Logo

क्रिप्टोकरेन्सी कारोबारको अभियोगमा ३ जना पक्राउ

५ वैशाख ०७९,काठमाडौं। प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा, बाफलका राहुल चचान र झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो । कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले हालसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् । हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट अनुप मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टोकरेन्सी जम्मा गरेको खुलेको छ । उनले मात्रै ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । हाल भने उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ ।

दिपेश थापाले पनि सन् २०२१ मेदेखि बाइनान्सका दुइटा अकाउन्टमार्फत् ७ वटा क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ । उनले २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् । उनको अकाउन्टमा हाल १ हजार ३९९.८० डलर बराबरको बिटक्वाइन देखिएको कोइरालाले बताए ।

यस्तै, राहुल चचानले करिब एक वर्षदेखि २० वटा क्रिप्टोकरेन्सीहरू जम्मा गरी ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेका छन् । उनको अकाउन्टमा हाल ६५१ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्