काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’: प्रकाशमान सिंह
१९ फागुन ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन्।
आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ। ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ। काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षा जस्तै’ हो।’
कांग्रेस काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ३२ वटै वडामा वडा समिति र टोल समितिलाई क्रियाशील बनाउन निर्देशन दिए।
चुनावमा सबै नेताहरूले दाबी गर्न पाउने भए पनि ‘मै हुनुपर्छ’ भावना हुन नहुने उनको भनाइ छ। ‘दाबी गर्न पाइन्छ। तर, मै हुनुपर्छ भन्ने हुँदैन। विधि प्रक्रिया छ,’ उनले भने, ‘कांग्रेसमा व्यक्तिभन्दा पनि रुखलाई हेरेर प्रचारप्रसार गर्नुपर्छ।’