा बस्दा स्थानीय महिलासँग विवाह गरी घरजम गरेको र त्यही बसेको भनाई छ । प्याङ्गगाँउ ंबासीलाई गामल पनि भनिन्छ गामलको अर्थ गाउँले हो । गाँउका मल्ललाई अपभ्रश भई गामल बनेको स्थानीय बताउँछन् ।

कालेश्वर मन्दिरभित्र रहेको शिवलिंग ।

शंखु बसेको केही समयपछि ती परिवार आफ्नो जन्मथलो खोज्दै भक्तपुर पुगे । त्याहाँका राजाले बाँसको प्याङ्गपाथी बनाएर गरिखानका लागि लालमोहोर लगाइदिएको आफ्ना बाजे ंबराजुहरुको भनाई उदृत गर्दै महर्जनले बताए । त्यसै बेलादेखि प्याङ्गगाँउबासी नेवारी समुदयले मानापाथी बनाइ बेचेर जीवनयापन गर्दै आएका हुन् ।
त्यसबेलादेखि प्याङ्गगाँउबासीले जंगलबा बाँस काट्न कुनै निकायमा पनि अनुमती लिन नपर्ने व्यवस्था छ ।

मन्दिरको तस्विर खिच्दै पर्यटक ।

कालेश्वरको उत्पती
शंखुमा बस्ने बेला जंगलमा बाँस काट्न जाँने क्रममा एक गामलले गिम्दीस्थित देउता खोलामा लहराबाट दुधजस्तो पदार्थ तपतप चुहिएको देखे । लहराको टुप्पो खोज्दै जाँदा कालेश्वरको डाँडामा महादेवको शिवलिंग भेटेको जनश्रृति छ ।
कालेश्वर कसरी बन्न पुग्यो भन्ने विषयमा छुट्टै कथा छ । प्राचिन कालमा काल पुरुषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कालेश्वरमा कठोर तपस्या गरे । काल पुरुष गोटिखेलस्थित घड्घडा नदि र मसानखोलाको जंगम रहेको वैर्तणीबाट जल र सिसौनस्थित चन ढुंगाको चन्दन घोटेर कालेश्वरमा चढाउने गर्दथे ।

सिसौनमा रहेको चनढुंगा ।

यही चन्दन ढुंगाको नामबाट अपभ्रश भई अहिले चनढुंगाको नामले चिनिन्छ ।
कठोर तपस्याबाट प्रभावित भएर कुनै मध्यरातमा महादेव प्रकट भई कालपुरुषको नामबाट स्थापना गरेको शिवलिंग उनकै नामबाट प्रख्यात हुनेछ भनी वरदान दिए । साथै संसारका सबै जीवधारीहरु तिम्रै अधिनमा रहेनेछ भनेर वरदान दिएको शास्त्रमा उल्लेख छ ।
कालेश्वर महादेवको सन्र्दभमा अर्को पनि कथा रहेको पाइन्छ । सतिदेविको मृत्युपछि महादेव पागलजस्तै बनेर उनको शरिर बेकेर संसारभर शयर गर्दा कालेश्वरमा कण्ठ खसेको त्यस ठाँउमा कालेश्वर महादेव उत्पती भएको र शिव शक्ति स्वरुपमा रहेको श्री स्वस्थानी ब्रतकथामा उल्येख छ ।

 

प्रतिक्रिया दिनुहोस्