Logo

भक्तपुरका पुरानै अनुहार आए बेतिथि झाँगिने त्रास

२६ वैशाख ०७९, भक्तपुर । मतदान गर्ने दिन जतिजति नजिकिँदैछ स्थानीय तहका उम्मेदवारको व्यस्तता पनि उतिनै बढ्दैछ । उम्मेदवारहरू कति व्यस्त छन् भन्ने दृश्य भक्तपुरका चार स्थानीय तहमा देख्न सकिन्छ । मतदान गर्न चार दिन मात्रै बाँकी हुँदा यहाँका उम्मेदावरहरूको रात दिन एक बनाएर चुनावी अभियानमा लागिरहेका छन् ।
काठमाडौं उपत्यकाको भक्तपुरका चार वटा नगरपालिकाका सबै वडामा मुख्य मुख्य दलका उम्मेदवारहरू मतदाताको घरमा पुगिरहेका छन्, त्यस्तै स्वतन्त्र उम्मेदवारहरूको बेग्लै अभियान छदैँछ ।
भक्तपुरमा एकातिर नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको तामझाँम छ भने नेकपा एमाले पनि अनौपचारिक रुपमा विभिन्न पार्टी र व्यक्तिहरूसँग गठबन्धन गरिरहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भक्तपुरका तीन वटा नगरमा नगरप्रमुख पद एमालेले हात पारेको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुर नगरमा आफ्नो जित सुरक्षित गरेको थियो ।
मतदाताहरू पनि उनीहरूलाई हिजो गरेका प्रतिबद्धताको मूल्यांकन गर्दै हिजोकै अनुहार मत माग्न आफ्नो घरआँगमा आउँदा प्रश्न सोध्न थालेका छन्— हिजो गरेका प्रतिबद्धता पूरा भए त ? विकास र समृद्धिको नारा कता गयो ? फेरी आफ्ना कवोल पूरा गर्ने भन्दै थप पाँच वर्ष माग्दै हाम्रा घरदैंलोमा आउन तपाईहरूलाई कुन नैतिकताले दियो ? हामीमाथि कतिसम्मको झूठको खेती गर्दै हुनुहुन्छ ?
जनताका यावत प्रश्नहरूबीच भक्तपुरको महत्वपूर्ण नगरपालिका मानिँदैं आएको सूर्यविनायक नगरपालिकामा एमालेले पुरानै नेतृत्वलाई अगाडि सार्नुको औचित्यमाथि पनि पार्टीपङ्तीबाटै प्रश्न उठिरहेको छ । पसलपसल, टोलटोल, मेलापातमा समेत उनीहरूका काम कारवाही र गतिविधिमाथि औंला ठडिइरहेको छ ।
मतदाताले यस्ता प्रश्न गर्नुको पछाडिका कारणहरु छन् । ती हुन्, विकासमा नाममा सुरू गरिएका तर अलपत्र छोडिएका सडक, ढल, बाटोघाटोको अवस्था, प्लटिङ्माग सहज हुने गरी खोलिएका बाटाहरू । त्यस्तै, कौडीको मोलमा किसानका खेतीयोग्य जमिन खरिद गर्ने, त्यहाँ ‘भूमाफिया’को चाहनाअनुसार सार्वजनिक जग्गा, राजकुलो, पानीका मुहान, प्राकृतिक भू–बनोट मासेर प्लटिङ्ग गर्ने र भूमाफियासँगको मिलोमतोमा जनप्रतिनिधि र उनीहरूकै जिल्ला नेता जग्गा कारोबारमा संलग्न हुनुलाई नजिकबाट नियालिरहेका छन् ।
