Logo

रातो मछिन्द्रनाथको रथ आज लगनखेलमा


२६ वैशाख ०७९, ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिएकोे छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पु¥याइएको रथलाई त्यसतर्फ लैजान लागिएको हो ।
पुल्चोकबाट सुरु भएको मछिन्द्रनाथको त्रिलोक भ्रमण लगनखेलको जात्रा सकिएपछि सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । उनका अनुसार रथलाई लगनखेल पु¥याएर देवताको आमाको मन्दिर तीन पटक घुमाइने गरिन्छ । रथ लगनखेल पुगेपछि भ्याएमा आजै भूतबलि दिएर तानेर ल्याएपछि लगनखेलको जात्रा सुरु हुन्छ । बुधबार भूतबलि दिन नमिल्ने उनले बताए । लगनखेलबाट तानेर रथलाई थटीको आरोलोमा राखिन्छ । “त्यसपछि छोयलबु र भोलिपल्ट भुज्या हुन्छ”, जोशीले भने ।
भुज्या सकिएपछि नरिवल खसाल्ने जात्रा हुन्छ । त्यसको भोलिपल्ट एकल महिलाको जात्रा हुन्छ । रथलाई चोकसम्म महिलाले तानेपछि लगनखेलको जात्रा सकिन्छ । त्रिलोक यात्रा सकिएपछि साइत हेरेर रथलाई जावलाखेल लगिने गरिएको छ । जावलाखेलमा नै मछिन्द्रनाथको सात गाउँको जात्रा वा भोटो जात्रा हुन्छ । रथयात्राका क्रममा रथ पुगेका ठाउँमा त्यहाँका बासिन्दाले हर्षाेउल्लासका साथ जात्रा मनाउने गरेका छन् । गत बुधबार पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको थियो । रथारोहण भएको चौथो दिनमा रथ तान्न थालिएको हो ।
उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड १९ का कारणले जात्रा नियमित रुपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताए । कोभिड १९ सङ्क्रमणको जोखिमका कारण गत दुई वर्ष साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यस वर्ष विधिपूर्वक गर्न लागिएको हो । स्थानीयवासी हर्षित र उत्साहित भएको सुवेदीले बताए ।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छ । उनले भने, “रथ यात्राका क्रममा झगडा नहोस् भनेर हामीले दलहरुसँग समन्वय गरिरहेका छौँ ।” चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।
गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । पहिले पहिले काठमाडौँवासी र भक्तपुरवासी पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन् । फरक फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ ।
मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झन्डै वर्षभर नै लाग्ने गरेको छ । यो वर्ष झन्डै रु ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ । मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । रथ नियमित रुपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने उनले बताए । उनले भने, “बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम लाग्नसक्छ ।”
जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उनले बताए । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् ।
जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उनले बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्