Logo

ललितपुरमा आचारसंहिता कार्यान्वयनमा कडाइ


२५ वैशाख ०७९, ललितपुर । ललितपुरमा आचारसंहिता उल्लंघनको गुनासो आएपछि अनुगमन तीव्र बनाइएको छ। ललितपुर महानगरपालिका, नगरपालिका र पालिकाहरुमा आचारसंहिताविपरीत सार्वजनिकस्थल, व्यक्तिको घरमा पार्टीको झण्डा, फ्लेक्स, चुनाव चिह्न राखिएको गुनासो आएपछि अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जानकारी दिएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अहिले आचारसंहितालाई ललितपुरमा पूर्णरूपमा पालना गराइएको बताए। उनले आइतबार पनि आफैं विभिन्न ठाउँको अनुगमन गरिरहेको बताउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताए।

उनले भने, ‘आचारसंहिता पालनामा अटेरी गरिएका गुनासा आएका थिए, हामीले अनुगमन गर्‍यौँ, सुरुमा केही ठाउँमा भएका पार्टीका झण्डा, चुनाव, चिह्न, फ्लेक्सलाई झिकेर सम्बन्धित पार्टीलाई बुझाएर सचेत गरेका छौँ, अहिले ललितपुरमा आचारसंहिता पूर्ण पालना गराएका छौँ, कहीँ कतै आचारसंहिता विपरीत काम भएको भए तत्कालै हामीलाई जानकारी गराए तत्कालै कारबाही गर्छौं।’

उनले यही वैशाख ३० गतेको निर्वाचनका लागि जिल्लाका सबै पालिकाको मतदानस्थल तथा केन्द्रको अनुगमन गरेको, सुरक्षा व्यवस्था मजबुत बनाउन स्थानीय तह सुरक्षा संयन्त्र नै गठन गरेर सुरक्षा योजना स्वीकृत गरी गरिएको बताए।

सबै पालिकाका सबै मतदाताले सुरक्षित भएर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने, भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न सक्ने गरी सुरक्षा व्यवस्था मजबुत बनाएको उल्लेख गर्दै उनले मतगणनास्थलमा पनि सुरक्षित व्यवस्थापन गर्ने गरी सुरक्षा संयन्त्र तयार पारिएको बताए।

जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता र एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकासहित ६ वटा पालिकामा कूल १३१ मतदानस्थल र २८८ वटा मतदान केन्द्र कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्