Logo

बसन्तपुरमा मनाइयो विश्व नेवाः दिवस

शनिबार बसन्तपुरमा नेवार दिवसमा अवसरमा आयोजित चौथो नेवार दिवसमा । तस्बिर ः रोशन सापकोटा\रासस

१५ चैत ०७७, काठमाडौं । वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरको आयोजनामा आज सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै वसन्तपुर डबलीमा चौथौं विश्व नेवाः दिवस मनाएको छ ।
विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विशिष्ट व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
भाषा र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका उद्योगपति लक्ष्मीदास मानन्धर, समाजसेवी मोतिलाल शिल्पकार र जनगायक भृगुराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनुहुने प्रा. प्रेमशान्ति तुलाधर सम्मानित हुनुभयो भने साहित्य क्षेत्रबाट कवि भूषणप्रसाद श्रेष्ठ, कला क्षेत्रबाट राजकुमार शाक्य र खेलकूद क्षेत्रबाट सब्बारानी महर्जन सम्मानित भए ।
पत्रकारिता क्षेत्रमा नेपाल पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान प्रदान गरिएको थियो । गायक रमेश ताम्राकारको संस्मरणमा स्थापित सम्मान गायक जुुजुकाजी रंजितलाई प्रदान गरिएको थियो । अर्गनाइजेशनको नेपाल च्याप्टरका संस्थापक नरेन्द्रभक्त हाडा र पूर्व अध्यक्ष पुष्कर माथेमालाई पनि सम्मान गरिएको थियो ।
नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा सम्मान गरियो ।
काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले सामाजिक सङ्घसंस्थालाई आ– आफ्नो समुदायको हित र उत्थानमा क्रियाशील हुन आग्रह गर्दै त्यस्ता क्रियाशील सङ्घ संस्थालाई महानगरपालिकाले सक्दो सहयोग प्रदान गर्ने वचनबद्धता प्रकट गरे ।
अर्गनाइजेशनको नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनले विविध कारण विदेशिएका नेवारहरुलाई जोड्ने यो दिवसलाई कुनै संस्था विशेषको कार्यक्रमको रुपमा नहेरिदिन आग्रह गरेका थिए ।
नेपाल च्याप्टरका कोषाध्यक्ष तथा समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना सङ्क्रमण फैलन सक्ने भयका कार्यक्रमलाई औपचारिकता सीमित पार्न वाध्य हुनुपरेको बताए ।
कार्यक्रममा हालै दिवङ्गत हुनुभएका वाम बुद्धिजीवी एवं अर्गनाइजेशनका केन्द्रीय संरक्षक माणिकलाल श्रेष्ठको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
नेवाः समुदायको गौरव विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको पछिल्लो शनिबार विश्व नेवाः दिवस मनाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्