Logo

किन वढ्यो मासुको मूल्य ?


जगदीश उपाध्याय
अहिले ब्रोइलर कुखुराको मासुको मूल्यले आकाश छोएको छ । एक दुई महिनाको छोटो अवधिमै ब्रोइलर कुखुराको मासुको मूल्य झण्डै दोव्वरले वढेको छ । प्रतिकिलो दुई सय ५० रुपैयाँंमा पाउने मासुको मूल्य वढेर अहिले चार सय ५० प्रतिकिलोको हाराहारीमा पुगेको छ । र यो वढ्ने क्रम अझै जारी पनि छ ।
खुल्ला बजार अर्थतन्त्रमा सवैलाई ज्ञात छ मूल्य वढ्नु र घट्नु माग र आपूर्तिसँंग प्रत्यक्ष सम्वन्ध राख्दछ । माग अनुसारको आपूर्ति हुन नसकेपछि मूल्य स्वतः वढ्छ भने माग भन्दा वढी आपूर्ति हुन थालेपछि मूल्य घट्छ । यो सवैलाई सर्वविदितै भएको विषय नै हो ।
प्रत्येक मानिसको जनजीवनर्सँग प्रत्यक्ष सम्वन्ध राख्ने मासु जस्तो अति आवश्यक खाद्य पदार्थमा यति अचाक्ली मूल्य बृद्धि हुँंदा पनि कसैको ध्यान अझैसम्म तानिएको छैन । न केन्द्र सरकार, न प्रदेश सरकार, न त स्थानीय सरकारको नै ।
व्यवसायीले अहिलेसम्ममा मासुको मूल्य बारम्वार वढाएका छन् । बढाउने क्रम जारी पनि छ । तथ्यांक नै केलाएर हेर्ने हो भने व्यवसायीले फागुन महिनामा मात्रै तीन पटक भाउ बढाए । फागुनको शुरुमा ब्रोइलरको मासु ३५५ रुपैयाँ किलो थियो । फागुनमा मात्रै होइन, चैतमा पनि मासुको मूल्य वढिसकेको छ । चैतको पहिलो हप्ता नकटदै मासुको भाउ दुई पटक त बढिसक्यो र अझै कति पटक वढ्ने हो, त्यसको कुनै टुंगो छैन अहिलेसम्म ।
किन वढयो मूल्य ?
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कोभिड–१९ का कारण लकडाउनका बेला अन्तर्राष्ट्रिय उडान रोकिएको असर अहिले कुखुराको मासुमा परेको छ । चल्ला उत्पादनका लागि विदेशबाट आयात हुने प्यारेन्ट माउ कुखुराको अभावले उत्पादनमा ५० प्रतिशतले ओरालो लागेको संघले जनाएको छ । बजारमा खपत बढ्नु तर मागअनुसार कुखुरा उत्पादन नहुनु मूल्य बढ्नुको एक प्रमुख कारण हो, जुन कुरा सर्वसाधारणलाई जानकारी नै छ । तर यसरी हप्तामा नै दुई पटक भन्दा वढी भाउ बृद्धि हुनु चाहिं आश्चार्यजनक विषय अवश्य नै हो ।
यही अनुपातमा असर रहिरहे अझै केही महिनासम्म मासुको मूल्य बढ्न सक्ने देखिएको व्यवसायीहरु सुनाउँंछन् । नियमित प्रक्रियाबाट आयात भइरहेको चल्ला उत्पादन गर्ने प्यारेन्ट माउ ९ महिनासम्म आउन नपाउँदाको असर र बर्डफ्लुका कारण किसान पनि उत्पादनमा नलागेको उनीहरु बताउँछन् । साथै निराधार रुपमा वर्डफ्लुको हल्लालगायत आघोषित लकडाउन हुने डर व्यवसायी र सर्वसाधारणमा कायमै छ । फलस्वरुप यसले मासुजन्य व्यवसायमा प्रत्यक्ष सरोकार राखेकै छ ।
महँगो चल्ला र दाना
पछिल्लो सयमा चल्लाको भाउ पनि गोटामा ३० देखि ३५ रुपैयाँले बढेको छ । प्रतिगोटा ५५ देखि ६० रुपैयाँमा कारोबार हुने चल्लाको भाउ ९० रुपैयाँभन्दा धेरै भएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ । प्यारेन्ट कुखुरा अभावमै चल्लाको उत्पादन साप्ताहिक रूपमा १५ लाख गोटाले कम भएको संघ जनाउछ । हप्तामा ४० देखि ४५ लाख चल्लाको माग भए पनि उत्पादन २५ लाख हाराहारी मात्रै रहेको संघको भनाइ छ ।
गत वर्ष यो सिजनमा ५५ लाख हाराहारी चल्ला रहे पनि अहिले धेरै कम भएको छ, अब तत्काल प्यारेन्ट आयात बढाउँदा पनि कम्तीमा ८ महिना त चल्ला उत्पादन बढाउनै लाग्छ ।
