Logo

‘भैसेपाटीको नयाँ घर बेचेर क्यामेरा किने’

१६ चैत्र ०७८, काठमाडौं । जगदिश तिवारी नेपाली फोटोग्राफी जगतमा चिपरिचित नाम हो । प्रकृति फोटोग्राफीका व्यावसायिक फोटोग्राफर तिवारी नेपालका सुन्दर तस्विरहरु संसारलाई देखाउन सधै तल्लिन हुन्छन् । उनी मौसम खुलेको बेला हिमाल र पहाडका चुचुरातिर बरालिदै क्यामेराको भ्युफाइण्डरबाट चिहाइरहेका हुन्छन्, लेन्सको फोकल लेन्थ घुमाइरहेका हुन्छन् ।
उनी नेपालमा महँगोमा तस्विर बेच्ने फोटोग्राफरका रुपमा समेत परिचित छन् । उनका तस्विरहरु संसारका धेरै पत्रपत्रिका,किताव र पोष्टरमा प्रकाशित हुन्छन् । राजधानीको सुविधा सम्पन्न भैसेपाटीको घर बेचेर क्यामेरा किन्दै व्यावसायिक फोटोग्राफीमा होमिएका तिवारीको फोटोग्राफी जीवनका बारेमा कौतुहल मेटाउन हामीले भिडियो सम्वाद गरेका छौं । यसै भिडियो संवादको सम्पादित अंश :


