Logo

सुन्दर हिमाल देखिने ललितपुरका ७ गन्तव्य

ललितपुर खबर
२७ पुस ०७७, चापागाँउ । शनिबार वा अरु छुट्टीको दिन विताउन के गर्ने होला ? कोरोना माहामारीका कारण घरभित्रै बसेर वाक्क दिक्क भएका यात्रुहरुलाई अझै घुम्ने रहर होला । तर कहाँ जाने ? कसरी जाने ? खान बस्न पाइन्छ ? यस्तै कयौं प्रश्नले तपाईलाई पनि पिरोलिरहेको हुनसक्छ ।
राजधानी नजिकै यस्ता गन्तव्य छन्, जो हामी अनविज्ञ छौं । घुम्ने रहर भएर पनि बाटो नपाएर अलमल्ल छौ । न त बाटो देखाइदिने कोही नै छ ।
याँहाका डाँडा पाखाले पर्यटक लोभ्याउने क्षमता राख्छन् । तर सरकारका योजना र पर्यटकीय पुर्वाधारका अभावमा हामीले पर्यटकहरुलाई गाँउ गाँउमा स्वागत गर्न सकेका छैनौं ।
राजधानी वरपरका सबै टाकुरा र चुचुराहरु भ्यूटावर हुन् । यहाँका गन्तव्यबाट उत्तरतर्फका सुन्दर हिमाल देख्न पाइन्छ । सही समय र मौसममा यी चुचुरा चढ्ने हो भने हिमालको मनमोहक दृश्य देखिन्छ ।
ललितपुरका यी टाकुराहरुबाट अन्नपुर्ण रेन्जदेखि सगरमाथासँगै उत्तरपुर्वी दिशाका कञ्चनजंगा आसपासका हिमालहरु समेत देखिन्छ । यहाँबाट मनास्लु,गणेश, लाङ्गटाङ्ग, दोर्जे लाक्पालगायत हिमाल राम्रोसँगै हेर्न सकिन्छ ।

१.फुल्चोकी
राजधानी नजिकको अग्लो चुचुरो फुल्चोकी एउटा रमाइलो गन्तव्य हो । फुल्चोकीमा रेडियो नेपालको अग्लो टावर छ । त्यही रुघेर सेना बसेको छ । खुला आकाशमा फुल्चोकी माईको मन्दिर छ । यहाँ त्रिशुलै त्रिशुल गाडिएको देख्न सकिन्छ । ढुंगाका देवता विराजमान छन् याँहा ।
नेपाली सेनाको अनुमतीमा फुल्चोकी चुचुरोमा टेक्न पाइन्छ । हिउ परेको मौसम फुल्चोकी अझ रामो लाग्छ । हिउ खेल्ने बेला फुलचोकीमा काठमाडौंका युवा झुम्न्छिन् । काठमाडौं उपत्यका र वरपरका हिमाल हेर्न फुल्चोकी सही ठाँउ हो । काठमाडौं उपत्यकाकै अग्लो चुचुरोको रुपमा परिचित फुल्चोकी २८ सय मिटर अग्लो छ ।
यहाँबाट दक्षिण ललितपुर र काभ्रेका असंख्य चुचुरा एकै पटक हेर्न सकिन्छ । फुल्चोकबाट दक्षिणतर्फ विरगञ्ज आसपास रातको समयमा पिलपिल बत्ती बलेको देखिन्छ ।
जाने बाटो
फुल्चोकी जान ललितपुरको सातदोवाटो निस्कनुस् । सातदोवाटोबाट हात्तिवन, हरिसिद्धि,ठैब, बाँडेगाँउ,टौखेल हुँदै गोदावरी वसपार्क पुग्नुस् । गोदावरी वसपार्कसम्म लगनखेलबाट सार्वजनिक बस पाइन्छ । आफ्नै सवारी साधन हुनेलाई झन् सझिलो छ ।
यहाँबाट फुल्चोकी करिव नौ किलोमिटर जंगलको मोटर बाटो छ । मोटरबाटो जान सझिलो छ । तर घुमाउरो छ । छोटोबाटो धेरै बाटो करिव करिव मेटिएको छ । हराइला होस गर्नुस् ।
गोदावरी जंगल डरलाग्दो छ । घना जंगलमा बाघ भालुको डर हुने नै भयो । चोरीको समाचार पनि बेला बेलामा आइरहन्छन् । एक्लै दुक्लै हिड्नु खतरा छ । जंगलको यात्रा पट्यार लाग्दो छ । तलबाट केही देखिन्न । जति माथि गयो उती नै सुन्दर फाँटहरु, हुस्सुले ढाकिएको शहर र छलंगै खुलेको हिमाल देखिन्छ ।
बोक्ने कुरा
पानी बोक्नुस् । डाँडामा पानी छैन । तिर्खा लाग्छ । खाजा लैजानुस् । हिड्ने हो भने लठ्ठी चाहिन्छ । सकेसम्म चकलेट बोक्नुस् । भोक मेटाउछ । बोक्न भारी हुदैन । घाममा हिड्न छाता, सजिलो जुत्ता अनिवार्य छ ।
फुल्चोकीको टुप्पोमा खाने बस्ने सुविधा छैन भनेर बुझ्दा हुन्छ । चिया पाउरोटी खान पाइएला । अरु पाइदैन । जंगलमा बस्ने सुविधा छैन ।


