Logo

पिउनको भरमा गोटिखेलको प्रशासन कार्यालय

नागरिकताको लागि आवश्यक कागजपत्र हेर्दै कार्यालय सहायक (पिउन) तिमल्सिना । लेन्स : ललितपुर खबर

४ चैत्र ०७७, गोटिखेल ललितपुर । इलाका प्रशासन कार्यालय गोटिखेल केही दिनदेखि कार्यालय सहयोगीको (पिउन)को भरमा संचालनमा आइरहेको भेटिएको छ ।
कार्यालयका कामु प्रमुख विकाश खनाल एक हप्ताको विदामा रहेकाले र कम्प्युटर अपरेटर प्रभातकुमार मल्लिक काजमा जिल्ला प्रशासन कार्यालयमा तानिएपछि गोटिखेलको प्रशासन कार्यालय पिउनको भरमा चलाउन गर्नु पर्ने बाध्यता श्रृजना भएको हो ।
गतसोमबार गोटिखेल कायालयमा कार्यलय सहयोगी नारायणप्रसाद तिमल्सिना एक्लै भेटिए । सेवाग्राही आउदा नागरितामा हस्ताक्षरबाहेक सबै आफैले गर्ने उनले बताए । भने, ‘दर्ता चलानी र कम्प्युटर टाइप पनि म नै गर्न सम्छु ।’
केही समयअघि कम्प्युटर अपरेटरको रुपमा गोटिखेल पुगेका प्रभातकुमार मल्लिक जिल्ला प्रशासन कार्यालय ललितपुरमा काजमा सरुवा भएका छन् । मल्लिक काजमा सरुवा भएपछि इलाका प्रशासन कार्यालयको कम्प्युटर अपरेटरको काम समेत तिमल्सिनाले नै गर्नुपर्ने अवस्था छ ।

कार्यालयको बोर्ड ।

केही समयअघि कार्यालय प्रमुख रामचन्द्र खतिवडा थिए । उनी उमेर हदका कारण अवकाश लिएपछि शाखा अधिकृतमा ५ वर्षदेखि कार्यरत विकाश खनाललाई कामु दिइएको हो । केही समयअघि यस कार्यालयमा २ जना शाखा अधिकृतको दरवबन्दी थियो । अर्का शाखा अधिकृत सरुवा भएपछि उनको ठाँउमा कोही पनि आएनन् । साथै नयाँ कार्यालय प्रमुखको रुपमा कोही पनि नभएपछि यस कार्यालयमा ३ जनाको कर्मचारीमा सिमित भएको हो ।
कार्यालयमा कामको चाप भने नरहेको कार्यालय सहायक तिमल्सिनाले बताए । गुल्मी घर भएका कामु खनाल एक हप्ताका लागि घर गएका थिए ।
सुदुर दक्षिण ललितपुरको ठूला दुर्लुङ्गबाट नागरिकता बनाउन आईपुगेका सविता सिङ्गतान काम नबनेपछि निराश फर्किने तयारीमा थिए । कार्यालय सहयोगी तिमल्सिना सेवाग्राही सिङ्गतानलाई भन्दै थिए, ‘समय मिलाएर तपाईको हातैमा पर्ने व्यवस्था मिलाउला ।’
ठूलादुर्लुङ्गबाट विहान ७ बजे हिडेका सिङ्गतान परिवार विहान १ बजे गोटिखेल आइपुगेका थिए । कार्यालयमा प्रमुख नहुँदा गाउपालिकाका वडाध्यक्षहरुलाई टेलिफोन गरेर सिफारिस गरेकाहरुलाई नपठाउन अनुरोध गर्ने गरेको तिमल्सिनाले बताए । उनले भने,‘सकेसम्म सेवाग्राहीलाई दुःख नहोस भन्ने हामी चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्