Logo

‘उन्युचौर सवस्टेशन ललितपुरमा विद्युतको समस्या समाधान’

गोविन्दप्रसाद बजगाँई दक्षिण ललितपुर विद्युत् सहकारी संस्थाका अध्यक्ष हुन् । नेपालको पहिलो विद्युत् सहकारीको रुपमा ०५७ सालमा स्थापित दक्षिण ललितपुर विद्युत सहकारी संस्थाले दक्षिण ललितपुरको महाँकाल, कोञ्ज्योसोम र वागमती गाँउपालिका र गोदावरीको देविचौरको विद्युत्को व्यवस्थापकीय काम गरिरहेको छ । उनै बजगाईसँग ललितपुरको ग्रामिण विद्युतीयकरणका विकाश र अवसरका सन्र्दभमा हामीले संवाद गरेका छौं । प्रस्तुत छ संवादको सम्पादित अंश :
दक्षिण ललितपुर विद्युत् सहकारीको आम्दानी कस्तो छ ?
हाम्रो बार्षिक कारोबार २ करोड विद्युत्को हाराहारी छ । पछिल्ला दिनमा विद्युत् खपत बढेको छ । हाम्रो ग्राहक पनि बढेका छन् तर विद्युत् महसुल घटेको कारण आम्दानी रकम पनि घटेको छ ।
सरकारले १० युनिटभन्दा कम विद्युत् खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत् दिने निर्णय छ । हाम्रो दक्षिण ललितपुरका ५१ प्रतिशत भन्दा धेरै उपभोक्ताहरुलाई हामीले १० युनिटभन्दा कम विद्युत खपतवापत छुट दिएका छौं । त्यसैले हाम्रो आम्दानी पनि घटेको छ । गतवर्षको महसुल दरभन्दा त्यो १० देखि १२ प्रतिशतसम्म कम छ ।
हामीले संस्था सञ्चालनका लागि अरु व्यापार गरेर अत्यावश्यक खर्च धानिरहेका छौं । हामीले ऋण प्रवाह गरेर, विजुलीका सामान बेचेर अरु क्रियाकलाप गरेर सेवा सञ्चालन गरिरहेका छौं । विद्युत् खपत बढ्ने हो भने हाम्रो आम्दानी पनि पुरानै अवस्थामा जान सक्छ ।
तत्काल शुल्क बढ्ने अवस्था छ ?
शुल्कको विषयमा अहिले महासंघ र सामाजिक संस्थाबाट दबाब दिइरहेका छौं । अहिलेको महसुल दर सामुदायिकमैत्री भएन । ग्रामिण विद्युतीकरणका लागि उपयुक्त छैन भन्ने हाम्रो माग छ । यो विषयलाई पछिल्लो समय उर्जा क्षेत्रका विज्ञहरुबाट पनि सामाजिक संस्थाहरुमाथि अन्याय भएकै हो भन्ने महसुस गर्न थाल्नु भएकोे छ । अव छिट्टै यो महसुल दर परिमार्जन हुन्छ होला भन्ने आशामा छौं ।
अहिलेको महसुल दरले कसलाई अन्याय भएको हो ?
अन्याय सेवा प्रदायक संस्थाहरुलाई भएको छ । जनतालाई पनि अन्याय छ । विद्युत् प्राधिकरणको विद्युत् सेवा सञ्चालन विनियमावलीमा ग्रामिण तथा घरेलु उद्योग र साना उद्योग भन्ने २ वटा वर्ग छुट्याइएको छ । ग्रामिण तथा घरेलु उद्योगको २० केभिए सम्मको ग्राहकको डिमाण्ड शुल्क कम हुन्थ्यो । अहिले १० केभिएभन्दा माथिको उद्योगलाई पनि साना उद्योगमा लगिएको छ ।
यसका कारण साना उद्योग चलाउनेहरुका लागि घाटा भएको छ । त्यो घाटा गाँउ घरमा ढिकी जाँतोको विकल्पमा खुलेका कुटानी पिसानी गर्ने उद्योगहरुलाई हो । उनीहरुले माना चौथाई अन्न लिएर काम गरिरहेका हुन्छन् । बढि महसुल बुझाउनु भनेको साना बर्गलाई घाटा हो ।
साना उद्योग धन्दालाई प्रवद्र्धन गरेर विद्युत् खपत बढाउने बेलामा ती बर्गको मनोबल गिराउने काम भएको छ ।
सरकारले ३० रुपैयाँ विजुलीको शुल्क बुझाउन ३ सय रुपैया खर्च गरेर बुझाउन आउने कुरा सुधार गरिदिएको भए हुन्थ्यो । त्यो ग्रामिण भूगोल भएको जनतालाई पैसा घट्नुभन्दा पनि सुविधा दिएका भए राम्रो हुन्थ्यो ।
आम्दानी बढाउन तपाईहरुले के गरिरहनु भएको छ ?
