Logo

एउटी नर्सको डायरी, ‘हामी जित्नेछौं’

वसन्ती थापा
कोरोना माहामारीको विषम परिस्थितीमा फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितहरुको सेवा गर्ने सबै स्वाथ्यकर्मीहरुलाई मेरो सलाम छ । संसारलाई नै त्रसित बनाइरहेको यो भाइरसबाट कोही पनि अछुलो छैन । हामी स्वाथ्यकर्मी यो कारोना विरुद्धको लडाईमा होमिएका छौं र दिनरात कोरोनालाई परास्त गर्न जुधिरहेका छौं ।
पछिल्लो समय दक्षिण ललितपुरमा पनि कोरोना संक्रमणको अवस्था दिननानुदिन बढ्दो छ । सुरु सुरुमा मास्क, पञ्जा समेत पर्याप्त थिएन  । त्यो कठीन अवस्थामा हामीले काम गर्नु पर्ने अवस्था थियो । विस्तारै त्यो अवस्था बदलियो । पछि विभिन्न संघ संस्थाहरुले पनि स्वास्थ्य समाग्री सहयोग गर्न थाले । अहिले हाम्रै संस्थामा  कोरोना परिक्षण हुन थालेको छ । पछिल्लो समयमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । कहिलेकाही  याहाँ५० प्रतिशत भन्दा बढी संक्रमित फेला पर्छन् ।

हुन त हाम्रा लागि अस्पतालका आईसियु,अपरेसन थियटर र एम्बुलेन्स नयाँ कुरा त होइन तर आजकल एम्बुलेन्सको आवाज सुन्दा मन चसक्क हुन थालेको छ ।
याहाँ विरामी कहिले ज्वरो आएर, सिकिस्त विरामी भएर अनि स्वास फेर्न गाह्रो भएर आइपुग्छन् । कतिपय सिकिस्त हुन्छन् । हामी विरामीलाई औषधि मुलो गर्छौं । सेवा गर्छाै ।
दक्षिण ललितपुरको यो दुर्गम गाँउमा उचित उपचार र औषधि नभएको कारणले बेला बेलामा हाम्रा हातहरु सिथिल र लाचार हुन पुग्छन् । हामी अस्पताल आएको हरेक विरामीलाई सकेसम्म यहीबाट निको बनाएर घर पठाउन पाइयोस् भन्ने चाहन्छौं । तर विरामीलाई उपचार गर्दा गर्दै आसियु,भेन्टिलेटरमा राख्नु पर्ने अवस्थामा आउँछ । अनि विरामीलाई रिफर गरेर शहरका सुविधासम्पन्न अस्पताल पठाउन बाध्य हुन्छौं ।
ती विरामीहरु एम्बुलेन्स चढाएर पठाउदा मन बेचैन हुन्छ । कतै विरामीलाई केही त हुँदैन ? बेड नपाउने त हैन ? यस्ता प्रश्नहरुले एउटी नर्सलाई छट्पटी हुँदो रहेछ । धेरै विरामीहरु अस्पताल चाहाँदा चार्हदै मृत्युको मुखमा पुगेका समाचारले मनमा सधै चिसो पस्छ ।

जव उनीहरु निको भएर फर्कन्छन् । अनि औधि खुशी लाग्छ । आफैले निको बनाएर घर पठाएकोमा गर्व लाग्छ । तर कहिले काँही उपचार गर्दा गर्दै असफल हुँदा ज्यादै दुःख लाग्छ ।

तर पनि  मनमा एक किसिमको डर भैरहन्छ । कतै मबाट नै विरामी, आमा बुवा, घरका अन्य सदस्यलाई कोरोना सर्छ कि भन्ने डर लाग्छ । सावधानी अपनाउदा अपनाउदा पनि कतै आफ्नै हातले कोरोना अरुलाई दिने हो कि भन्ने लागिरहन्छ । कोरोना माहामारीमको जोखिम मोलेर काम गरिरहँदा आमाबुबालाई चिन्ता लाग्नु स्वभाविकै हो । घरबाट अस्पतालमा डिउटी गर्न जाँदा आमाले राम्रोसँग जोगिएर काम गर्नु भन्नुहुन्छ । म भन्छु,‘चिन्ता लिनपर्दैन, म सुरक्षित छु ।’ तर हामी अहिले सुरक्षित भएर काम गरिहेका छौं भनेर सोच्न सकिने अवस्था पनि छैन । मेरो परिवार जोखिम पर्छ कि भनेर कहिलेकाँही घर पनि जाउ कि नजाउ भन्ने दोधारमा पर्छु ।
कुनै समय स्वास फेर्न गाह्रो भएर आउने विरामीको संख्या अस्पतालमा धेरै थियो । अस्पतालले विरामीलाई रिफर गर्दा हामीसँग पैसा छैन लैजान सक्दैनौ भन्ने अवस्था पनि आयो । हामी स्वास्थ्यकर्मी र अरु सहयोगी हातहरुबाट पैसा संकलन गरेर विरामी पठाएका थियौं ।
कोरोना संक्रमणको त्रास अझै हटिसकेको छैन । हामीले नियमित मास्क लगाउने,सावुन पानीले हात धुने,सेनिटाइजरको प्रयोग गर्ने, निश्चित दुरी कायम गरेर भेटघाट गर्ने र भीड भाडभाडमा नजाने व्यावहारलाई कडाईका साथ पालना गर्न जरुरी छ । निश्चित उमेर समूहका व्यक्तिहरुले कोरोनाका खोप लगाएर आफूलाई सु्रक्षित गर्ने भुल्नु हुदैन ।
आशा छ, यो कठिन समय अव वितेर जानेछ । कोरोना विरुद्धको यो लडाईमा हामी जसरी पनि जित्नेछौं । कोरोना संक्रमित विरामीलाई हामी निको बनाउन निरन्तर खटिरहनेछौं । यो कोरोना विरुद्धको लडाईमा मेरो निरन्तर साथ रहनेछ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्