Logo

आमा समूहपछि अव बुवा र हजुरबुवा समूह गठन

फाइल तस्विर

१३ फागुन ०७८, टीकापुर । आमा समूह गठन गरिएको त सुनिएकै हो । अव बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ । नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो । यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बुवाहरू पनि स्वास्थ्यबारे सचेत होऊन् भनी समूह बनाउन थालेको बताएको छ ।
पहिलो दिन वडा नं ४ मौरनियामा बुवा र हजुरबुवा समूह गठन भएको छ । दुई वर्षमुनिका बच्चालाई नियमित वृद्धि अनुगमन तथा गाउँघर क्लिनिक र खोप क्लिनिकमा लैजान प्रोत्साहनका साथै पोषण वृद्धिका लागि लैङ्गिक असमानता अन्त्य गर्न बुवा र हजुरबुवा समूह गठन भएको समूहका अध्यक्ष तीर्थराम चौधरीले बताएका छन् । चौधरीको अध्यक्षतामा गठन भएको समूहमा सचिव सुन्दर चौधरी रहेका छन् ।
सदस्यमा गङ्गाराम चौधरी, गोविन्दा चौधरी, मनोज चौधरी, प्रदेशी चौधरी, रेशम चौधरी, लालप्रसाद चौधरी, भागीराम चौधरी, कलेङ्गु चौधरी र प्रेमलाल चौधरी रहेका छन् । समूहको सदस्यसचिवमा भिखुलाल चौधरीलगायतका हजार दिनका आमा र दुई वर्षमुनिका बच्चा रहेका घरका पुरुष सहभागी छन् । समूहले आफ्ना घरका बालबालिकाको स्वास्थ्यमा ध्यान दिनुका साथै समुदायका बालबालिकाको पोषण, वृद्धि अनुगमन र स्वास्थ्यमा ध्यान दिने नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवाली छन् ।
“स्वास्थ्यका क्षेत्रमा आमा समूह गठन गरेर धेरै वर्ष काम ग¥यौँ, समाजले बनाएको गलत अभ्यासका कारण पुरुष घरायसी काममा सहभागी नहुँदा बालबच्चा र आमाको पोषण सुधार भएन”, ज्ञवालीले भने, “त्यसैले नगरपालिकाले विशेषगरी स्वास्थ्यमा हुने लैङ्गिक असमानता हटाउन समुदायका रहेका जेसी च्याम्पियन (लैङ्गिक समावेशीकर्ता)लाई बुवा समूह गठन गर्न भनेको हो, हामी अब स्वास्थ्य समस्याका कुरा पुरुषसँग छलफल गर्ने भएका छौँ ।”
पोषण सुधारका अभियानकर्मी नरबहादुर विश्वकर्मा पोषण सुधारका लागि लैङ्गिक विभेद अन्त्य नभएसम्म आमा र बच्चाको स्वास्थ्य राम्रो नहुने भएकाले यसो गर्न आवश्यक रहेको बताउछन् । टीकापुर ४ मौरनीयाका गङ्गाराम चौधरी घरको सबै काममा सघाउछन् । “म भाँडा धुने, खाना पकाउने, लुगा धुने सबै काम गर्छु, जसका कारण घर मिलेको छ”, उनले भने ।
टीकापुरकै कालिका चौधरीले पहिला बच्चा साना हुँदा श्रीमान्ले केही काम नगर्दा निकै दुःख पाएको सम्झन्छन् । काम बराबरी गर्नुपर्छ भन्ने बुझेपछि कालिकाका श्रीमान् आजभोलि भने उहाँलाई घरको सबै काममा सघाउछन् ।
टीकापुर ४ का भिखुलाल चौधरीको एउटा बच्चा दीर्घरोगी छ । श्रीमती गर्भवती हुँदा राम्रो स्याहार नपाएका कारण बच्चा रोगी भएको हो जस्तो भिखुरामलाई लाग्छ । “मलाई निकै पछुतो लाग्छ, मेरो श्रीमती गर्भवती हुँदा राम्रो खानपान र वातावरण भएको भए बच्चा स्वस्थ हुन्थ्यो होला”, उनी भन्छन्, “बच्चा स्वस्थ बनाउन नसकेपछि म बदलिएको छु, आजभोलि घरमा सबै काममा सघाउँछु ।”
त्यस्तै टीकापुर ६ का ओमलाल सुनारलाई पनि श्रीमती गर्भवती हुँदा, सुत्केरी हुँदा स्याहार गर्न नपाएकामा पछुतो लाग्छ । गर्भावस्था तथा सुत्केरी बेला स्याहार नगरेका कारण उनकी श्रीमतीको स्वास्थ्य कमजोर छ । उनलाई त्यसबेला श्रीमतीसँगै बसेर स्याहारेको भए हुन्थ्यो भन्ने लाग्छ । ओमलालले आजभोलि घरायसी काममा सघाएर श्रीमतीलाई सजिलो बनाइदिने गरेका छन् । “म भारतमा कमाउँथे, श्रीमतीलाई सहयोग र स्याहार चाहिएका बेला म घरमा भइनँ, जसले उनको स्वास्थ्यमा समस्या छ”, ओमलालले भने, “आजभोलि श्रीमतीलाई राम्रो स्याहार गर्छु, घरको सबै काम म गर्छु ।” रासस

प्रतिक्रिया दिनुहोस्