विजुलीको खपत बढाउनका लागि हामीले विद्युत्को प्रर्वद्धनका काम गरिरहेका छौं । त्यसका लागि महिला उद्यमीहरुलाई तालिम दिने काम भइरहेको छ । उद्यामीहरु बढ्ने वित्तिकै गाँउ घरमा विद्युतीय सामाग्री खरिद गर्ने र खपत गर्दा हामीलाई नै फाइदा हुने अवस्था आउछ । विदेशबाट आउने एलपि ग्यास विस्तापित गर्न इन्डक्सन चुलो प्रबद्र्धनको कार्यक्रम अगाडि बढाएका छौं । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँगको सहकार्यमा कोञ्ज्योसोम र महाकाल गाँउपालिकासँग मिलेर चुह्लो प्रबद्र्धन अगाडि बढाएका छौं ।
महाँकाल गाँउपालिकाले २ हजार ३ सय घरलाई पुग्ने गरी बजेट विनियोजन गरेको छ । भने कोञ्ज्योसोम गाँउपालिकाले १ हजार घरलाई पहिलो चरणमा अनुदान दिन लागेको छ । यसले यस क्षेत्रभित्र उर्जा खपत बढाउन र एपि ग्याँसका लागि विदेश पैसा जानबाट रोक्ने र देश र समाजलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ ।
दक्षिण ललितपुर विद्युत् सहकारीले सरकारबाट विद्युत् लिएर बेच्ने सेवामुलक कामबाहेक अरु के काम गरिरहेकोे छ ?
हामीले गाँउ गाँउमा उर्जा बचत कार्यक्रम अगाडि बढाएका छौं । यस कार्यक्रमले कुनै पनि बेला विद्युतको पैसा दिन नभ्याउदा लामो समयसम्म विजुलीको पैसा नतिर्दा पनि जरिवानाको समस्या आउदैन । साह्रो गाह्रो पर्दा हामीले त्यही पैसा ऋण लिएर काम गर्न पनि सक्छौं । उर्जाको पैबद्र्धन र उदमशीलताको विकाशको कामलाई अघि बढाएका छौं ।
उद्यमशीलता तथा शिप विकाशका लागि तालिम दिने काम गरेका छौं । बेकरी उद्योग, कुखुरापालन, बाख्रा पालन, मौरी पालन, बाँसमा घरायसी सामान र होटल व्यवस्थापनलगायतका तालिम दिएका छौं ।
सहकारीले विद्युत् उत्पादन गरेर आफैले बिक्रि गर्न सक्दैन ?
उत्पादनको क्षेत्रमा हामीले खोलाहरुको सर्वे गरेर हेरेका पनि छौं र हामीले के देख्यौ भने साना विद्युत् उत्पादनभन्दा पनि ठूला उत्पादनमा राज्यको ध्यान गइरहेको अवस्था छ । साना विद्युत उत्पादन गर्न पनि हाम्रा खोलाहरुमा लागत पनि धेरै छ । हामीले जनतालाई नै शेयर बिक्रि गरेर विद्युत उत्पादन गर्नुपर्ने भएकाले धेरै लाभ आउने अवस्था छैन । कुनै अनुदानसँग जोडेर उत्पादन गर्दा मात्र प्रतिफल आउने देखिन्छ । यसरी हामीले अनुदानसँग जोडेर उत्पादनलाई पनि जोड्ने सोचिरहेका छौं ।
साना विद्युत् आयोजनाहरुमा लगानी गरेर तपाईहरुले आफैले बेच्दा फाइदा होला नि ?
हामीले बुझेको कुरा त्यस ठाँउमा बग्ने पानीको निरन्तरताको कुरा पनि मुख्य रुपमा आउने रहेछ । पछिल्लो समयमा खोला नालाका खानेपानी तथा सिंचाईका लागि डाँडा डाँडासम्म पुगेका छन् । यसले गर्दा खोलामा पानीको श्रोत घटेको छ ।जनसंख्याको बृद्धिका कारण पानीको खपत पनि बढ्दै गइरहेको छ । जति हिजोको सम्भावना थियो त्यो घट्दै गइरहेको छ । निश्चित समयसम्म लागत फिर्ता आउने अवस्था छैन ।
तर पनि स्थानीय निकाय, विद्युत उत्पादकसँग मिलेर लगानी गर्न सकिने सम्भावनाका विषयमा हामी अध्ययन गरिरहेका छौं ।
विद्युत सेवा संचालनका क्रममा विद्युत मर्मतमा कठिनाई पनि छन् ?
