Logo

‘महिलाका लागि हस्तकला व्यावसायमा धेरै चुनौतीहरु छन्’

सवितासिंह महर्जन महिला हस्तकला महासंघको मेला संयोजक हुन् । उनी महासंघको कार्यसमिती सदस्यरहेकी छिन् । सविता कपडा उद्योगको प्रोपराइटर,घरेलु उद्योग महासंघमा कार्यसमिती सदस्य, ललितपुर महिला चेम्बर अफ कर्मसकी अध्यक्ष र महिला उद्योग महासंघ सदस्य पदमा कार्यरत छिन् । ललितपुर पुल्चोकमा जारी महिला हस्तकला मेलाको सन्दर्भमा ललितपुर खबरले महर्जनसंग गरेको कुराकानीको सम्पादित अंश :

 

शनिबारबाट ललितपुरमा महिला हस्तकला मेला सुरु गर्नु भएको छ । मेलाबाट कस्तो किसिमको उपलव्धि हुने अपेक्षा छ ?
मेला प्रदर्शनीबाट धेरै राम्रो भएको छ । यस्ता मेलाहरु वर्षमा एकपटकमात्र नभइ हरेक ३ महिना, ६ महिनामा हुनुपर्छ भन्ने लाग्छ । किनभने तुलनात्मकरुपमा महिला उद्यमीलाई बजारीकरणको समस्या छ, चुनौतीहरु धेरै छन् । त्यसो त महिलालाई हरेक क्षेत्रमा समस्या र चुनौती छ । विगतमा हामी सानो स्टलमा सीमित हुने गरेकोमा अहिले महिला उद्यमीहरु अन्तराष्टियस्तरमा निर्यात गर्ने अवस्थासम्म पुग्नुभएको छ । मेलाकै कारण यस्तो भएको हो । मेलाबाट खरिद बिक्रीमात्र नभइ बजार प्रवद्र्धनमासमेत सघाउ पुग्छ । अहिले कतिपय महिलाहरु टप स्पोर्टरसमेत बन्न सफल हुनुभएको छ । फेस्टजन्य सामाग्रीमा महिलाहरु अग्रणी स्थानमा हुनुहुन्छ ।

हस्तकलाका महिला उद्यमी कहाँ कहाँ छन् ?
काठमाडौंबाहिर पनि धेरै महिला उद्यमी हुनुहुन्छ । केही दिनअघि हामीले प्रदेश २ मा पनि यस्तै कार्यक्रम आयोजना गरेका थियौंं, त्यहाँ मिथिला आर्टले निकै लोकप्रियता कमाएको छ । पछिल्लो समय नेपाल हस्तकला महासंघले केन्द्रमामात्रै नभइ सातवटै प्रदेशमा हस्तकलाको प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आएको छ ।

हस्तकला व्यवसायीमा महिलो समस्या के छन् ?
हस्तकलामा मात्र नभइ हरेक व्यवसाय गर्न चाहने महिलाले विभिन्न समस्या र चुनौतीको सामना गरिरहेको अवस्था छ । सबैभन्दा पहिले त घरबाटै निस्कन संघर्ष गर्नुपर्छ । घरबाट निस्केर केही व्यवसाय चाहने महिलालाई पूँजीको पनि अभाव छ । किनभने कर्जा लिन उनीहरुसँग बैंक धितोका लागि अचल सम्पत्ति नै हुँदैन । खासगरी मध्यवर्गिय र निम्नवर्गिय महिलालाई पूँजीको अभाव छ । त्यसो त अहिले महिला उद्यमशिलताका लागि सरकारले नयाँ नीति ल्याएको छ तर त्यो पनि सहज देखिएको छैन । सरकारको नीतिअनुसार बैंकहरुले साढे ४ प्रतिशतमा ऋण दिने व्यवस्था छ, तर सहजरुपमा लिन सक्ने अवस्था छैन । म आफंैले पनि अनुभव गरेको छु कि बैंकले सुरुमा ऋणका लागि केही चाहिँदैन, प्यान, भ्याटको कागजपत्रमात्रै भए हुन्छ भन्छ तर पछि स्टक, फिल्ड भिजिट, अडिट रिर्पोटदेखि अनेकौ कागजपत्र माग्दै जाने, अचल सम्पत्ति धितो माग्ने र उद्यमीलाई मानसिकरुपमै निरुत्साहित गर्ने अवस्था छ । यस अर्थमा सरकारले महिला दिदीबहिनीहरुलाई हात बाँधेर काम गर् भनेको हो कि जस्तो पनि लाग्छ ।

