Logo

ललितपुर सुनकोठीबासीको सडक अन्दोलनपछि सास्ती


ललितपुर खबर
२४ माघ ०७७, सुनाकोठी ललितपुर । आफ्नो घर अगाडि कालोपत्र नगरी अपलत्र छोडेको भन्दै ललितपुर सुनाकोठी बाङ्गेधाराका टोलबासीले चापागाँउ सडकमा अवरोध गरेपछि ललितपुरका यात्रुले सास्ती पाएका छन् ।
सडक अवरुद्ध गरेपछि ठेकेदार कम्पनी सैलुङ कन्ट्रक्सनले कालोपत्र अघि बढाउन खोज्दा स्थानीयबासीले रोकेपछि काम नभएको बताएको छ ।
स्थानीय बासीन्दाहरुले भने ढोलाहिटीबाट कालोपत्र गर्दै आफ्नो टोलमा आइपुगेपछि अलपत्र छोडेर माथितिर कालोपत्र गर्न थालेपछि अवरोध गरेको बताएका छन् । बाङ्गेधारामै घर भएकी स्थानीय सुनिता खड्काले आफ्नो टोलमा कालोपत्र नगरि ठेचोमा तर्फको सडक नखोल्ने बताइन् । भनिन्,‘त्यसैले हामीले विहीबार ठेचोतर्फ कालोपत्र गर्न सामान लैजान दिएनौं ।’

ललितपुर महानगर २६ का वडाध्यक्ष वावुराजा महर्जन बाङ्गेधारा सडक अलपत्र छोड्न नहुने भन्दै अड्डी कसेपनि ठेचोतर्फ अलकत्रा राखिएको थियो ।
बाङ्गेधारा क्षेत्रमा कालोपत्र नगरी ठेचोमा अलकत्रा राखेको सन्र्दभमा सैलुङ कन्ट्रक्सन र इन्जिनियर एक अर्कालाई दोष देखाएर पन्छने गरेका छन् । बर्षैसम्म सडक अलपत्र पार्ने गरेको भन्दै स्थानीयबासी घर अगाडि कालोपत्र नहुने शंका गर्दै आन्दोलित भएको बताएका  छन् ।
विहीबार स्थानीय बासिन्दाले निर्माण सामाग्री लैजान नदिएपछि ठेकेदार कम्पनीले बाङ्गेधारा क्षेत्रमा अलकत्रा राखेको छ । शुक्रबार राती मेसिन विग्रेको भन्दै गाडी फर्काएको थियो ।
सैलुङ कन्ट्रक्सनका प्रतिनिधिका अनुसार मौसमले साथ दिए अझै सोमबारसम्म सडक खुल्दैन पानी परे एक हस्ता पछि मात्रै कालोपत्र हुन्छ ।
मध्य तथा दक्षिण ललितपुर छिर्ने नाकाको रुपमा रहेको चापागाँउ सडक अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती व्यहोर्न बाध्य छन् । सातदोवाटो र धापाखेलमा बाटो अबरुद्ध रहेको सूचना नराख्दा पनि धेरै यात्रु अलपत्र पर्ने गरेका छन् ।

ठेचोका रमेश बराल भने कालोपत्र नगर्दा आफ्नो पसल थुन्नु परेको बताउछन् ।भन्छन्, बाटो नखुल्दा सबैलाई सास्ती छ ।
सैलुङ्ग कन्ट्रक्सनका एक प्रतिनिधिले भने सडक अवरोधको सूचना नराखे पनि प्रहरीले बाटो देखाउनु पर्ने बताए । भने, ‘हाम्रो काम सडक बनाउने हो । यसको जिम्मेवारी अरुले पनि लिनुपर्छ ।’
धेरै यात्रुहरु सुनाकोठी चौताराबाट सिभिल होम हुँदै ठेचो निक्कने गरेका छन् । तर साँधुरो बाटो र कच्ची हुँदा मोटरसाइकल मात्रै जान सम्भव छ । गाडीहरु भने फर्काएर धापाखेलको बाटो चापागाँउ निस्कने गरेका छन् । धापाखेलको बाटो समेत साँघुरो हुँदा यात्रु घण्टौंसम्म जाममा पर्ने गरेका छन् ।
चापागाँउ सडक अवरुद्ध हुँदा गोदावरीतर्फको टौखेलबाट चापागाँउ पस्न लामो बाटो प्रयोग गर्नुपछ । एकान्तकुना छम्पी हुँदै टिकाभैरव निस्कने विकल्प भए पनि त्यो बाटो पनि धेरै घुमाउरो छ ।

 

प्रतिक्रिया दिनुहोस्