ग्रामिण विद्युतीकरण एउटा कठीन काम हो । त्यसभन्दा पनि निरन्तर सेवा दिनु झन् कठीन काम हो । सबै ठाँउमा बाटो पुगेको छैन । भएको बाटो पनि सहज किसिमको छैन । विद्युत् पु¥याउनभन्दा पनि दैनिक संचालन गर्न गाह्रो छ । गाँउमा विद्युत बालि दिएर मात्र लागतको प्रतिफल उठाउन गाह्रो छ ।
एउटा घरमा विद्युत् पु¥याउन धेरै पोल राख्नुपर्छ । विद्युतको खपत औषत १०÷१५ युनिट हुन्छ । एउटै घरमा मिटर जाँच्न जान पनि कतिपय ठाँउमा जान आधा घण्टा लाग्छ ।
यति हुँदा हुँदै पनि हामी विद्युतको पहँुच सबै घरमा पुग्नुपर्छ भनेर लागेका छौं । ललितपुरको सबैभन्दा विकट गिम्दीको साहुमारामा पनि राष्ट्रिय प्रशारण लाइनकै विद्युत पु¥याउन हामी अगाडि बढेको छौं ।
विद्युत् प्राधिकरणले मर्मतका लागि सहकारीलाई पैसा दिन्छ कि ?
हामीलाई मर्मतका लागि बजेटको व्यवस्था छैन । उपभोक्ताहरुबाट उठाएको शुल्कबाट हामीले मर्मंत खर्च जुटाएका छौं ।
विद्युत मर्मतको काम कसरी भइरहेको छ ?
हामीसँग मर्मतका लागि गाँउ गाँउमा जान सवारी साधन छैन । मर्मतका कर्मचारीहरुको मोटरसाइकलमा हामीले निश्चित तेल हालिदिएर मर्मत गर्ने गरेका छौं । कहिले काँही गाडी आवश्यक भए भाडामा लिएर पनि काम चलाएका छौं ।
यस कार्यालयमा कर्मचारी कर्मचारी कति छन् ?
हामीसँग २० जना कर्मचारी छन् । आवश्यक परेको बेला ज्यादारीबाट काम चलाउछौं ।
दक्षिण ललितपुरमा विद्युत् वितरण प्रणाली कस्तो छ ?
दक्षिण ललितपुरको विद्युतीकरणका लागि लगनखेल सवस्टेशनबाट विद्युत् सप्लाई गरी सेवा सञ्चालन गर्दै आएका छौं । लगनखेलदेखि दक्षिण ललितपुरको अन्तिमसम्मको दुरी ५५÷६० किलोमिटर दुरी प्रशारण लाइन संचालनमा छ । यसले गर्दा भोल्टेज कम हुने लाइन पटक पटक जाने समस्या आइरहेको छ । यसको समाधानका लागि दक्षिण ललिापुरको् प्रारम्भदेखि नै उन्युचौरमा सवस्टेशन निर्माण गर्ने पहल भइरहेको भए पनि २०७६ सालमा आएर सवस्टेशन निर्माण गर्ने स्वीकृती भई काम अगाडि बढेको छ । यो कार्यक्रम यस बर्षभित्रमा सकिने अनुमान गरिएको छ । उन्यु चौरमा सवस्टेशन निर्माण हुने दक्षिण ललितपुरका लागि महत्वपूर्ण उपलव्दी हो भने यसले ललितपुरको काँठ र काभ्रे र मकवानपुरको आसपाससमेत सहयोग पुग्नेछ ।
दक्षिण ललितपुरमा अझै कति घरमा अहिलेसम्म विद्युत् पुगेको छैन ?
दक्षिण ललितपुरको अधिकाशं घरमा विद्युत्को पहुच पुगेको छ । दक्षिण ललितपुरको अहिलेसम्म ७ हजार घरमा विद्युत पुगिसकेको छ ।
अहिले करिव ३ सय घरमा मिटर जडान गरिएको छैन । धेरैले छिमेकबाट लाइन लगेर विद्युत् बालेका छन् । अहिलेसम्म विद्युत् नै नपुगेको चाँही गिम्दीको साहुमारामा मात्रै हो । ्
सुचारु नभएका घरमा फेरि विद्युत् बाल्न कस्तो योजना छ ?