म प्रकृतिप्रेमी फोटोग्राफर हुँ । मलाई प्रकृतिले तानेर फोटोग्राफर बनाइ दियो जस्तो लाग्छ । मलाई हिमाल,छहरा, झरना,ताल तलैया मन पर्छ । म कसरी प्रकृति प्रेमी भए । थाहा छैन । बच्चामा म कथा कविता लेख्थे । रेडियो नेपालमा गीतिकथा लेख्ने अनि अभियन गर्ने गर्थे । अनायसै त्यसै बेलातिर म बन जंगल हरियाली छहरा अनि झरना मन पराउथे ।
म बच्चै बेला पिसकोरबाट आएका एक जना अमेरिकनले प्लाष्टिकको क्यामेरा छोडेर गएका थिए । मैले पहिलोपल्ट क्यामेरा त्यति बेला छोएको थिए । त्यसताका नै नजानेरै म फोटोग्राफर भइसकेको थिए ।
म जव काठमाडौं आए । काठमाडौं मेरा लागि अर्को संसार थियो । जो गाँउमा गाई बाख्रा चराएर खाली खुट्टा हिड्ने युवक काठमाडौं आँउदा म डराउथे । म ठूला कुरा गर्ने औकात राख्दिन थिए ।
मैले धेरै पछि मात्रै फोटो खिचेर पैसा कमाउन थाले । उमेर बढ्दै जाँदा मेरा रहरहरु भड्केनन् । विस्तारै साँधुरिदै मेरा रहरहरु फोटोग्राफीतिर अघि बढ्यो । मैले यस्तो क्यामेरा किन्ने हो अनि यस्तो फोटो खिच्ने भन्नेतिर गयो ।
मसँग यसरी फोटोग्राफर बने भन्ने बनिबनाउ जवाफ छैन । म नयाँ सडकबाट अघि बढेको पर्यटकको पछि लाग्दै फोटो खिच्ने रहर गर्थे । न्युरोड, ठमेलमा क्यामेरा पसल अगाडि उभिएर क्यामेरा हेर्दा हेर्दै अनि डायरीमा क्यामेराका विवरणहरु लेख्दै हिडिरहदा म मा फोटो खिच्ने रहरहरु पलाएछन् ।म सँग फोटोग्राफर बन्न रहर थियो पैसा थिएन । यो काठमाडौंको नौलो संसारमा मलाई सहयोग गर्ने कोही थिएन । त्यसबेला म खाजा खाने, टिसर्ट र जुत्ताहरु किन्ने पैसा जोगाएर क्यामेरा भाडामा लिएर क्यामेरा चलाउथे । यसरी नै रहरहरु मारेर मैले फोटोग्राफी सिके ।
मैले ४० बर्षअघि क्यानन कम्पनीको एफटिविक्युएल क्यामेराबाट मैले फोटोग्राफी सिके । त्यो पुरै मेकानिकल थियो । त्यसमा अहिलेका आधुनिक क्यामेरामा जस्ता सुविधा थिएनन् । त्यती बेला मैले फोटो खिच्दा विगारिन ।
मलाई बच्चै बेलादेखि फोटोग्राफर बन्ने भूत चढेपछि साथीहरुसँग घुम्ने रहरहरु,मिठो खाने,राम्रो टिसर्ट लगाउने विर्साइ दियो । म फोटोग्राफर बन्ने हो, म फोटोग्रफर बन्ने हो लाग्थ्यो । म अन्धो थिए, त्यसबेला ।
म समय वलवान हो भन्ने ठान्छु । मैले गरेको होइन भन्ने ठान्छु । म काठमाडौं जागिर खान भनेर आएको होइन, टुडिखेलबाट समातिएर आर्मीमा लगिएको हो ।
रत्नपार्कमा बदाम खाएर बसेको बेला टुडिखेलमा नाङ्गै मानिसहरु उभिएको देखे । त्यसबेला हिड्दै गर्दा त्यही रहेका एक जना अर्मीले मलाई भूडीमा घोचे । म हक्की स्वभावको थिए । उनीसँग लामो विवाद भयो । अन्तमा उनले भने, ‘जागिर खाने ।’
साथीले चिमोटेर खाने भन्न भने । मैले हो भने । यसरी नै म आर्मीमा भर्ना भए । आर्मीमा मेरो क्यामेरा चलाउन रुचि देखेर फोटो खिच्ने काम लगाइयो । मैले फोटो खिच्न सिके ।
मलाई ट्रकिङ जाने रहर लाग्थ्यो । आर्मीमा जागिर खाँदा दुई तीन महिनाको पैसा जोगाएर ट्रकिङ जान्थे । एकान्त बस्न मन पारउथे । त्याहाँ बसेर समय विताउदा थकाई मरेको महसुस हुन्थ्यो । त्यसपछि क्यामेरा साथी बनेको हो ।
फोटोग्राफी गर्दै जाँदा मैले केही पैसा पनि कमाए । भैसेपाटीमा घर बनाएर बसेको छ महिना जति भएको थियो । मेरो त्यती नै बेला पुरानो सपना व्युतियो । नयाँ सडकमा एउटा कितावमा एक जना जापानिज फोटोग्राफरले खिचेको सुन्दर तस्विरमा रहेको किताव र त्यसमा लेखिएको क्यामेराको वितरणको याद आयो । मैरो त्यो क्यामेरा किन्ने रहर फेरि व्युतियो । मैले २३ लाख २५ हजारमा घर बेचे ।
परिवारलाई डेरामा राखेर म क्यामेरा किन्न जर्मनी गए । बाँकी ऋण तिरि दिए । १७ लाखमा क्यामेरा किनेर ल्याए । समयले साथ दियो भन्छु म । मैले ३ वर्ष भित्रमै नजिकै जग्गा किनेर फेरि घर बनाए ।
आफूलाई भाग्यमानी मान्छु । मैले त्यसताका केही फोटोको सेरिज ७ लाखमा बेचेको थिए ।
म धेरै ब्राण्डका क्यामेरा चलाउने गरेको छु । अहिले म सेट सबै मिलाएर १४ लाख रुपैया बराबरको सामान चलाउछु । मैले चलाउने क्यामेराको मोल ७ लाख जति पर्छ । राम्रो क्यामेरामा यो नै किन्नु पर्छ भन्ने छैन १ लाख पचास हजारमा अहिले राम्रो क्यामेरा पाइन्छ ।
फोटोग्राफी भन्दा राम्रो पेशा फोटोग्राफी नै हो । यो जतिको राम्रो ,रमाइलो लाग्ने र पैसै पनि कमाउनेपेशा अरु छैन ।
अरु पेसालाई अपमान गरेर भनेको होइन । एउटा डाक्टर रारा ताल गए भने उनको मन अस्पतालको क्याविनमा विरामीहरुको अवस्थामा ध्यान जान्छ । डाक्टरको मन अस्पतालमै घुम्छ । तर फोटोग्राफर प्रकृतिसँगै रमाउदै घुम्दै पैसा कमाईरहेको हुन्छ । घुमिरहेको हुन्छ । यो जतिको रमाइलो पेशा अरु छैन । पैसा पनि कमाइन्छ ।
म अहिले काठमाडौंमा फोटोग्राफी गरेर बाचिरहेको छु । मेरो परिवार फोटोग्राफीबाटै बाँचेको छ । म रहर लागेको महँगो क्यामेरा किनेर चलाउन सक्ने भएको छु । खै कति पैसा कमाउछु भनूँ ?

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्