२.दल्चोकी
दलचोकी अर्को हिमाल देखिने गन्तव्य हो । काठमाडौंको दक्षिण भेगमा रहेको दल्चोकी महाभारत पहाड श्रृखलाको छेउमा पर्ने हुँदा मृग हरिण र चित्तलका बथान पनि बेला मौकामा आइपुग्छन् । जंगली हावापानीका कारण दल्चोकी गर्मी मौसममा शित्तल हुन्छ ।
माघ फागुनमा दल्चोकीको पहाडमा गुराँस फुलेर राताम्मे हुन्छ । सिजनमा जंगलभरि सुनगाभा फुलहरु फुल्छन्, गाँउघरमा ढकमक्क फुलेको तोरी र फापरबारी हेर्न पाइन्छ । हिउदभर दल्चोकी सडकमा सेताम्मे तुसारो पर्छ । पानी पर्दा जहिले यहाँ हिउ पर्ने गर्छ । पहाडको शिखरमा रहेको दल्चोकी खुलेको मौका मिलाएर जाँदा रमाइलो हुन्छ ।
दल्चोकीबाट समथर उपत्यका देखिन्छ । दक्षिणतिर अनगिन्ती पहाडका थुम्का अनि हरियाली । तामाङ्ग संस्कृती अंगालेर हुर्केका गाँउले परिवेश याहााको विशेषता हो । हरेक नयाँ बर्षको दिन दलचोकीमा हिन्दु बौद्ध धर्मालम्बहिरुको भीड लाग्छ ।
जाने बाटो
शहरबासीका लागि दल्चोकीको यात्रा पनि सातदोवाटोबाटै सुरु हुन्छ । सुनाकोठी,ठेचो,चापागाँउपछि टाहाखेल हुँदै जंगलको बाटो टिकाभैरव पुग्नु जरुरी छ । टिकाभैरवबाट लेले नजानुस् । भट्टेडाँडातर्फको बाटो समात्नुस् ।
मल्ल होटलबाट अघि बढेपछि विर्केधारा आइपुग्छ यहाँ सेनाले बनाएको चौतारो छ । ओत लाग्ने टहरो छ । यहीबाट उकालो बाटो समाप्तनुस् । जंगलै जंगलको यात्रा र कच्ची बाटो यहाँको विशेषता हो । कच्ची बाटोमा बर्षा याममा हिलो चिप्लो हुन्छ । हिउदमा चाही धुलो । जंगलै जंगल सिधा हिड्नुस् । दल्चोकी पुगिन्छ ।
बोक्ने कुरा
बाटोमा स–साना होटल छन् खानविनाले मरिन्न । खाजा पाइन्छ तर महँगो । आफै बोक्नुस् । पानी पनि पाइएला तर मिनिरल वाटर जस्तो छैन राम्रो जुत्ता, छाता चकलेट पनि जरुरी छ । तर बस्न खान स्तरिय ठाँउ छैन । विहान गएर बेलुका फर्कदा राम्रो ।

