Logo

मेलम्चीको पानी काठमाडौंमा, खानेपानीमन्त्रीद्वारा वितरण शुरु


११ वैशाख ०७९, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताए। उनले काठमाडौंको नयाँ १ लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए।

उनले काठमाडौं उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई ४ सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए। आइतबारदेखि केयुकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे रिजर्भ्वायर ट्यांकीबाट पानी वितरण गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्