त्यसो त भक्तपुरका स्थानीय तहहरूलाई स्मार्ट सिटी बनाउने, रंगशाला बनाउने प्रचार गरेर किसानका जमिन कौडीको मूल्यमा किनेर प्लटिङ्ग गर्ने र करोडौं कुम्ल्याउने काममा प्रत्यक्ष, परोक्ष रुपमा जनप्रतिनिधि संलग्न भएको यहाँ देखिदैछ । राजनीतिलाई सेवाभन्दा पनि कमाउ धन्दामा परिचालन गरेर जनप्रतिनिधिले भूमाफियाको संरक्षक बन्नु बिडम्बना नै मान्नु पर्दछ । एउटै काममा वडा, नगर, प्रदेश तथा उपत्यका विकास प्राधिकरण, सडक विभागको बजेट खर्च गरिएको छ ।
विकासको नाममा नगरपालिका आफैले बनाएको नियम, नीति पनि मिचिएको छ । सूर्यविनायक नगरपालिकाको नगरपरिषद्ले १० लाख बजेटभन्दा माथिका योजना टेण्डर निकालेर गर्नुपर्ने निर्णय गरेको छ । तर, व्यवहारमा योजनालाई टुक्राटुक्रा पारेर लाखौंका काम उपभोक्ता समितिबाट गराउने प्रवृति बढेको छ । उपभोक्ता समितिमा आफ्ना निकट, समर्थक र आसेपासेलाई नगरको काम दिने, उपभोक्ता समितिले ठेकेदारमार्फत काम गरेर ठूलो रकम कमिसन खानुलाई सामान्य मानिन्छ । त्यसो त ठेकेदारलाई उधारोका काम लगाउने, पैसा उपभोक्ता समितिले लिने तर ठेकेदारले नपाएको गुनासा पनि सुनिन्छन् ।
त्यतिमात्र होइन, गारेटो बाटोलाई चौँडा सडक बनाएर प्लटिङ्गसम्म पहुँच दिने प्रचलन पनि देखिन्छ । भैरहेका बाटाहरू मर्मतसम्भार नगर्ने तर प्लटिङ्गकसम्म पुग्नो बाटोमा मात्र केन्द्रित हुनुलाई अर्थपूर्ण रुपमा हेरिँदैछ ।
उपभोक्ता समितिको नाममा नीतिगत भष्ट्राचारले टोलटोलमा प्रश्रय पाएको देखिन्छ । युवाहरुलाई उपभोत्ता समितिमा राखेर राज्यकोषको पैसा जथाभावी उडाउने अवसर जुटाइको छ । पाँच वर्षको यस अवधिमा देखिएको सबैभन्दा खतरनाक पक्ष भनेकै समाजका तल्लोतहसम्म भष्ट्र प्रवृति मौलाउनु हो ।
नगरपालिका र वडाहरूमा आफ्ना समर्थक, पार्टी कार्यकर्ताका काम सहज किसिमले गर्ने, अन्य पार्टीका नागरिकको काममा ढिलासुस्ती गर्ने, नक्सापास, निर्माण सम्पन्न जस्ता कामलाई बिचौलियामार्फत धेरै खर्चिलो बनाउने प्रवृतिले प्रश्रय पाएको छ । नगर वा वडाको काम गर्नुपर्दा पार्टीको सदस्यता लिनुपर्ने नीति पनि एमाले नेतृत्वका नगरपालिका, वडा अध्यक्षका जनप्रतिनिधिहले अख्तियार गरेको देखिन्छ ।
कांग्रेस नेतृत्वको गठबन्धनले ‘उधारोमा मत दिनुस्, भोलि ब्याजसहितको विकास र समृद्धि दिन्छौँ’ भन्दै मत माग्दैछन् । शासक होइन, सेवक बन्छौं भन्दै प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नगरको नेतृत्वमा फेरी पुरानै अनुहार निर्वाचित भए स्थापित बेतिथि अझ झागिँदै जाने खतरा छन् । अर्कोतर्फ नयाँ अनुहार नेतृत्वमा निर्वाचित भएको अवस्थामा पनि समाजमा देखिएको भष्ट्रचारी प्रवृति, नातावाद, पार्टीवाद प्रमुख चुनौती बन्ने निश्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्