Logo

ऐतिहासिक चापागाँउको उत्पत्ती

 

हालसालै लिइएको चापागाँउ बजारको तस्विर ।

ललितपुर खबर
१९ पुस ०७७, चापागाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउ कहिले स्थापना भयो होला ? धेरैलाई जिज्ञासा हुनसक्छ ।
इतिहास पल्टाएर हेर्ने हो भने चापागाँउ लिच्छवी कालमै स्थापना भएको बुझ्न सकिन्छ । शिलालेखमा उल्येख भए अनुसार नेपाल सम्बत् ५ सयमा नै स्थापना भएको चापागाँउका बुद्धिजीवि बासुदेव कर्माचार्य बताउछन् । उनका अनुसार त्यस शिलालेखमा रिसइविका कारण गहत पकाएर शिलालेखमा खन्याउदा अक्षर मेटिएको तर पुरातत्वविद्हरुले ५ सय सालमै चापागाँउ स्थापना गरेको उदृत गर्दै उनी त्यसताका चापागाँउ बनेको बताउछन् ।
शुरुमा चापागाँउलाई चम्पापुर भनिन्थ्यो । नेपाल सम्बत् ७ सय ११ मा चापागाँउमा मल्ल राजाले राज्य चलाएको शिलालेखमा भेटिएको कर्माचार्य बताउछन् । भन्छन्, ‘भक्तपुरका राजा राजदेव मल्लले त्यसताका नै राज्य चलाएका थिए ।’ कर्माचार्यद्वारा लिखित पुस्तक उपत्यकाका प्रसिद्ध मन्दिरहरुको परिचयमा शिलालेखबारे उल्येख गरिएको छ । पुस्तक अनुसार त्यसताकाको शिलालेखमा भन्सार बाबुचा मारा भन्ने खुखाछे भोग यायगु भनेर लेखिएको छ ।
भक्तपुरमा जेठा छोरा जन्मेपछि मुख हेर्नु हुदैन भनेर राजाले वलदेव मल्ल सँगै मल्लहरु, कर्माचार्य र देसारहरु त्यसताका नै चापागाँउ ल्याएको स्थानीय बासिन्दाहरुको कथन छ । यस क्षेत्रमा देसार, कर्माचार्य र मल्लको बसोबास छ ।

पुरानो प्याङ्गगाँउको तस्विर । तस्विर : सामाजिक संजाल

चापागाँउ बजारमा राज्य चलाउदा ताकाका विभिन्न संरचनाका अवशेष छन् । यहाँ भैरवको मन्दिर,बज्रवाराहीजस्ता मन्दिर छन् भने चापागाँउ बजारमा भन्सार पनि थियो । भन्सार नजिकैको पोखरीलाई अहिले पनि भन्सार पोखरी भन्ने गरिन्छ ।
केही समयअघि सम्म माछा धेरै आउने गरेको र त्याँहा कर उठाउने गरेको कर्माचार्य बताउछन् । चापागाँउमा राज्यकालीन यथेष्ट मन्दिरहरु छन् । यहाँ कार्तिक अष्टमीको लिने दिक्षा लिने कर्माचार्यहरुबाट पूजा हुन्छ । साथै चापागाँउमा चैत्र पूर्णिमामा बज्रवाराहीको जात्रा आगछेबाट शुरु हुने गरेको छ । चापागाँउको बुलुमा समेत जात्रा मनाइन्छ भने प्याङ्गगाँउमा पनि जात्रा मनाइन्छ । याँहा गाईजात्रामा रोपाई जात्रा समेत मनाउने चलन छ ।
चापागाँउमा मल्लहरुको दरवार क्षेत्र समेत रहेको कर्माचार्य बताउछन् । तर अहिलेसम्म दरवारका भग्नावशेषबारे केही जानकारी नभएको उनी बताउछन् । उनका अनुसार ७ सय ११ सालमा श्रीराजदेव मल्लले राज्य चलाएको बाहेक अरु कुनै प्रमाण फेला परेको छैन ।

तत्कालीन बज्रवाराही मन्दिर । तस्विर : सामाजिक संजाल

बज्रवाराही मन्दिर
बज्रवाराही मन्दिर पनि त्यसै ताका बनेको देखिन्छ । यो मन्दिर श्रीनिवास मल्लले ७ सय ८६ सालको चैत्र शुक्ल सोमबार स्थापना गरेको पाइन्छ । अहिले घना जंगल रहेको ठाँउमा त्यस बेला ताल रहेको र त्यही तालमा बज्रवाराहीको उत्पती भएको थियो । याँहा राजा श्रीनिवास मल्लले यो मन्दिर बनाएको पाइन्छ । अभिलेख अनुसार नेपाल सम्बत् ८ सय ५२ मा यो मन्दिर मर्मत गरिएको थियो । चापागाँउ पाउचटोलमा रहेको टुटेधारामा रहेको शिलालेखमा उल्लेख भए अनुसार त्यस धारा नेपाल सम्बत् ७ सय ७७ मा जिर्णोधार गरिएकोबाट नै त्यसअघि नै चापागाँउ स्थापना भएको अनुमान लगाउन गाह्रो पर्दैन ।

बज्रवाराही आगाछे । तस्विरहरु ः ललितपुर खबर

चापागाँउमा रहेको बज्रवाराहीको आगछे(देवघर)को घण्टीमा नेपाल सम्बत् ७ सय १९ लेखिएकोबाट चापागाँउ त्यसअघि नै स्थापना भएको अर्को प्रमाण भेटिन्छ । नेपाल संवत ७ सय १७ मा आगछे.को निमार्णपछि बज्रवाराही मन्दिर बनाइएको कारण आगछे पहिले नै बनेको मान्न सकिन्छ ।
बज्रवाराहीको अलौकिक शक्ति रहेको कर्माचार्य बताउछन् । भन्छन्,‘बज्रवाराहीको जंगलको पात वा सिन्को मात्रै घरभित्र लगे तर्साउने पिर्ने गर्छ ।’बज्रवाराहीको काग पिजडामा राखेर लगेर पाटीमा बस्ने हो भने राती कागले लिन आउने उनी बताउछन् । दिनभर झरेको पात साँझ हावाले उडाएर बाहिर लैजाने र बज्रवाराहीमा दिएको भोगको रगत राती पानी बन्ने गरेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्