Logo

कास्की र पाल्पामा बाढी, २ जनाको मृत्यु

फाइल तस्विर

२ असार ०७८, काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिप र कास्कीको माछापुच्छ्े्र बाढीका कारण २ जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गरे । शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ । घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।
कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु
अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ«े गाउँपालिका १ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।
प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज बुधबार गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालयले पनि हिजो साँझ सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जनन सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ । विपद्जन्य घटनाको उच्च जोखिम भएमा वा कुनै अप्रिय घटना घटेमा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्