Logo

‘ललितपुरसँग मेरो विशिष्ट सम्बन्ध छ’

२५ माघ ०७७, ललितपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजकल नेपाली राजनीतिको परिधिभित्र चर्चामा छन् । अस्थिर राजनीतिको वरिपरि घुम्ने प्रचण्डको राजनीतिको चर्चा नेकपा एकतासँगै चुलिएको थियो । झण्डै तीन बर्षपछि फुटको संघारमा नेकपा पुगेपछि फेरि उनी चर्चामा रहे ।
सामाजिक संजालमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएसँगै दाहालका भाषण चर्चालायक बन्ने गरेका हुन् ।
गत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा भने प्रचण्ड फरक रुपमा भेटिए । पार्टी प्रशिक्षणको मन्तव्यको क्रममा उनले ललितपुरसँग आफ्नो निकटता दर्शाए । ललितपुरसँगको आफ्नो निकट सम्बन्ध प्रचण्डले यसरी सम्झिए ः
म ललितपुरको त होइन तर राजनीतिक जीवनको धेरै उर्वर हिस्सा मैले ललितपुरमा विताएको छु । २०४६ सालपछि एकता केन्द्र बनाउदा म ललितपुरको कुम्मेश्वरमा बस्थे । म कुम्मेश्वरमा ६ बर्ष बसेको छु । त्यतिबेलाका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको अभिभावकत्वमा बसेकोे थिए । पञ्चायत विरोधि बेला थियो । त्यसबेला म च्यासलमा भुमिगत रुपमा बसेको थिए ।
कुम्मेश्वरमा बसेर मैले जनयुद्धको सबै तयारी गरेको थिए । जति दस्तावेजहरु लेखिएका थिए ती सबै कुम्मेश्वरमा बसेर लेखिएका थिए । यहीका जनताका मार्या र ममता र यहीका जनताका भावनासँग सहकार्य गरेर मैले जनयुद्धको तयारी गरेको थिए ।
शान्ति प्रकृयामा आउनेसँग पनि ललितपुरकै सम्बन्ध छ । मैले ललितपुरमा आएर शान्तिप्रकृया अगाडि बढाएकोे हुँ । र अहिले म ललितपुर खुमल्टारमा बस्छु ।
यस्तो किन भयो होला ? म यसको ऐतिहासिक कारण देख्छु । उहिले पञ्चायत कालमा शुरुवातमा ललितपुरलाई पेकिङ्ग मानिन्थ्यो । यहाँका जनता, किसान,युवा र व्यावसायीहरु शान्तिकारी थिए । यो लालकिल्ला जस्तोगरी नेपालभरि चिनियो । ठूल्ठुला किसान नेताहरु, कम्युनिष्ट पाटीका संस्थापक नेताहरु ललितपुरबाट पनि जन्मेका थिए ।

त्यसबेला आन्दोलनमा ललितपुरको भूमिका अग्रणी थियो । म ०४६ सालको जनआन्दोलन सम्झन्छु । ललितपुरबाट जनताको जव लस्कर लागेर जव खुलामञ्चतिर जान थालेपछि त्यसले एउटा नयाँ तरंग पैदा गरेको थियो । यहाँका जनताले ललितपुर कव्जा गरेपछि त्यसबेलाको आन्दोलन निर्णायक भएको म प्रत्यक्षदर्शी हुँ ।
तर अहिले यो ललितपुर अलि सुस्ताएको हो कि ? ललितपुर थाकेको हो कि? ललितपुरले अलि अल्छी गरेको हो कि ? भनेको जस्तो लागेको हो । पहिले एक पल्ट हारियो पनि । गठबन्धनपछि त जितियो ।
तर अहिलेको आन्दोलनमा जति ललितपुर जोडदार रुपमा जाग्नु पर्ने हो अलि नजागेको हो कि ? ललितपुरले झारा मात्रै टार्न खोजेको हो कि भनेको जस्तो देखिएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्