Logo

कान्तिलोकपथको भालुखोला सडकमा दुर्घटनाको त्रास

फाइल तस्विर : ललितपुर खबर

ललितपुर खबर
२२ फागुन ०७७, चापागाँउ । राजधानीबाट तराई जाने छोटो बाटो कान्तिलोकपथको सडकखण्ड अन्र्तगत पर्ने ललितपुरको भट्टेडाँडास्थित भालुखोलामा सडकमा दुर्घटनाको त्रास बढेको छ । यस सडकखण्ड अन्र्तगत भट्टेडाँडाको छपेलीदेखि झाक्रिडाँडासम्मको करिव ७ किलोमिटर सडकमा अत्याधिक पहिरो र भीर रहेको कारण जोखमि बढेको हो । यस स्थानमा सबै ठाँउमा बार नराखेकोले सवारीसाधनहरुको चाप बढ्दा दुर्घटनाको खतरा बढेको हो ।
गत माघ १० गतेबाट वागमती प्रदेश पुर्वाधार मन्त्रालयले भिमफेदी कुलेखानी सडकखण्ड २ महिनाका लागि बन्द गरेसँगै कान्तिलोकपथमा सवारी चाप बढेको छ । कुलेखानी सडकमा ढलान भइरहेका कारण सडक बन्द गरिएको बताइएको छ ।
पछिल्ला केही महिनादेखि मुग्लिनको २ सय किलोमिटरभन्दा धेरै दुरी घुमेर काठमाडौं आउने यात्रु यो सडक भएर आउने गरेका छन् । धेरै कच्ची सडक रहेको भए पनि कान्तिलोकथबाट काठमाडौं आउन ४ घण्टा मात्रै लाग्ने यात्रुहरु बताउछन् । यो सडक जति छोटो छ उति नै जोखिम पूर्ण पनि छ ।
केही समयअघिदेखि कान्तिलोकपथ सडक आयोजनाले झाँक्रिडाँडा खण्डमा सडक बार राख्न सुरु गरे पनि भालुखोला,कार्कीबास, कालागैह्रा क्षेत्रमा सडक बार राखेको छैन । यहाँबाट गाडी खसेमा ठूलो दुर्घटना हुने स्थानीय उद्धव घिमिरेले ललितपुर खबरलाई बताए । उनले भने, ‘यस सडकमा दर्जनौं घुम्ति छन् । सबै ठाँउमा फराकिलो बाटो बनाइएको समेत छैन । तिब्र गतिमा चल्ने सुमो कुन दिन सडकमुनि पुग्छन् भन्न सकिन्न ।’
पछिल्ला केही महिनादेखि यस क्षेत्रमा रहेका वालुवा खानीमा चल्ने टिपर,हेटौडा काठमाडौं ओहोरदोहार गर्ने सुमो स्थानीय दुध र तरकारी गाडीको चापका कारण दक्षिण ललितपुरको यो सडकमा जोखिम बढेको हो ।

केही दिनअघि कार्कीबास सडकबाट देखिएको भिर र भालुखोला । तस्विर : ललितपुर खबर

यो सडकखण्डको झाँक्रिडाँडा भालुखोलामा ठूलो भीर रहेको छ । नजिकै रहेको कार्कीबासमा समेत अर्को डरलाग्दो छाँङो छ । कालोगैह्रो,टाकुर्चे क्षेत्रमा समेत दर्जनौं पहिरो देख्न सकिन्छ ।
स्थानीय नारायण तिमल्सिनाले सडक आयोजनाले सबै ठाँउमा ट्राफिक चिन्हलगायतका सडक पुर्वाधार नबनाउदै सवारीको चाप बढेकाले बताउछन् । उनी कुन दिन दुर्घटनाको समाचार सुन्नु पर्ने हो भन्ने त्रास रहेको बताउछन् । भन्छन्, ‘यस सडकखण्डमा दर्जनौं दुर्घटना भइसकेका छन् । समयमै होस नपु¥याउने हो भने दुर्घटना टर्दैन ।’
२०७२÷७३ मा सडक स्तरोन्नतिका लागि १८ करोड ५० लाख ६९ हजारमा ठेक्का पाएको अमर कन्स्ट्रक्सन, १७ करोड १ लाख ८४ हजारमा ठेक्का पाएको बिरुवा÷एसएल सुनकोसी जेभी र १४ करोड ६६ लाख ४९ हजारमा ठेक्का पाएको एसबीए निर्माण सेवाले पाँच वर्षसम्म पनि काम पुरा गरेका छैनन ।
हेटौंडा काठमाडौं जोड्ने यस छोटो वैकल्पिक लोकमार्गका २०५९ मा कोरियन सरकारको सहयोगमा डीपीआर तयार पारिएको थियोे । ललितपुर तर्फ २८ किमि मकवानपुर तर्फ ५१ किमि सडक रहेको यो मार्गमा धेरै स्थान पहाडकोबीच भाग पर्ने हुदा पहिरो जाने समस्या छ । पछिल्लो समय भैसेपाटी डुकुछाप,देविचौर घुसेल हुदै माल्टा निस्कने वागमती कोरिडोरको योजना अघि बढेसँगै ललितपुरको यो सडक खण्डको बैकल्पिक सडक हुने आकलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्