Logo

भक्तपुर सडक गाउँ फर्कनेको भीडले घण्टौँ जाम

 

मतदाता लिएर गाउँतर्फ जाँदै गरेको सवारी साधनको लर्को शहरमा पेशाव्यवसाय गरी बस्दै आएका मतदाताहरु वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को लागि मतदान गर्न मतदाताहरु लिएर गाउँतर्फ जाँदै गर्दा बुधबार अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा देखिएको सवारी साधनको लर्को । तस्वीर : पेमा लामा\रासस

२८ वेशाख ०७९, भक्तपुर । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण भक्तपुरस्थित अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि आज बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको छ ।
बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौँ जाम भएको हो । महानगरीय प्रहरी वृत्त जगातीका अनुसार आज बिहान ४ बजेदेखिनै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो । आज दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जानकारी दिएको छ ।
धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेको भन्दै कम्तीमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताइन् । मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी आज मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ । काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने दिउँसो २ बजेसम्म उत्तिकै रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्