Logo

भक्तपुरमा ‘सम्पदा पदयात्रा’ (तस्विरहरु)

१७ असोज ०७७, भक्तपुर । अंग्रेजी नयाँवर्ष २०२१ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले शुक्रबार सम्पदा पदयात्रा आयोजना गरेको छ । नगरपालिकाले ओस्ला नेपालको संयोजनमा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकमा आयोजना गरेको पदयात्राको वाग्मती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेपछि बोडेको कुमारी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मध्यपुरथिमि भित्रका विभिन्न सम्पदाहरुको तस्बिरसहितको जानकारी गन्तव्य मध्यपुर थिमि पर्यटकीय हाते पुस्तिका विमोचन गरिएको थियो ।

थिमिलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउन यहाँका विभिन्न मूर्त तथा अमूर्त सम्पदाहरुको अवलोकनका साथै बाजागाजाका साथ विभिन्न डबलीहरुमा सांस्कृतिक नाच, झाँकीसहित दाफा भजन प्रर्दशन गरिएको थियो । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनर्निर्माण भएका ऐतिहासिक सम्पदा, पोखरी, पाटी, मन्दिर, पार्क तथा ढुङ्गेधाराको अवलोकन गरिएको थियो ।

पदयात्रामा वाग्मती प्रदेशसभाका सदस्यहरु डा राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, सरस्वती वाटी, पुरातत्व एवं संस्कृतिविद्, स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको सहभागिता थियो ।

एक हजारभन्दा बढी व्यक्ति सहभागी रहेको पदयात्रामा शङ्खधर चोकबाट तछुटोल, विष्णुवीर, बालकुमारी, वामुनेटोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, भुँलाखेल, हात्तीमहाङ्काल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बाहाखा बजार, गार्चा चोक, नगदेश द्योः छेँ, सिद्धि गणेश, बुद्ध विहार, विष्णु तकीँ, नछुटोल, लाछी, भाँगु, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर, कुमारी द्योः स्क्वायरमा पुगेर सम्पदा यात्रा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीका साथै महाकारी, मञ्जुश्री, अष्टमात्रिका नाचलगायतका सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको समापनमा सभामुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले नेपालमै पहिलो पटक ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत विश्व मानचित्रमा चिनाउन सफल भएको बताए । भूकम्पले भत्काएको मात्रै नभई यहाँको मूर्त, अमूर्त कलाहरुको संरक्षण गर्दै यसलाई विश्वभर चिनाउन सफल मध्यपुरथिबिाट अरु नगरपालिकाले पनि सिक्नु पर्नेमा जोड दिँदै उनले मध्यपुरथिमिमा तीन वर्षको अवधिमा भएको ठूलो परिवर्तनले नगरप्रमुखको क्षमता र सोचको आङ्कलन सहजै गर्न सकिने बताए ।  पुरातत्वविद् प्रकाश दर्नाल, शङ्खधर साख्वाः प्रतिष्ठानका ज्ञानराम श्रेष्ठ लगायतले मध्यपुरथिमि नगरक्षेत्रमा कतिपय अन्यत्र नभएका गुमुज, शिखर छानोशैलीका सम्पदाहरु रहेको चर्चा गरेका थिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचीन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गरेको बताए ।  ओस्ला नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक राजेश श्रेष्ठले मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापी रूपमा प्रचार गर्ने उद्देश्यले पदयात्राको आयोजना गरेको बताए ।

 

 

 

 

 

तस्वीरः रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्