Logo

रुस–युक्रेन युद्धः रुसी मिसाइल तथा विमानको उडानमा पूर्ण प्रतिबन्ध लगाउन युक्रेनी राष्ट्रपतिको माग

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की। तस्बिर : राेयटर्स

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा देशले रुसी मिसाइल, विमान तथा हेलिकप्टरको उडानमा प्रतिबन्ध लाग्ने गरी ‘नो–फ्लाइ जोन’ नियम लागु गर्नु पर्ने माग गरेका छन् ।

रुसले युक्रेनका शहरमा गोलबारी गरिरहेको छ । त्यसलाई रोक्नका लागि पश्चिमा देशले रुसलाई लक्षित गरी नो–फ्लाइ जोनको घोषणा गर्नु पर्ने जेलेन्स्कीले माग गरेका हुन् ।

सोमबार जारी गरेको भिडियो सन्देशमा जेलेन्स्की यो नियम कसले र कसरी लागु गर्ने भन्नेबारे स्पष्ट पारेका छैनन् ।

रुसले पछिल्लो पाँच दिनमा युक्रेनमाथि ५६ वटा रकेट तथा ११३ वटा क्रुज मिसाइल प्रहार गरेको जेलेन्स्कीले बताए । रुसले गएको बिहीबारदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।

रुसले युद्ध अपराध गरेको आरोप जेलेन्स्कीले लगाएका छन् । रुसलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानु पर्ने माग उनले गरे । वार्ता भइरहँदा पनि रुसले गोलाबारी नरोकेको बताए ।

सोमबार बेलारुसमा पाँच घण्टासम्म भएको रुस–युक्रेन वार्तामा सहमति जुट्न भने सकेन । आक्रमण नभएको अवस्थामा मात्रै पारदर्शी वार्ता हुन सक्ने उनले बताए ।

रुसले लगातार आक्रमण गर्दै आएको छ र निशानामा सर्वसाधारण नागरिक परेका छन् । रुसी आक्रमणका कारण लाखौँ युक्रेनी बिस्थापित भएका छन् । डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणका कारण भएको विनाशका तस्बिर सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्