३. गुप्तेश्वर गुफा
राजधानीबासीका लागि नौलो गन्तव्य हो गुप्लेश्वर गुफा । गुफा पस्न पोखरा हुइकिने बानी परेका काठमाडौंबासीका लागि दक्षिण ललितपुरको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित गुप्तेश्वर एक पल्ट पुग्नै पर्ने ठाँउ हो ।
फुल्चोकीको आडैमा रहेको गुप्तेश्रबाट हिमाल पनि देखिन्छ । पहाडको टुप्पोमा यहाँ समथर ठूलो घाँसे मैदान छ । यहाँसम्म पुग्न मोटर बाटो पुगेको छ । गुप्तेश्वर पुग्न दक्षिण ललितपुरको भारदेउ चौघरे पुग्नु पर्छ । परम्परागत घस्ती रहेको भारदेउ गाँउमा पर्याप्त पुराना घरहरु छन् । पहाडका कान्लामाथिका बाक्लो बस्ती हेर्नलायक छ ।
जाने बाटो
गुप्तेश्वर गुफा पुग्न कठीन छैन । धेरै सझिलो पनि छैन । ललितपुरको सातदोवाटोबाट सुनाकोठी,ठेचो, चापागाँउ,टिकाभैरवपछि लेले बसपार्क पुग्नुस् । याँहासम्म नियमित बस चल्छ । हुन त भारदेउ चौघरबाट चापागाँउ बजार चल्ने बस पनि पाइन्छ । तर आउने जाने खासै रुटिन छैन ।
यहाँबाट उकालो मोटरबाटो हुँदै नल्लु भञ्ज्याङ्ग पुगेपछि तेर्सो मोटरबाटो छ । भारदेउ गाँउ पुगेपछि माथिल्लो गाँउ जानुस् । अव यहाँबाट पैदल यात्रा सुरु हुन्छ ।
धेरै हिड्न मन छैन भने सिधै चौघरेबाट पनि गुप्तेश्वर गुफा जान सकिन्छ । हिड्न कठीन अनि सिधा उकालो बाटो छ । डेढ दुई घण्टाको यात्रापछि जंगलमा एउटा टहरो भेटिन्छ । सँगै एउटा रुख र त्यसको फेदमा गुफा छ । घण्ट, अविर पोलिएको ढुगाका देवता विराजमान यस ठाँउको मुख्य गुप्तेश्वर महादेवको दर्शन गर्न गुफा पस्नु पर्छ ।
यात्रा अझै टुंगिएको छैन । हिमाल हेर्न चुचुरोमा पुग्न पर्छ । झण्डै १५–२० मिनेटको यात्रा पछि ठूलो चौरमा पुगिन्छ । अनि रमाइलो पहाडी श्रृखला समथर काठमाडौं र सेता हिमालहरु देखिन्छन् ।
बोक्ने कुरा
गुप्तेश्वर गुफा पस्न टर्च लाइट चाहिन्छ । एक्लै पस्न डर लाग्न सक्छ । भारदेउबाट स्थानीय साथी लैजानुस् । जंगलमा खानेकुरा छैन । पानी चाहिन्छ । घाम पानी छल्न छाता बोक्नुस् । चकलेट, झोला र सजिलो जुत्ता पनि जरुरी छ ।

