Logo

सिनामंगलबाट युवक अपहरण, ललितपुर चाँगाथलीका ठकुरीसहित पाँच पक्राउ

१७ वैशाख ०७९, काठमाडौं । काठमाडौं सिनामंगलबाट अपहरणको आरोपमा पाँच जना पक्राउ परेका छन् । एक व्यक्तिको अपहरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बिहीबार राति ८ बजे काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सडकबाट बा १६ च ४७७३ नम्बरको स्कार्पियो गाडीमा चाररपाँच जनाको समूहले एक व्यक्तिलाई जबरजस्ती गाडीमा हालेर लगेको भन्ने खबर प्रहरीलाई आएको थियो।

त्यसपछि मेट्रो कन्ट्रोल कक्षबाट काठमाडौंका सबै इकाइलाई खबर गरी अलर्ट बनाइएको थियो । पछि प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी गौशालाको टोलीले साढे ८ बजे नै काठमाडौं महानगर ९ पानो बानेश्वरस्थित सडकबाट नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा सुर्खेत घर भई भक्तपुर सानोठिमी बस्ने २३ वर्षीय निरज केसी, चितवन घर भई ललितपुरको चाँगाथली बस्ने २६ वर्षीय सौजन्यसिंह ठकुरी, भक्तपुर ठिमीका २४ वर्षीय आशिष कोजु, रुकुम पश्चिम घर भई सानोठिमी बस्ने २६ वर्षीय शिव सज्जन वली र सिन्धुपाल्चोकका २५ वर्षीय सन्तोष न्यौपाने छन्।

प्रहरीले अपहरण गर्न प्रयोग भएको बा १६ च ४७७३ नम्बरको गाडी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्