Logo

जीवन र प्रकृतिबीचको सम्बन्ध सबैले बुझौँ

सुदिप ढकाल
यस वर्षको विश्व वातावरण दिवस पनि आइपुगेको छ । जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भने ‘पर्यावरणीय पुर्नस्थापना’ भन्ने छ ।
आलेख शुरु गर्नु अगावै यो वर्षको विषमताको चर्चा गर्न चाहन्छु, दैनिक १५० भन्दा बढी मानिसहरू कोभिड–१९ संक्रमणका कारणले नेपालीजनको मृत्युवरण भइरहेको छ । कहिले लकडाउन त कहिले निषेधाज्ञाबीच सास फेर्नु परेको अवस्था छ । यो दुर्दशा अर्को वर्ष चाहिँ नहोस् । सामान्य समयको अपेक्षासहित सकल पर्यावरणका नाममा समर्पण छ यी मेरा शव्दहरू ।
माटोबाट आएको मानिसको अस्तित्व माटोमै बिलीन हुन्छ । हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धका आधारमा मानिसको तुलना हुन थाले पनि मानिसको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।
चाहे महलमा बसौँ या झुपडीमा । अमेरिकामा बसौँ या अन्टार्कटिकामा मानवले फेर्ने श्वास, टेकेको माटो र हामीलाई सिञ्चित गर्ने जलका श्रोतहरू अनि हाम्रो शीरउपरको आकाशको टुक्राहरू उनै त हुन् ।
आउनुहोस्, आज विश्व वातावरण दिवस अर्थात् जून ५ तारिखमा हामी पनि वातावरणकेन्द्रित हुँदै केही बात मारौं, हुन्न र ?
सामान्यता वातावरण अर्थात् वातको आवरण । सरल रूपमा भन्दा हामी वरिपरि भएका वायुको आवरणलाई मान्न सकिन्छ । खाने खाना, पिउने पानी, श्वास फेर्ने हावा अनि अन्य थुप्रै कुराहरू वातावरणका उपज अझ भनांै वातावरणका उपहारहरू हुन् ।
यस संसारमा सबैभन्दा मूल्यवान कुराहरू तिनै हुन्, जसलाई प्राप्त गर्न हामीले कुनै पैसा तिर्न पर्दैन । जस्तै कि पानी, हावा, आकाश अनि बर्खा ।

मानव, जीव–जन्तुदेखि रुख–विरुवा पनि वातावरणमा निर्भर छन् । बुढाबुढीको कथामा पुराना दिनमा भएका स्वच्छ वातावरण, निर्मल बग्ने खोला, गुणस्तरीय खाने चिजबिज अनि उब्जाऊका कथा सुनेर हामी हुर्किएका हौं ।
सुस्तरी मानव विकास क्रमसँगै कतिपय जीव–जन्तुदेखि बोट–विरुवा हुँदै पर्यावरणीय स्वच्छता पनि लोप हुँदै गयो । बागमतीको जस्तो हविगत, अनि नेपालका थुप्रै नदी–नालाको भयो ।
धुलो अनि धुँवामा मडारिएको शहरभित्र कोलाहल अनि कर्कश ध्वनिका बीच, कंक्रिटका ढिक्काभित्र ल्लास्टिकका फूल अनि फूलदानी लगायत कृक्रिम अनि प्रशोधित जीवन–शैलीमा भौतारिएका हामीहरू ।
तपाईं हामी सबैलाई आजको वातावरण दिवसले एउटा चेतावनी भने दिएकै हो । कत्ति जिम्मेवार छौँ, त हामी यस वातावरण संरक्षण प्रति भन्ने ?
हरियो डाँडा र जगंलहरूमा सोत्तर बस्ती बसाएपछि त्यहाँ बस्ने जनावर र चराहरू कहाँ गए होलान् ? यसरी रुख अनि जगंल फडानी गरेर बस्ती बसाउँदै गर्दा भोलिका दिनमा हामीले सहन गर्नुपर्ने वातावरणीय चुनौति र प्राकृतिक विपत्तिबारे कहिले सोच्ने ?
कलकारखाना अनि घरबाट निस्केका ढलहरू खोलानालाले बोक्नपर्ने कहिलेसम्म ? धुँवा अनि धुलोबीच हाम्रा भावी पुस्ताहरू अनि हामी आफैँ स्वस्थ्य रहन सकौंला त ? मननयोग्य छ ।
आउनुहोस्, हामी सबै प्रकृतिसँग नजिक हुन र प्रकृतिलाई माया गर्न तयार बनौँ । धुलाम्मे शहरभित्र मास्क लगाएर सुदृढ भविष्य कोर्न अप्ठेरै छ । अस्वस्थकर र मुहान नै फोहोर भएका पानी पिएर स्वस्थ रहनु दिवास्वप्न नै त हो ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यवद्धता बन्यो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगीकार गरिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदैछ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।
काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ ।
कागज र कम्प्युटर हैन वास्तविकतामै जनावर र जंगल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । घडेरी र खेत दुवै महत्वपूर्ण छन् । जीवन र प्रकृतिबीचको सम्बन्ध सबैले बुझौँ ।
हाम्रो पात्रोबाट

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्