४.लाकुरी भञ्ज्याङ्ग
रमाइलो यात्राको अर्को गन्तव्य हो लाकुरी भञ्ज्याङ्ग । उत्तरपुर्वी ललितपुर मोहडामा रहेको लाकुरी भञ्ज्याङ्ग काभ्रे छिर्ने नाकाको रुपमा पनि परिचित छ ।
लाकुरी भञ्ज्याङ्ग विशेष गरी सूर्योदय र सूर्यास्त हेर्न लायक ठाँउ हो । यहाँबाट उत्तरी तर्फका गणेश, दोर्जे लाक्पालगायतका हिमाल राम्रो देखिन्छ । लाकुरी भञ्ज्याङ्ग फुल्चोकीको फेदीमा छ । यहाँका गोरेटो बाटो भए जाने यात्रुले अनेकौं सुन्दर फुलहरु देख्न सक्छन् । धेरैजसो शनिबार साइकल चढेर लस्कर लाग्नेहरुको यहाँ भीड लाग्छ ।
जाने बाटो
लाकुरी भञ्ज्याङ्ग जाने एउटै सझिलो बाटो छ । ग्वार्को हुँदै लुभ,ु लामाटारबाट उकालो लाग्ने । त्यसका लागि ग्वार्को चोक पुग्नु जरुरी छ । इमाडोल कृष्ण मन्दिर,सिद्धिपुर, लुभु वसर्पाक,लामाटार ढुंगिन हुँदै उकालो मोटर बाटो छिचोलेपछि लाकुरी भञ्ज्याङ्ग पुगिन्छ ।
यात्राका लागि राजधानीबाट काभ्रेतर्फ जाने बस पनि पाइन्छन् । तर खासै टुंगो नहुन सक्छ । बरु लगनखेलबाट ढुंगीन बसपार्कसम्मको भरपर्दो सार्वजनिक बस हाजिर छ । बसपार्कबाट झण्डै एक घण्टाको हाइकिङ्ग सम्झेर हिड्दा बेस होला । आफ्नै सवारी हुनेलाई सझिलो हुने नै भैहाल्यो ।
बोक्ने कुरा
यात्रामा बोक्ने कुरा सबै बोक्नुस् । धुलो छेक्ने कपडा बोक्दा राम्रै होला । धुले बाटोको लागि यो नै सही उपचार हुन सक्छ । यहाँ बस्न खान होटल रिसोर्ट पाइन्छन् ।


५. कालेश्वर
खुला आकाश र फराकिलो क्षितिज हेर्ने रहर गर्नेहरु दक्षिण ललितपुरको यात्रामा कसिनु आवश्यक छ । तर ललितपुरको यात्रा त हो नि भनेर खेलाची गर्नु चाही मुख्याई होला । यो कुरा बुझ्नुस कि तपाई विकट पहाडी क्षेत्रको यात्रामा हुनुहुन्छ ।
यात्राको क्रममा तपाई सुन्दै आएको तर नदेखेको सुन्दर गोटिखेलको बजारको दृश्यावलोकन गर्न सक्नु हुनेछ । ‘उहिल्यै गएको थिए’ भन्नेहरुले भुकम्पपछि आधुनिक शहरको स्वरुप लिदै गरेको गोटिखेल हेर्न सकिन्छ । पहाडको खोचको त्यो सुन्दर बजार हेर्न मज्जा नै लाग्ला ।
यहाँ नपुग्नेहरुका लागि घुम्ने ठाँउ प्रशस्तै छन् । ऐतिहासिक गढी, पहाडको माथिल्लो भिरमा अद्भुत रुपमा अड्किएको विशाल चनढुंगा,चियाखेती,लोठसल्लाको वगैचा, गाँउमा बनाउदै गरेको शुद्ध खुवाको कारखाना,झरना,माहाँकालको मन्दिरसँगै वैर्लर्णी धाम अनि विशाल पहाडको टुप्पोमा रहेका कालेश्वको मन्दिर । जहाँबाट उत्तरका हिमालहरु टलक्कै टल्किन्छन् ।
कालेश्वरबाट चैत्र बैशाखताका सूर्योदय र सूयास्तको मज्जा लिन सकिन्छ । पहाडको बाटोमा नागबेली सडक, पहराको छेउमा रंगीन कर्कटपाताले छाएको घर अनि घमाइलो दिनमा तोरीबारीको रमाइलो दृश्य शहरबासीका लागि प्रिय लाग्छन् । एकाविहानै कालेश्वर चुचुरोको गन्तव्य समात्नु सूर्योदय हेर्न मात्रै होइन थुप्रै पहाडको टुप्पोमा वादल वा हुस्सु अट्केको मनोरम दृश्य हेर्नका लागि श्रेयकर छ ।
कालेश्वरको गन्तव्य विस्तारै पर्यटकीय गन्तव्यको आकार ग्रहण गर्ने तरखरमा छ । यहाँ दर्जनको संख्यामा होमस्टे खेलेका छन् । एक घण्टा गाडीको बाटो तल गोटिखेल बजारमा पनि होमस्टे र लज पाइन्छन् । वर्तर्णी धामको धार्मिक यात्रा अर्को गन्तव्यको रुपमा जोड्न सकिन्छ ।
जाने बाटो
लगनखेलबाट कालेश्वर झण्डै ७५ किलोमिटर टाढा छ । सातदोवाटो,चापागाँउ,लेले,नल्लु,भरदेउ,चौघरे,कतवन भञ्ज्याङ्ग, गोटिखेल पराटु, सिसवन गाँउपछि कालेश्वरको चुचुरो अन्तिम गन्तव्य हो । यसका लागि अनगिन्ती उकालो ओरोलो, डाँडापाखा र घुम्ती पार गर्नुपर्छ ।
लगनखेलबाट लेलेसम्म बस पाइन्छ । तर यहाँबाट यात्रा लामो छ । चापागाँउबाट गोटिखेल जाने बस पनि पाइन्छ । तर उनीहरुको समयमा जानु पर्छ । आफ्नै सवारी हुनेहरुले कच्ची बाटोको यात्रामा जादैछु भन्ने हेक्का राखेर सवारी साधनको कन्डिसनबारे बुझ्नु राम्रो हुन्छ । ठाडो उकालो र हिलोबाटो यात्राका अप्ठ्यारा पाटो छिचोल्न तयार हुनुपर्छ । सोध्दै जादा हुन्छ गाँउलेले हाँसेर बाटो बताइदिन्छन् । जान एक दिन आउन एक दिन र बस्न एक दिन तपाईको समय तालिका हो । छोट्याउन चाहे २ दिन कम्तिमा खर्च हुन्छ ।
बोक्ने कुरा
लगेज छ ? भए राम्रो नत्र झोला बोक्नुस् । लौलिया, सावुन,ब्रस र भित्रि कपडा चाहिन्छ । चकलेट,टिस्यु पेपर,छाता र टेक्ने लठ्ठीको सिफारिस हामीले गर्छौं । बोक्ने बोक्ने निर्णय तपाईको । पसल प्रसस्तै छन् बाटोमा । तर कालेश्वरका होमस्टेमा बस्न र खान तपाईले अर्डर गर्न नभुल्नुस् ।

