Logo

प्रहरीद्वारा मास्क नलगाउने २३ हजारलाई कारवाही


२० वैशाख ०७८, काठमाडौं । प्रहरीले कोरोना संक्रमणको त्रास रहेको अवस्थामा मास्क नलगाई हिँडडुल गरेको अवस्थामा फेला पारेर सोमबार १३ हजार ६ सय २१ जनालाई होल्डिङ जोनमा राखी कारवाही गरेको छ । उनीहरुलाई होल्डिङ जोनमा राखेर छोड्ने क्रममा सम्झाई बुझाई छाडिएको बताएको छ । उल्लंघन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको समेत प्रहरीको भनाई छ ।
साथै कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरेको समेत जानकारी दिएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्नेनारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार सोही क्रममा देशभर संचालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना सहभागी भएका छन् ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोरोनाको जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्