हामीले अनुदानको कार्यक्रममार्फत पनि विद्युत् विस्तार गरेका छौं । अनुदानमार्फत केही घरमा विद्युत्को मिटर जडान भइसकेको छ । भुकम्पपछि भत्केर टहराहरु निर्माण भएका छन् । यो अलि असुरक्षित छ । भुकम्पपछि बनेका नयाँ घरमा विद्युत् व्यवस्थापन गर्नु पर्नेछ ।
भुकम्प र कोरोनापछि यस सहकारीलाई आर्थिक हानी भयो ?
भुकम्पपछि हाम्रो संस्थालाई पनि घाटा भएको छ । भुकम्पपछि घरहरु भकिदा हाउस वाइरिङको सुरक्षामा जोखिम बढेको छ । भुकम्पपछि धेरै टहराहरु बने । टहरामा जस्ता प्रयोग भएको छ । जस्ताले तार काटेर जोखिम बढेको हो ।
भुकम्पअघि ठूला घर थिए । धेरै चिम बल्थे । अहिले सानो घरमा थोरै चिम बल्दा खपत घट्दा हाम्रो आम्दानीमा कमी हुने नै भयो ।
कोरोनाको माहामारीका कारण सेवा सञ्चालनमा समस्या छ भने मिटर रिडिङ र विलिङ र असुविमा समेत असर परेको छ । यति हुदा हुँदै पनि हामीले सेवालाई निरन्तरता दिइरहेका छौं ।
दक्षिण ललितपुरको बाटो भएर राजधानी जोड्ने प्रशारण लाइन बनाउन सम्भावना छ ?
काठमाडौं उपत्यका घरै घरले भरिएको छ । ठूला क्षमताका विद्युत् सवस्टेशन बनाउन जमिनको अभाव छ । जग्गाकोे उपलव्धता र मूल्यका हिसावले पनि कठिन छ । पहाडका बाटो भएर प्रशारण लाइन निर्माण गरेर काँठ क्षेत्रका छेउछाउमा सवस्टेशन बनाउनु राम्रो हुन्छ । हामीले कि नदि किनार तथा सडकबाट लैजानु विकल्प छैन । नत्र अण्डरग्राउण्ड गर्न पर्ने अवस्था छ । त्यसैले दक्षिण ललितपुरबाट प्रशारण लाइन बनाउन आवश्यक छ ।
दक्षिण ललितपुरमा विद्युत्को क्षमताका लागि के गर्नु पर्ने अवश्यक देख्नु हुन्छ ?
अहिलेको अवस्थामा उन्युचौरको सवस्टेशनले पर्याप्त हुन्छ । यसले काभ्रेको च्याम्राङबेसी, मध्य ललितपुरको लेले, गोदावरी र चापागाँउ वरपरसमेतलाई धान्न सक्छ ।
हामी कहाँ ललितपुरको माल्टामा समेत सिमेन्ट कारखानाका लागि अर्को सवस्टेशन बनाइएको छ । त्यसलाई व्यवस्थित गर्ने हो भने उत्तरी मकवानपुरलगायतका क्षेत्रमा विद्युत समस्या समाधान हुन्छ । यसलाई खानीखोला जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि प्रयोग गरिएको छ । उन्युचौर सव स्टेशन नबन्दासम्म माल्टाको चलाउने हो भने हाम्रो तत्कालको समस्या समाधान हुन्छ । हामीले यो विषयमा प्राधिरणलाई सुझाव दिइरहेका छौं । यस सम्बन्धमा उहाँहरुबाट सकारात्मक प्रतिकृया आएको छ ।
माल्टाको सवस्टेशनबाट देविचौरतर्फ र माल्टाबाट छपेली हुँदै शंखु र प्युटार जानेतर्फ फिडर निकाल्न सक्ने र विद्युत् वितरण गर्ने हो भने अहिले लगनखेलको विद्युत्को लोड कम हुन्छ । र समग्र ललितपुरको विद्युत् प्रणालीमा सुधार आउछ ।
माल्टा सव स्टेशन चलाउदा के अरु फाइदा होला ?