मेलाहरु कहाँ हुने गरेको थियो ?
विगत वर्षहरुमा काठमाडौंको त्रिदेवी मन्दिर र वसन्तपुरमा आयोजना हुने गरेकोमा यसवर्ष हामीले ललितपुर महानगरपालिका परिसरमा आयोजना गरेका छौं । महासंघले पहिलोपटक ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेला आयोजना गरेको छ ।
 मेलाका आर्कषण के हुन् ?
सकेसम्म सबै हस्तकला सामाग्री नै समेट्ने हाम्रो उद्देश्य रहेको छ तर पनि कतिपय महिला दिदी बहिनीले हस्तकलाबाहेकका सामाग्री पनि बनाएको हुनसक्छ ।
मेलामा महिला सहभागिता कस्तो छ ?
विगतमा त खासै महिलाको सहभागिता थिएन तर विगत २ दशकयता धेरै महिला यो क्षेत्रमा लाग्नुभएको छ । म पनि यो क्षेत्रमा लागेको झण्डै २ दशक भइसकेको छ । यो क्षेत्रमा महिला सहभागिता बढ्दो क्रममा रहेको छ । त्यसैले महिला उद्यमी धेरै भएकोले मेलामा सबै महिला दिदीवहिनीलाई स्टल दिन सकिएको छैन ।


हरेक वर्ष स्टल संख्या बढाउने गर्नुभएको छैन ?
वसन्तपुरमा मेला आयोजना गर्दा ६०, ७० वटा स्टल थिए तर अहिलेको मेलास्थल सानो भएकोले ४५,४६ वटा स्टलमात्रै रहनेछन् । स्थानअनुसार स्टल संख्या घटवढ हुने गरेको छ ।
आजकल महिला उद्यमीले कस्ता किसिमका हस्तकला व्यावसाय गरिरहेका छन् ?
सबै प्रकारका हस्तकला बनाउनुहुन्छ । साना साना पोतेको मालादेखि काष्ठकला, मूर्तिकलासमेत बनाउन सक्नुहुन्छ र बनाउनु पनि भएको छ ।

