Logo

बज्रवाराही मन्दिरवरपर फोहोरै फोहोर

मन्दिर प्रवेशदवारमा देखिएको फोहोर । तस्विरहरु : ललितपुर खबर

ललितपुर खबर
४ फागुन ०७७, बज्रवाराही ललितपुर । हिन्दुहरुको पवित्र तिर्थस्थल चापागाँउ बज्रवाराही मन्दिर परिसर आजकल फोहोरै फोहोर छ । बज्रवाराही मन्दिर अगाडि पछाडि र जंगलमा पिकनिक आउनेहरुले फोहोर फ्याक्दा याहाँ फोहोर भएको हो ।
मन्दिरपरिसरमा भेटिएका रमेश घिमिरेले फोहोरका कारण बज्रवारही कुरुप बनेको बताए । उनले भने, ‘यो व्यवस्थापनको कमजोरी हो । तिर्थस्थल फोहोर हुनु हाम्रो लाजमर्दो विषय हो ।’
बज्रवाराही जंगलको जिम्मा लिएको ज्योतिदय संघका अध्यक्ष नारायण देशारले बज्रबाराहीमा खासै फोहोर नभएको बताए । ‘खै म त फोहोर देख्दिन ।’ उनले भने, ‘शनिबार पिकनिक हुने भएकाले आइतबार अलिअलि फोहोर हुनु स्वभाविक हो ।’
बज्रवाराही मन्दिरकी पुजारी सपना देउलाले मन्दिरको फोहोर सफा गर्ने मात्र जिम्मेवारी आफुहरुको भएको बताइन् । उनले भनिन्,‘बाहिर सफा गर्न कर्मचारी राखेको छ । पिकनिक को पैसा उठाउनेले नै त्यो सफा गर्नु पर्ने हो ।’
नवराज सिलवाल र चेतनाथ संजेललगायत सासंदहरुले समेत जंगल फोहोर भएको विषयमा सार्वजनिक कार्यक्रममा गुनासो गर्दै आएका छन् । तर देशार भने, ‘ती भनाईको प्रतिवाद गर्दै भन्छन्, पहिलेको दाँजोमा हेर्नु न । पहिले जंगलभरि फोहोर हुन्थ्यो । गाडी बनभित्र हुन्थे ।’
बज्रवाराही मैया पुजारीले आफूहरुको जिम्मेवारी पिकनिक स्पोर्टमा मात्रै सफा गर्ने जिम्मेवारी रहेको बताइन् । भनिन् , ‘हामी २ जना मात्रै छौं । सबै सफ ागर्न भ्याइदैन ।’

बज्रवाराही मन्दिरपछाडि फ्याकिएको फोहोर ।

याँहा हरेक शनिबार राजधानीका विभिन्न ठाँउबाट पिकनिकका लागि सयौं सर्वसाधारण आउने गरेका छन् ।
बज्रवाराहीको मुख्य प्रवेशद्वारमा संघको कार्यालय छ । यो कार्यालयबाट पिकनिक बुकिङ्ग र पार्किङ्ग शुल्क उठाउने गरिन्छ । कार्यालयमा १ जना कर्मचारी छन् ।
संघसँग पैसा धेरै नरहेको र जंगल धेरै भएको देशार बताउछन् । उनका अनुसार बर्षको ३ देखि ४ लाख संघले आम्दानी गर्ने बताउछन् । उनी भन्छन्, ‘खर्च पनि छ ।’
बजेट अभावमा पछिल्लो समय कर्मचारीलाई आधा तलव मात्र दिने गरेको उनले बताए । भने, ‘सफ ागर्ने कर्मचारीलाई ७ हजार तलव दिन्छौं । कर्मचारीलाई ६ हजार ५ सय ।’ उनका अनुसार कार्यसमितीका पदाधिकारीहरुले लामो समयदेखि स्वयम्सेवा गरिरहेका छन् । १५ बर्षदेखि आफू संघमा रहेको देशारले बताए ।
यहाँ मोटरसाइकल पार्किङ्ग गर्दा १० रुपैया लाग्छ । पिकनिक आयोजना गर्नेसँग संघले १५ सयदेखि ५ हजारसम्म शुल्क लिने गर्दछ । संघले पानी विजुली दिने गरेको छ । ट्वाइलेटको समेत शुल्क उठाउने गरेको छ । बज्रवाराहीमा पिकनिकका लागि ९ वटा सेड प्रयोग हुने गरेको छ ।

पिकनिक सेड नजिकै फुटाएर फ्याकिएको शिशा ।

आगन्तुकले विजुलीको चीम, पानीको पाइप र धाराको टुटीलगायत सामान चोर्दा संघलाई घाटा लाग्ने गरेको देशारले बताए । उनले भने बेला बेलामा जंगलमा आगो लगाएर दुःख दिने गरेका छन् ।
जंगलमा वियरको वोत्तल फुटाउदा जंगल फोहोर हुने गरेको उनले बताए । कोरोना माहामारीअघि जंगलमा सफाई अभियान गर्ने गरिएको उनको भनाई छ ।
जंगलमा बाँदरले डस्विनको फोहोर खेलाउने र फ्याक्ने गरेकाले पनि समस्या परेको देशार बताउछन् ।
अध्यक्ष देशारले बज्रवारहीमा धेरै सकारात्मक काम भएको बताए । भने, ‘बतावरणलाई संरक्षण गरेका छौं । बाटो बनाएका छौं । बार बनाएका छौं । अपाङ्गमैत्री संरचना बनाउका छौं ।’

जंगलमा देखिएको फोहोर।

संघले सुकेको रुख काटेर बाँड्ने गरेको बताए । उनले भने,‘हामीलाई चियाँ खर्च भनेर दाउरा लैजानेले सय पचास रुपैया दिन्छन् । त्यो पनि हामी रजिस्टरमा लेख्छौं ।’ धेरै फोहोर भएकाले संघले जंगलबारमा बार लगाएको उनले बताए ।
७ बर्षदेखि काम गरेका एक कर्मचारीले पहिले भन्दा धेरै सफा भएको बताए ।
२०५२ सालदेखि संघले जंगलको व्यवस्थापन हेर्दै आएको छ । ज्योतिदय संघ एउटा सामाजिक संस्था हो । यो जिल्ला प्रशासन कार्यलयमा दर्ता गरेर संचालनमा छ । यसले हरेक वर्ष साधारण सभा राखेर स्थानीय निकाय र सर्वसाधारणसमक्ष सार्वजनिक गर्ने गरेको देशार बताउछन् ।

प्रतिक्रिया दिनुहोस्