६. कोटडाँडा विशंखु
यो एउटा नजिकको यात्रा हो । सझिलो तर हत्तपत्त हिमाल भने हेर्न पाइन्न । सफा आकाश र खुलेको मौसम छानेर जानेहरु स्वर्ग पुगेर फर्केको अनुभूति गर्छन् ।
राजधानीको दक्षिण पहाडको एउटा सानो थुम्को हो, कोटडाँडा । बुझ्नेहरुले बुद्ध एअरको हवाईजहाज क्यास भएको ठाँउ भनेर पनि चिन्छन् । एकादशी मेला भर्ने धेरै हिन्दुहरु विशंखु नारायणको दर्शन गर्न पुगेका हुन्छन् । यो मन्दिरभन्दा आधा घण्टा पैदल यात्राको दुरी छ कोटडाँडा ।
यहाँ सानो तामाङ्ग बस्ती छ । निफिक्रि घुम्नेहरुलाई यहाँ मस्ती छ ।
यहाँ होमस्टे पनि छ, खान न बस्न । रातको समयमा कोटडाँडाको चौरमा बसेर क्याम्प फायर गर्दै राजधानीको भिलिमिलि विजुली बत्ती हेर्दै प्रियसीको अंगालोमा बाधिन होस् या वियरको चुस्कीमा झुम्न उत्तिकै रमाइलो हुन्छ ।
एकाविहानै कोटडाँडाबाट हिमालका घाम पर्दा देखिएका राता हिमालहरु हेर्न लायक देखिन्छन् । विहान शितको थोपा दुबोमा तप्केको हेर्नु,गोदावरी जंगलका चराको चिरविर,सुन्नु प्रकृतिप्रेमीहरुका लागि रमाइलो लाग्छ । यहाँबाट कचौर आकार देखिने राजधानी पनि अर्को हेर्नलायक दृश्य हो ।
शविबार जाने हो भने सिजनमा पिकनिक जानेको भीड हुन्छ । नजिकै सिरुबारी छ । सिजनमा सिरु फुलेर यहाँको मौसम विछट्टै मनमोहक हुन्छ ।
जाने बाटो

