Logo

ललितपुरको गोदावरीमा तीन साहित्यिक पुस्तक विमोचन

पुस्तकहरुको विमोचन गर्दै अतिथिहरु । लेन्स : ललितपुर खबर

२१ चैत ०७७, बज्रवाराही । ललितपुरमा गोदावरी साहित्य परिषद्द्वारा एकै दिन तीन पुस्तक विमोचन गरेकोे छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, सदस्य डा देवी नेपाल, परिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायतले आज शनिबार चापागाँउको बज्रबाराहीमा एकैसाथ ‘मदानी’, ‘उनिउँको फूल’ र ‘समयको रुमाल’ नामक पुस्तक विमोचन गरेका छन् ।
परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीद्वारा लिखित ‘मदानी गजल सङ्ग्रह’मा मानवीय जीवन र जगत्को सार बताउने ७७ गजल, परिषद्का सचिव रत्न विरही घिमिरेद्वारा रचित ‘समयको रुमाल’मा ६७ छन्द कविता रहनाका साथै कार्यसमिति सदस्य सावित्री न्यौपाने पौडेलद्वारा लिखित ‘उनिउँको फूल’ पुस्तकमा २ सय २९ मुक्तक सङ्ग्रह छन् । कार्यक्रममा उपाध्यायले साहित्यले मनोरञ्जन प्रदान गर्नुका साथै हरेक मानिसलाई मानसिक रूपमा स्वस्थ्य बनाउने भएकाले सो पुस्तक सबैलाई एकपटक पढ्न आग्रह गरे ।
किटिनी माध्यमिक विद्यालयका शिक्षक जनार्दन शर्माले विद्यार्थी वर्गले पाठ्यक्रमबाहेक अन्य पुस्तक खासै अध्ययन नगर्ने भएकाले साहित्यतर्फ कम आकर्षण देखिएको बताए । गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जनले परिषद्लाई आर्थिक रूपमा सबल बनाउँदै लैजादा साहित्यले विश्वका विभिन्न मुलुकमा समेत प्रभाव पार्न सक्ने हुँदा त्यसतर्फ ध्यान दिन जोड दिएका थिए । यसैगरी परिषद्ले आज वातावरणमैत्री गीत ‘हाम्रो धर्ती’ सार्वजनिक गर्नुका साथै गोदावरी नामक पहिलो मुखपत्रसमेत लोकार्पण गरी केही व्यक्तिलाई सम्मानसमेत गरेको थियो ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्