Logo

‘पाटनका पर्यटन व्यावसायी निराश छौं’

पृथुमान खान निराश मुन्द्रमा । लेन्स : ललितपुर खबर

१५ फागुन ०७७,मंगलबजार । एक बर्षअघि ललितपुरको मंगलबजारस्थित पाटन दरवारपरिसरमा  लस्करै क्युरियो सामान बेच्ने व्यापारी बस्थे । पर्यटकहरुको भिडभाड हुने पाटनमा नेपाली कला संस्कृती झल्कने धेरै सामान बिक्रि हुन्थ्यो । क्युरियो सामान बेच्ने घुमन्ते व्यापारी पनि उत्तिकै थिए पाटनमा ।

तर आजकल सुनसान छ । यहाँ न त घुमन्ते व्यापारी छन् ।  न त क्युरियो पसलको लस्कर नै । यो हरेक दिनचौरमा १-२ पसल खुल्छन् । यहाँ  पर्यटकको भीड छैन । व्यापारी निराश मुन्द्रमा देखिन्छन् । यस्तो छ उनीहरुको दुखेसो :

विष्णु चित्रकार ।

आज व्यापार भएको छैन । हिजो पनि भएन । अनि अस्ती पनि । यस्तो व्यापार नभएको धेरै समय भइसक्यो ।

कोरोना माहामारीपछि व्यापार नै छैन । आजकल पाटनमा पर्यटक आएका छैनन् । धेरै दिन बोहोनी नै हुँदैन ।

यहाँ बसेर व्यापार गरेको २५ वर्ष भयो । हामी विदेशीको डलर नेपाल भित्राउछौं । हाम्रो योगदानले केही न केही व्यापार घाटा कम गर्न सहयोग पुग्छ । तर सरकारले हामीजस्ता सडकमा बसेर पर्यटकहरको सेवा गर्नेहरुलाई पर्यट व्यावसायी लाई सहयोग गर्न पर्छ भनेर प्याकेज ल्याउला जस्तो लाग्दैन ।

मेरो परिवारमा आमा र म मात्रै छौं । आमा बुढी भइसक्नु भयो । मेरो विवाह भएको छैन । भोलि मलाई कसले हेर्छ साह्रै चिन्ता छ । लक डाउन अगाडिसम्म परिवार पाल्न सझिलो थियो । आजकल पैसा नै छैन ।

पृथुमाया खान ।

लक डाउनका समयमा सबैतिर बन्द भयो । घरमा बसेर विरामी जस्तै भइयो । त्यसैले व्यापार गरौं भनेर हामी आएका छौं । तर र्दुभाग्य व्यापार हुँदैन । भरियालाई दिन समेत पैसा छैन । साह्रै पिडामा छौं ।

यहाँ लकडाउनअघि अरु पनि पसल थिए । यहाँका अरु पसलेहरुको आर्थिक हैसियत राम्र भएकाले आएका छैनन् ।

मैले ४५ बर्ष भयो यो क्षेत्रमा काम गरेको । मैले यस्तोृ अवस्था कहिले पनि भोगेको थिइन ।

हरेक दिन सामान पाटन दरवारसम्म ल्याउन र लैजान ७ हजार दिनुपर्छ ।

नेपालीहरुलाई मनोरञ्जन गर्न जति पनि पैसा छ । तर क्युरियो सामान किन्न नेपालीहरुसँग पैसा छैन ।

सरकारी निकायले हामीलाई वास्ता गरेको छैन । आफ्नो परिवारलाई मिलाउन नसकेको बेला हामीलाई हेर्छ भन्ने आस पनि छैन ।

पर्यटकीय क्षेत्रमा पिडामा परेकाहरुलाई हेर्नुपर्छ भन्ने कसैलाई छैन । उनीहरु नै भूडि भर्छन् ।

कमल बज्राचार्य

अहिले व्यापार जिरो छ । नेपालीहरुले कहिले काँकी हाम्रो सामान किन्दिन्छन् । सरकारले हामीलाई सहयोग गर्नुपर्छ । हामीले पर्यटकहरुलाई सहयोग गरेका छौं । राष्ट्रको अर्थतन्त्रमा केही भए पनि योगदान दिएका छौं ।  तर सरकारले केही गर्ला जस्तो चाही लाग्दैन ।

हाम्रो धेरै नोक्सान भएको छ । कहिलेकाँही काम छोडौं नजस्तो पनि लाग्छ । तर पनि छोडेर के गर्ने बुढो भइसकियो । अब कुन पेशा गर्नु । हामी  निराश छौं ।

 

 

 

प्रतिक्रिया दिनुहोस्