Logo

एमालेले भन्छ,‘सर्वदलीय बैठकबारे कुनै जानकारी छैन’

काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर

८ माघ ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे कुनै जानकारी प्राप्त नभएको बताएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका थिए ।
प्रधानमन्त्री देउवाको सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाएको बताएको थियो ।
तर, एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ’प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं’ उल्लेख छ । यो सूचना एमालेको आधिकारिक फेसबुक पेजमा राखिएको छ ।
एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेको बताएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्