Logo

९० प्रतिशत लक्षित वर्गलाई पूर्ण मात्रा खोप


४ वैशाख ०७९, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियान सफल भएको जनाएको छ । ०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । उनले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहलाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए ।

सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशतलाई खोपको पहिलो मात्रा लगाइसकेको बताए । त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको उनको दाबी छ । उनले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोख खोप प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्