बाटो सझिलो छ । सातदोबाटो हरिसिद्धिको बाटो समात्ने अनि ठैव बाँडेगाँउ पुगिन्छ । इसिआर एफएमको मोडबाट गोदाचौर बजार हुँदै विशंखु नारायणको मन्दिर पुगेर दर्शन गर्नुस् । मन्दिर बाटैमा छ । त्यहाँबाट कच्ची बाटो सिधै जाँदा कोटडाँडा पुगिन्छ ।
सातदोबाटोबाट हिडेरै जाने हो भने एक घण्टा आधामा यो गन्तव्यमै पुगिन्छ । लगनखेलबाट गोदामचौर जाने बस जत्ति पाइन्छ । आधा घण्टा हिडे थकाइ लाग्दैन जिउ घट्छ ।
बोक्ने कुरा
यात्रा छोटो छ । खासै तयारी नगर्दा हुन्छ । रात बस्ने हो भने तोलिया, ब्रस,सावुन बोक्नुस् । नबोके होमस्टेमा पाइएला । छाता टर्च र चकलेट चाहि बोक्नुस् । साह्रो गाह्रोमा काम लाग्छ । के पर्छ के पर्दैन भन्न सकिन्न ।


७. देविचौर देउराली
यो उपत्यकाको धेरैले नसुनेका गन्तव्य हो, देविचौर देउराली । तर यहाँ पछिल्ला दिनमा पर्यटकीय पुर्वाधार विकाश भइरहेको छ । गोदावरी नगरपालिकाले देविचौरको देउरालीमा भ्यूटावर निर्माण गरेको छ । यहाँ वगैचा र चिल्ड्रेन गाड्रेनलगायतको संरचना बनाइरहेको छ ।
देविचौरको देउरालीबाट काठमाडौं उपत्यकाका छलंङ्गै देखिन्छ । काठमाडौं उपत्यकाबाट देखिने लगभग सबै हिमाल याँहाबाट हेर्न सकिन्छ ।
परम्परागत तामाङ्ग संस्कृती बुझ्न नजिकैको बुरुञ्चुलीगाँउ सँगै छ । सिजनको बेला तिनपाने बनमा ढकमक्क फुलेको लालीगुराँसले बनै राताम्मे देखिन्छ । पछिल्ला पुस्ता पिकनिकमा रमाउन देउराली पुग्ने गरेका छन् ।
जाने बाटो
यहाँ जानका लागि सातदोवाटो चापागाँउको बाटो समात्नु पर्छ । एकान्तकुना भैसेपाटी हुँदै छम्पी निस्केर पनि टिकाभैरव हुँदै जान सकिन्छ । चापागाँउ, टाहाखेल र टिकाभैरवबाट बुरुञ्चुलीको उकालो लागेर जानुपर्छ । वर्षा याममा बाटो चिप्लो हुनसक्छ । हिउँदमा धुलो उड्ने खतरा छ ।
बुरुञ्चुलीको माथिल्लो गाँउबाट तेर्सो नलागी उकालो बाटो समात्नुपर्छ । अव जंगलको बाटो आउछ । जंगल सकिने वित्तिकै जव घरहरु देखिन थाल्छन्, सम्झनुस् देउराली आईपुग्यो ।
बोक्ने कुरा
धुलोबाट बच्न बाहिरी कपडा जरुरी छ । बर्षमा हो भने छाता र जुत्ता चाहिन्छ । हिलोबाट बच्ने अरु उपाय पनि खोज्नुस् । खाने बस्ने राम्रो ठाँउ छैन । केही खाजा बोक्नुस् । विहान गएर बेलुका आई पुगिन्छ । धेरै तयारी जरुरी छैन ।

 

 

 

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्