Logo

दक्षिण ललितपुरको खेतीमा किराको प्रकोप

गोटिखेलका एक किसान तरकारीमा विषादी राख्दै । लेन्स : ललितपुर खबर

ललितपुर खबर
७ चैत्र ०७७,गोटिखेल । दक्षिण ललितपुरमा लगाइएको खेतीपातीमा बर्षेनी विभिन्न किराको प्रकोप बढ्दै गइरहेको पाइएको छ । यस क्षेत्रका किसान वालीका लागेको किराका कारण हैरान भएको गुनासो गर्न थालेका छन् ।
पछिल्लो समय हिउदे खेतीमा किरा बढ्दै गइरहेको मानिखेलका विकाश अभियन्ता सञ्जय लामा बताउछन् । उनी भन्छन्, ‘पाँच सात बर्षअघि यहाँ किराको प्रकोप खासै थिएन । अहिले बढ्दै गइरहेको छ ।’
उनका अनुसार तरकारीमा ज्यादा लाईकिरा लागेको छ । जसरी तरकारीमा किरा बढ्दैछ उसरी नै किसानको खेती गर्न मनोवल घट्दै गइरहेको छ । लामाका अनुसार दक्षिण ललितपुरको माटो परिक्षण गर्न जरुरी छ ।

ताईकिराले विगारेपछि सुकेको गहुँ वाली ।

गोटिखेलका इश्वर तिमल्सिना पनि पछिल्लो समय किराको प्रकोप बढेको स्वीकार गर्छन् । भन्छन्,‘आजकल त गहँु खेतीमा समेत किरा लाग्न थालिसक्यो । यस्तो हामीले कहिले पनि देखेका थिएनौं ।’ उनका अनुसार काउली बन्दामा पनि उत्तिकै किरा लाग्छ । गर्मीमा तरकारी बेच्नै कठिन हुन थालेको छ ।
मानिखेलका बुद्धमान भोम्जन पछिल्लो बषहरुमा तरकारी खेतीमा जोखिम बढ्दै गएको बताउछन् । भन्छन्, ‘यहाँ तरकारीमा डढुवा लाग्ने क्रम समेत बढेको छ ।’
भोम्जनका अनुसार पछिल्ला बर्षहरुका यस क्षेत्रमा किराको प्रकोप बढे पनि विषदीको प्रयोग भने घट्दै गएको छ । विषादीको विकल्पमा आजकल तरकारीमा सावुन र सरफ राख्ने गरेको उनी बताउछन् । भन्छन्,‘आजकल यहाँ जैविक विषादी प्रयोग बढेको छ । गहुत र तितेपातीजस्ता जैविक विषादी प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुने देखेर किसान यतातर्फ आर्कषित छन् ।’
यस क्षेत्रमा काउली,बन्दा,काक्रो,सागपातलगायत तरकारी प्रसस्त मात्रामा उत्पादन भइरहेको छ ।
यस क्षेत्रमा किराको प्रकोपले किसान हैरान भएपनि तरकारी अर्गानिक बनाउने अभियान चलेको वडाध्यक्ष सञ्चमान स्याङ्गतानले बताए । उनले भने, तरकारीमा विषादी राख्दा एक दुई वर्ष काम गर्छ, त्यसपछि गर्दैन ।’ त्यसैले पनि किरा मार्न किसानले जैविक विषादी प्रयोग बढाउदै लगेका छन् ।
मानिखेल,बुखेल,गोटिखेल र शंखुलगायतका क्षेत्र दक्षिण ललितपुरको तरकारी खेतीका लागि उर्भर मानिन्छ । गएको बर्षदेखि दक्षिण ललितपुरका मकै वालीमा अमेरिकी फौजी किराको प्रकोप बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्