Logo

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर


१२ जेठ ०७९, काठमाडौं । बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो ।
बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत थप उपचारका लागि काठमाडौं पठाउन लागिएको थियो । तर, राति ९ बजेतिर काठमाडौंबाट धनगढी पुगेको बुद्ध एयरको उडान नम्बर २५६ को विमान लोकसरीलाई नलिई फर्किएको हो ।
बाजुराको बुढीगंगा नगरपालिका–१० की लोकसरी ३ जेठमा घरमा काम गर्ने क्रममा आगोले जलेकी थिइन् । अछामको बयलपाटा अस्पतालमा उपचार गराइरहेकी उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउन खोजिएको थियो । त्यसका लागि उनलाई बयलपाटा अस्पतालबाट धनगढी पु¥याइएको थियो ।
उनलाई बुद्ध एयरका कर्मचारी मात्र नभएर पाइलटले समेत लैजान नमिल्ने बताएका थिए । त्यसपछि उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । यसरी गम्भीर विरामीलाई छाडेर गएकोप्रति सामाजिक सञ्जालमा बुद्ध एयरको आलोचना भइरहेको छ । चर्को आलोचना सुरू भएपछि बुद्ध एयरले प्रस्टीकरण दिएको छ ।
ह्वील चेयरमा पनि बस्न नसक्ने अवस्थामा रहेकी लोकसरीलाई काठमाडौं लैजान नसकिएको बुद्ध एयरले प्रष्ट पारेको छ । स्ट्रेचरको व्यवस्था नहुँदा उनलाई लैजान नसकिएको बुद्ध एयरले प्रस्टीकरण छ ।
‘ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको विरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अपलोड गरिएको जानकारी गराउन चाहन्छौं,’ बुद्ध एयरले आफ्नो प्रस्टीकरणमा उल्लेख गरेको छ ।
सोही उडानमार्फत एक ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको थियो । २४ वर्षीया ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको भन्दै बुद्ध एयरले भनेको छ, ‘उहाँले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टरबाट प्रमाणित फिट टु फ्लाईअनुसार नै हामीले सबै सुरक्षाका मापदण्ड पु¥याएर काठमाडौं ल्याएका थियौं ।’

प्रतिक्रिया दिनुहोस्