दक्षिण ललितपुर जाने सबै भन्दा लामो फिडर चापागाँउ फिडर हो । यही फिडर एउटा नल्लु हुँदै गोटिखेल जान्छ भने अर्को तीनपाने हुँदै भट्टेडाँडातर्फ जान्छ । यस फिडरमा धेरै लोड छ । त्यसैले बेला बेलामा बत्ती जाने समस्या भइरहन्छ । चापागाँउमा नै यो फिडरमा भोल्टेजको समस्या छ ।
यसलाई माल्टा फिडरबाट विद्युत् दक्षिण ललितपुरको क्षेत्रमा विद्युत वितरण गर्दा समस्या समाधान हुन्छ । अकोतर्र्फ सैबु फिडरमा पनि माल्टाबाट जोडेर मध्य तथा दक्षिण ललितपुरमा चालु गर्न सकिन्छ । यसबाट बेलाबेलामा बत्ती जाने समस्या समाधान हुन्छ । अहिले नै चापागाँउमा लोड बढी भएर बत्ती जाने समस्या छ । यो समस्या समाधान गर्न तत्काल माल्टा सवस्टेशन चलाउन अति नै जरुरी छ ।
ललितपुरमा बेला बेलामा बत्ती जाने अघोषित लोडसेडिङको समस्या छ । यो समस्या समाधान गर्न के गर्नुपर्ला ?
ललितपुरका एउटा मात्र सवस्टेशन छ । यो पनि लगनखेलमा छ । यस सवस्टेशनबाट चापागाँउ र छम्पी हँुदै दक्षिण ललितपुरमा विद्युत वितरण हुन्छ । धेरै जसो चापागाँउ लेलेमै विद्युत् विग्रेर हामो क्षेत्रमा विद्युत पुग्दैन । कहिले काही दक्षिण ललितपुरमा हावा हुरी बाढी पहिरो र चट्याङका कारण विद्युत अवरुद्ध हुन्छ । लामो दुरी र पुरानो संरचनाका कारण हामीलाई समस्या छ ।
यो घटाउने हो भने माल्टाको सव स्टेशन चलाउनुपर्छ । छिटोभन्दा छिटो उन्यु चौरको सवस्टेशन बनाएर चलाउदा लगनखेलको सवस्टेशनलाई धेरै कम लोड हुन्छ । उन्युचौरबाट लेले गोदावरीसम्म यस सवस्टेशनमार्फत विजुली पु¥याउन सकिन्छ । अहिले नै उन्युचौरबाट सिधा लाइन नल्लुसम्म तयार छ । यसलाई लेले कोड्कु,बडिखेलबाट गोदावरीसम्म लैजान जम्मा करिव १२ किलोमिटर मात्रै दुरी छ । लेले क्षेत्रको क्रसरको लाडपछि उन्युचौरले धान्ने हो भने लगनखेलको लाइनलाई ज्यादै फाइदा हुन्छ ।
ललितपुरका जनप्रतिनिधिहरुको यी समस्या समाधान गर्न के गर्नुपर्छ ?
उन्युचौर, माल्टा र हरिसिद्धको सवस्टेशन निर्माण र सञ्चालनका लागि जनप्रतिनिधिहरुको पहल आवश्यक देखेको छु । चापागाँउको शाखा कार्यालयलाई वितरण केन्द्रको रुपमा स्तारेन्नती गरि चौविसै घण्टा नो लाइट सेवाको व्यवस्था गनुपर्छ । लगनखेल चापागाँउ फिडरको डवल सर्किट ११ केभि लाइन लेलेसम्म बनाउनु पहल गर्नुपर्छ । ललितपुरका शहरी क्षेत्रमा पुराना पोल तथा तार छन् । यो संरचना सुधारेर नयाँ राख्नुपर्छ । यी संरचना जीर्ण छन् । हाइ भोल्टेज आउँदा चुडिने गरेका छन् ।
सामुदायिक संस्थाहरुको विनियमावली सामुदायिकमैत्री छैनन् । जनप्रतिनिधिहरुले यसको संशोधन गरेर सामुदायिकमैत्री विनियमावली बनाउन आवश्यक छ ।
स्थानिय निकायले खानेपानी,बाटो र स्कूलको भवनहरुको मर्मतलाई बजेट व्यवस्था गरेजस्तै विद्युत्को मर्मत सम्भारका लागि पनि बजेट व्यवस्था गर्नुपर्छ ।
विद्युत्को रोयल्टीको रकम राज्य कोषमा पुगेर गाँउपालिकामा आउने गर्छ । यस रोयल्टी रकमले स्थानीय निकायले विद्युत् प्रबद्र्धनका लागि खर्च गर्ने व्यवस्था गर्नु जरुरी छ । यस्ता रकमहरु ग्याँसको आयात कम गर्न जनतालाई इन्डक्सन चुलो किन्न अनुदान दिनका लागि व्यवस्था सकिन्छ । यसबाट विदेशबाट ग्यास आयात घट्छ । हाम्रो देशको उत्पादित विद्युत् खपत बढ्छ भने पैसा विदेश जान कम हुन्छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्