Logo

काभ्रेमा पुरानो बस्तीलाई होमस्टेसहितको नमूना बनाइने

२९ पुस ०७७, बनेपा । भूकम्प गएपछि भत्किएका यहाँका पुराना घरका परम्परागत शैलीलाई संरक्षण गर्ने गरी निर्माणको अभियानसहित यहाँका बासिन्दा जुटेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौरमा रहेको पुरानो बस्ती २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्ने क्रममा घरबाससहितको अवधारणामा बस्तीलाई नमूना एकीकृत बस्तीको रूपमा निर्माण गर्न स्थानीय बासिन्दा लागिपरेका हुन् । नेवार समुदायको बसोबास रहेको सो बस्ती करीब ४०० वर्ष पुरानो भएको जानकारहरू बताउँछन् । अहिले सो बस्तीलाई सफा, सुन्दर र हराभरा बनाउनका लागि यहाँका बासिन्दा क्रियाशील छन् । भूकम्पले त्यहाँका समुदायका धेरैजसो घर क्षति बनाएपछि पुरानै शैलीमा पुनःनिर्माण गर्ने क्रम जारी रहेको छ ।

त्यससँगै बस्तीबीचमा रहेको भीमसेन मन्दिर पूर्णरूपमा क्षति पु¥याएपछि पुरातत्व विभागको सहयोगमा पुनःनिर्माणको काम अगाडि बढिरहेको छ । स्थानीय मोहनदास श्रेष्ठका अनुसार काभ्रेपलाञ्चोकको पलाञ्चोक र साँगा तथा काठमाडौँको साँखुबाट गएर पिपलचौरमा बसोबास गरेका नेवार समुदायका करीब ८० घरधुरी रहेका छन् । सो बस्ती पुनःनिर्माणको क्रममा पुरानो शैलीलाई संरक्षण गर्ने गरी काम भइरहेको छ ।

‘‘तीन ठाउँबाट आएर पुर्खाहरूले बसाएको हाम्रो यो पुरानो बस्तीलाई नयाँ ढङ्गले विकास गरी नमूना एकीकृत बस्ती निर्माण गर्न विभिन्न सङ्घ-संस्थाको सहयोगमा अगाडि बढिरहेका छौँ’’ उनले भन्नुभयो, “यहाँको पुरानो संस्कृति भनेको माघ महिनाको द्वादशीका दिन लाग्ने भीमसेन जात्रा हो, जुन सबैभन्दा पुरानो छ ।”

यहाँ भीमसेनको रथ खट जात्रा र कृष्णाष्टमीमा कृष्ण खट जात्रा मनाउने गरिन्छ । समुद्री सतहबाट करीब एक हजार ३०० मिटर उचाइमा रहेको सो बस्ती नेपालको पूर्वी व्यापारिक नाकाको रूपमा समेत रहेको छ । तीन ठाउँबाट आएर बसोबास गर्दै आएका नेवार समुदायको तीन छुट्टाछुट्टै गुठी रहेको र सोही गुठीद्वारा कृष्णाष्टमी जात्रा र भीमसेन जात्रा मनाउने गरेको उनले बताए ।

अर्का स्थानीय युवा प्रकाश श्रेष्ठले नमूना एकीकृत बस्ती निर्माणको प्रक्रियासँगै बस्तीलाई सफा र स्वच्छ राख्ने काम सबैको हातेमालोमा भइरहेको बताउनुभयो । रोटरी सामुदायिक सङ्घ पिपलचौरका अध्यक्ष सविना श्रेष्ठले युवाको सक्रियतामा आफ्नो बस्तीलाई नमूना एकीकृत बस्तीको रूपमा विकास गर्ने प्रक्रियामा रहेको बताए । ए । रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले बस्तीलाई नमूना बनाउने काममा रोटरीले आवश्यक सहयोग गरिरहेको बताए ।

पिपलचौरका नेवार बस्ती शान्त, मनोरम र पुराना बस्ती भएका कारण यहाँका नेवार समुदायको पहिचान स्थापित एवं संरक्षणका लागि संस्थाले पहल गरिरहेको उहाँको भनाइ छ । अहिले सो बस्तीमा क्लबको सहयोगमा सरसफाइ अभियान निरन्तर सञ्चालन गर्नुका साथै सांस्कृतिक र पर्यटकीय बस्तीको रूपमा विकास गर्न आवश्यक प्रक्रियालाई अगाडि बढाइरहेको छ ।

रोटरी सामुदायिक सङ्घको अगुवाइमा त्यहाँका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न घरबास निर्माण कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको सङ्घले जनाएको छ । सो ठाउँमा विसं १९७२ को अभिलेख तथा मन्दिरमा प्राचीनता झल्काउने स्मारक यथावत् रहेको कारण त्यहाँको बस्ती धेरै पुरानो भएको स्थानीय बासिन्दा बताउँछन् ।

बस्तीको बारेमा थप प्रचार गर्न र एकीकृत नमूना बस्ती बनाउनका लागि आवश्यक कृषि, हरियाली, सरसफाइ घरवास(होमस्टे), गोबरग्यास र खानेपानी, प्रचारप्रसारका साथै तालीमको व्यवस्थापनलगायतको काममा रोटरीले सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रशासन प्रमुख मनिश योगलले बताए ।

सो गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउनका लागि सबै मिलेर लागिरहेको उहाँको भनाइ छ । त्यससँगै पिपलचौरको पर्यटन प्रवद्र्धनका लागि पिपलचौर–ऐंसेलुचौर–डाँडागौडा–हुँमागाईथोक–दाप्चा–श्यामपाटी–नमोबुपाँडेगाउँ–खोलीखेत हुँदै पिपलचौर पदयात्रासमेत गर्न सकिने सो ठाउँमा पिपलचौर–मथुरापाटी–फुलबारी–नमोबुद्ध–दाप्चा, पिपलचौर–भकुण्डे–तेमाल तथा धुलिखेल–काभ्रेकोट–फस्कोट–फुलवारी–मथुरापाटी पिपलचौर साइकल यात्रासमेत गर्न सकिने सम्भावना रहेको रहेको छ ।

यस बस्तीमा अहिले सांस्कृतिक संरक्षणको अभियानसँगै होमस्टे सञ्चालन गरी स्थानीय कृषि उत्पादनको जैविक स्वादिष्ट परिकारको व्यवसायीकरण एवं बसाइँको अनुभव सँगाल्न सकिने गरी व्यवस्थापन गर्ने कामको प्रक्रिया अगाडि बढिरहेको रोटरी सामुदायिक सङ्घ पिपलचौरले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समितिको श्रमदान गरी रु एक करोड ६६ लाखमा सो बस्तीको बीचमा रहेको बाटोमा ढुङ्गा छाप्ने कामसमेत सम्पन्न भई हस्तान्तरण गरिसकेको छ ।

धुलिखेल नगरपालिका–११ डाँडागाउँको बिपी राजमार्गबाट बुच्चकोट हुँदै सो बस्तीसम्म पुग्ने मोटरबाटोको सुविधा भएकाले मानिसहरूको चहलपहल निकै रहेको स्थानीय बासिन्दा मोहनदास श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्