Logo

मुगु बस दुर्घटना : २० को मृत्यु भएको प्रारम्भिक विवरण

फाइल तस्विर

२६ असोज ०७८,कर्णाली । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस आज मंगलबार दिउँसो एक बजेतिर दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर ऐरले यो घटनामा २० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको बताएका छन् । मृतकको संख्या बढी हुन सक्ने उनले बताए ।
घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्