Logo

काठमाडौंबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ


१३ चैत ०७७,काठमाडौं । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा बुधबार राति पक्राउ गरिएको जानकारी दिएका छन् ।
पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूबाट प्रहरीले एक हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको छ । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्