Logo

निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सयभन्दा धेरै सवारी साधन प्रहरीको नियन्त्रणमा


२६ जेठ ०७८, काठमाडौं । देशभरका विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा गएको २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सय २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३ सय ३९ वटा गाडी र ३ हजार ८५ वटा मोटरसाइकल रहेको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने प्रहरीको भनाई छ ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ५३ जनालाई निःशुल्क मास्क वितरण प्रहरीले जनाकारी दिएको छ । प्रहरीका अनुसार यो कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ३ सय ३४ जनालाई निःशुल्क मास्क वितरण गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८ सय ४८ जनालाई कोरोना सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८६ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । यस क्रममा ५ हजार ३ सय ७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ७६ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ४ जनालाई सचेत गराइएको छ ।
प्रहरीले निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको बताएको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्