यस्तो किसिमको मेला कहिले कहिले हुने गरेको छ ?
नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको छ तर गतवर्ष भने कोरोनाका कारण मेला आयोजना हुन सकेन । कोरोनाबाट व्यवसायमा परेको असरका कारण महिला उद्यमीहरुले बैंकको ऋणसमेत तिर्न नसकेको अवस्थामा स्कटमा रहेको सामानलाई बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलाले थोरै भएपछि महिला उद्यमीलाई राहत मिल्ने हामीले अपेक्षा गरेका छौं ।
नयाँ महिला उद्यमीको अवस्था कस्तो ?
पुस्तान्तरणमा चाहिँ समस्या छ, आजभोलिका नयाँ पुस्ता स्वदेशमै व्यवसाय गर्नेभन्दा बाहिरै जाने प्रबृत्ति देखिएको छ । उनीहरुले यसमा इन्ट्रेष्ट नै नदिने अवस्था छ, त्यसैले पछि गएर यो हस्तकला नै लोप हुने हो कि भन्ने चिन्ता पनि लाग्छ । अहिले हामीले सामान निर्यात गर्नुपर्नेमा मानिस पो निर्यात गरिरहेका छौं कि जस्तो लाग्छ । मेरै छोरी पनि बाहिरै छन् । त्यसैले आफ्ना वच्चाहरुलाई स्वदेशमै रोक्नेतर्पm लाग्नुपर्ने आवश्यकता पनि देखिएको छ । स्वदेशमै धेरै अवसर छन् भनेर देखाउन र बुझाउन सकियो भने पुस्तान्तरणको क्रम बढ्दै जानसक्छ ।
हस्तकला तालिममा महिला सहभागिता र व्यावसायमा आवद्धता कस्तो छ ?
हस्तकलामा तालिमहरुमा पनि महिला सहभागिता राम्रै देखिएको छ । तर तालिमलाई निरन्तरता दिने प्रबृत्तिमा भने कमी देखिएको छ । पहिलो चरणको तालिमले मात्रै हस्तकला उद्यमी बन्न सकिँदैन । त्यसैले हस्तकलामा इन्ट्रेष्ट र हस्तकला व्यवसायलाई निरन्तरता दिन चाहने महिलामात्रै छनौट गरेर तालिम दिन सकियो भने तालिम लिने र दिनेले दुबैलाई फाइदा हुनसक्छ ।


महासंघले घोषणा गरेको हस्तकला वर्षमा के के कार्यक्रम गरिरहनु भएको छ ?
महासंघले घोषित कार्यक्रमअनुसार नै गतिविधि संचालन गर्दै आएको छ । यसवर्ष हामीले ४२ विधामा ८० वटा प्रोडक्ट समेट्न सफल भएका छौं । सोही क्रममा हामीले प्रदेश २ मा हस्तकला मेला आयोजना गरेका थियौ भने अहिले प्रदेश ३ मा मेला आयोजना हुँदैछ । मूल मेला भने आगामी वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंको भृकटीमण्डपमा हुँदैछ । त्यस्तै हस्तकला वर्षकै कार्यक्रमअन्तर्गत हस्तकला फेसन शो पनि आयोजना हुँदैछ ।
कतिपय नेपाली हस्तकलाजस्तै अन्य मुलुकले मेसिनबाटै बनाएर निर्यात गर्न थालेका छन्, यसले नेपाली हस्तकला निर्यातमा चुनौती पनि बढेको छ ।
हस्तकलाका सामान नेपालमा प्रयोगको स्थिती कस्तो छ ?
कोरोनाका कारणका हस्तकलाको विदेशी बजार खस्किएको छ । कतिपय अर्डर दिएको सामान पनि रोकिएको छ, अर्डर क्यान्सिल भएको छ । त्यसैले विदेशी बजार खस्किएको अवस्थामा स्वदेशी बजारमा यसको खपत बढाउन पनि मेला आयोजना गरिएको हो ।
सरकारले आत्मनिर्भरोन्मुख अर्थतन्त्रको कार्यान्वयन अवस्था चाहिँ कस्तो छ ?
कार्यान्वयन भएको छैन । सरकारले नीति बनाउछ तर कार्यान्वयन गर्दैछ । कमसेकम सबै सरकारी निकायले एउटामात्रै स्वदेशी उत्पादन प्रयोग गर्दा पनि स्वदेशी उत्पादनको खपत बढ्छ, उद्यमीलाई उत्साह मिल्छ तर सरकारी निकायले स्वदेशी उत्पादन प्रयोग गर्नु त कहाँ हो कहाँ आयातित चिनिया सामान राख्ने गरेको पाइएको छ । टि म्याट, पर्दालगायतका सामानमात्रै प्रयोग गरिएपनि महिला उद्यमीले धेरै राहत हुने थियो । त्यसो त मायाको चिनोका रुपमा हस्तकला सामाग्री दिने प्रचलन भने सुरु भएको छ । यो सकारात्मक सुरुवात हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्