Logo

ग्याल्बो ल्होसार, देशभर सार्वजनिक बिदा


१९ फागुन ०७८, काठमाडौं ।  हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्‍न स्थानमा सोमबार ग्याल्बो ल्होसार (नयाँ वर्ष) मनाउँदै छन् । शेर्पा समुदायले यस वर्ष २१४९औं ग्याल्बो ल्होसार मनाउँदैछन् ।

ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ । शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् । शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।

सरकारले ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फागुन १६ गते सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्