Logo

काठमाडौंको फोहोर प्रहरी परिचालन गरेर उठाइने

२४ वैशाख ०७९, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर शनिबारबाट ढुवानी हुने भएको छ। काममाडौं महानगरको वातावरण तथा कृषि विभागका अनुसार सुरक्षा निकायको सहयोग लिएर शनिबारबाट फोहोर ढुवानी गरिनेछ।

विभागका अनुसार फोहोर व्यवस्थापनका लागि प्रयोग भइरहेको सिसडोलका स्थानीयले सडक निर्माणलगायतका माग राखेर फोहोर ढुवानीमा अवरोध सिर्जना गरिरहेका थिए। पछिल्लोपटक वैशाख ११ गतेदेखि फोहोरको ढुवानी अवरुद्ध भएको विभागकी निमित्त प्रमुख सरिता राई बताउँछिन्।

राईका अनुसार सडक निर्माणको काम भइरहेको भएपनि स्थानीयले राजमार्गबाट फोहोर ढुवानी गर्न कुनै पनि हालतमा नदिने भनेकाले फोहोर ढुवानीमा समस्या भइरहेको छ। विभागले समस्याको जानकारी दिँदै गृह मन्त्रालयलाई पत्र पठाएर आजबाट सुरक्षा निकायको सहयोगमा फोहोर ढुवानी गरिने जनाएको छ। विभागकी निमित्त प्रमुख राई भन्छिन्, ‘अवस्था र योजनाको जानकारी गराउँदै हिजो गृह मन्त्रालयलाई पत्र पठाएका छौं।’

प्रतिक्रिया दिनुहोस्