नेपालमा चल्ला उत्पादन गर्ने माउ प्यारेन्ट कुखुरा थाइल्याण्ड, फिलिपिन्स, जर्मनीलगायत मुलुकबाट आउने गरेकोमा लकडाउनका कारण प्रभावित बनेको छ ।
दाना उत्पादक व्यवसायीले ब्रोइलर तथा लेयर्स दानाको भाउ पनि बढाएका थिए । दाना बनाउन आवश्यक पर्ने मकै भटमासको भाउ बढेको भन्दै उनीहरूले प्रतिकिलो ३ रुपैयाँका दरले दानाको भाउ बढाएको छ । नयाँ मूल्य अनुसार ब्रोइलर कुखुराको दानाको भाउ प्रतिकिलो ६० रुपैयाँ र लेयर्सको ५५ रुपैयाँ हाराहारी पुगेको छ । दानाको मात्रै होइन, पछिल्ला महिनाहरुमा निरन्तर पेट्रोलको भाउ पनि वढेको बढयै नै छ । पेट्रोल, डिजेलको भाउ बढ्नु भनेको समग्र अर्थतन्त्र र योसँंग प्रत्यक्ष सम्वन्ध राख्ने पोल्ट्री व्यवसायलाई त सिधा असर पर्ने नै भयो ।
लगानी नै नउठ्ने अवस्था आयो
उपभोक्ताले चर्काे मूल्यमा मासु खरिद गर्नुपरिरहेको बेला किसानको चिन्ता भने ठीक विपरित छ । उनीहरुको सामूहिक भनाई छ, लगानी नै नउठने अवस्था आयो ।
व्यापारीले बजारमा मासुको उपभोक्ता मूल्य बढाए । र वढाउनुपर्ने बाध्यता पनि छ । चल्ला र दाना उत्पादक संघले पनि दुवैको भाउ बढाए । तर स्वयं कुखुरापालक किसान भने जिउँदो कुखुरा बिक्रीको भाउ निराशाजनक रहेको बताउँछन् । उपभोक्ताले महँगोमा मासु किनेको सुन्दा आफूहरूले सो अनुसारको मूल्य नपाएको अवस्था छ ।
मासु, चल्ला र दानाको मूल्य बढ्ने तर त्यसको भार उपभोक्ता र किसानलाई मात्रै हुने यो कस्तो प्रणाली हो ? सरकार किन यसमा चुप बसेको ? भन्दै किसानहरु आक्रोस पोखिरहेका छन् ।
किसान, किसानबाट उठाउने पहिलो डिलर, सवडिलर, कोल्डस्टोरवाला र उपभोक्ताकोवीचमा आवश्यक मात्रामा समन्वय, सदभाव छैन । सरोकारवालाहरुवीच अन्तरक्रिया, छलफल मात्रै नभएको होइन, पारदर्शिता पनि छैन । दीर्घकालिन नीति तय गरी एकआपसमा आरोप प्रत्यारोप भन्दा समन्वय कसरी गर्ने त्यसको कसैलाई वास्ता छैन । त्यसकारण यसका लागि प्रत्यक्ष समन्वय कि त नेपाल सरकारको सम्वन्धित निकायबाट हुनुपरयो अथवा पोल्ट्री व्यवसायसँंग सम्वन्धित छाता संगठनले गर्नुपर्छ । अन्यथा किचलो, तानातान, आरोप प्रत्यारोपको वातावरण सधै कायमै रहनेछ । यसले एकआपसमा अविश्वासको वातावरण मात्रै होइन, द्धन्द्धको अवस्थासमेत सृजना हुने गरेको छ ।
दाना र चल्ला उत्पादक एवं मासुको मूल्य तोक्नेहरूले कार्टेलिङ गरेर विना कुनै आधार मूल्य बढाएको र त्यसमा सरकारी संयन्त्रको पनि साथ रहेको देखिएका छन । किसानले पालेको जिउँदो कुखुराको मूल्य समेत उद्योगी तथा सिण्डिकेटधारी व्यवसायीहरूले तोक्ने गरेको भनाई छ । चल्ला, दाना र मासुको मूल्य बढेपछि देशभरका कुखुरा पालक किसानको जिउँदो कुखुरा बिक्री मूल्य ३१५ रुपैयाँ पु¥याइए पनि मूल्य बढेको तुलनामा त्यो भाउले लगानी पनि नउठ्ने बताउँंछन् किसान । ‘कुखुरा मर्ने दर निकै ठूलो छ, उपभोक्ताले महँगोमा मासु किन्दा पनि किसान व्यवसाय छाडेर हिंड्नुपर्ने अवस्थामा पुगेका छन्’ भन्दै उनीहरु व्यवसाय छोडदै छन । दाना र चल्लाको मूल्य वृद्धिबारे वाणिज्य विभागलाई बारम्वार ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको किसानहरुको भनाई छ ।
अव के गर्ने ?
मासु खान पाउनु जनताको नैसर्गिक अधिकारभित्र नै पर्दछ । त्यो पनि सकेसम्म कम दरमा पाउने चाहना हुनु आन्तरिक चाहना हो । ब्राइलरको मासु पाँंचतारे होटेलदेखि सामान्य ठेलागाडा व्यवसायीसम्मले विक्री गर्दछन् । जुन उनीहरुको प्रमुख सेल्स अन्तर्गत पर्दछ पनि । कुल मासुका ८० प्रतिशत मासु ब्रोइलर कुखुराकै हुन्छ । त्यो होटल होटल होइन, जुन होटलमा ब्रोइलर कुखुराको मासु नहोस् । त्यसकारण यो विषयमा सवैजना गम्भीर हुनैपर्छ । सवैको ध्यान तानिनै पर्छ ।
प्रत्येक नेपालीको भान्छाभान्छामा अनिवार्य उपभोग्य वस्तुभित्र पर्ने यति महत्वपूर्ण विषयकोबारेमा पनि कुनै पनि निकाय चाहे सरकार होस वा निजी छाता संगठनहरु हुन् कसैको ध्यान जान सकेको छैन । यति चरम विन्दुमा पुग्दा पनि कसैले कुनै पनि विषयमा नवोलेको, आवाज नउठाएको देख्दा अच्चम लाग्नु स्वभाविक नै हो । हामी चाहन्छौ, यसको यथाशक्य छिटो समाधान होस । समस्याको जड पता लगाई समाधान होस् । यसका लागि समाधान खोजी सुरु हुन ढिला भइसक्यो । एक वर्ष भन्दा लामो लकडाउनबाट ग्रस्त जनतालाई मार पर्ने विषयको निराकरण गर्नु जरुरी छ । अन्यथा कृषकलगायत सम्पूर्ण व्यवसाय नै पलायन नहोला भन्न सकिन्न । जसको कारण लाखौ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी गुम्नेछ भने सरकारले पाइआएको ठूलो धनराशी (कर) गुम्नेछ । यसको फाइदा भारतलगायत अन्य मुलुकहरुले प्रत्यक्ष लिनेछन् ।
अन्तमा
मुलुक फेरि लकडाउनमा पुगेको छ । यसले सवै क्षेत्रलाई जस्तै मासु र मासुजन्य पदार्थमा असर पार्ने निश्चित नै छ । तथापि हामीले मासु भने खानु नै पर्ने हुन्छ । दैनिक दाल, भात, तरकरी जस्तै काम केही नभएको अवस्थामा पनि मासु पनि खानु नै पर्ने हुन्छ । यसकारण लकडाउनले मासु र मासुजन्य पदार्थमा पार्ने असरलाई न्युनीकरण गर्न लाग्नु आजको आवश्यकता हो ।
(लेखक जे एस चिकेन सप्लायर्स चुनदेवी भक्तपुरका संस्थापक सदस्य हुन् ।)
सम्पर्क आवश्यक परेमा (९८५१२२०३४५)

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्